देशलाई विश्वास नगर्नेको संख्या बढ्दै, चार वर्षमा डेढ लाख नेपालीले नागरिकता त्यागेर गए विदेश
'सरकारको बेथितिविरुद्ध बोल्नेहरू खाडी र युरोप पुगे'

काठमाडौँ- चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेका छन् । सन् २०२० मा ५ हजार १४४ जना नेपालीले स्थायी बसोबासका लागि देश छाडेका थिए । सन् २०२१ मा एक हजार ५४१, सन् २०२२ मा ६९ हजार ३५१ र सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन् ।
अध्यागमन विभागका अनुसार चार वर्षमा १ लाख ४६ हजार ९५१ जना नेपाली स्थायी बसोबास गर्न विभिन्न मुलुक गएका छन् । स्थायी बसोबासका लागि अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र युरोपलगायतका धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन् ।
वर्षेनी स्थायी रुपमा देश छोड्नेको संख्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालीहरू किन देश छाड्न आतुर छन् भनेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । राजनीतिक अस्थिरता, राम्रो जीवनशैली तथा बस्ने वातावरण, काम गर्ने वातावरण, सहज रुपमा काम पाउने, राम्रो तलब, स्थायी बसोबासको कार्ड पाउन सहज, परिवार-आफन्त विदेशमा, विदेशमा रहेका साथी र चिनजानहरू कारण रहेकाे प्रतिवेदनमा उल्लेख छ ।
आफ्नो मुलुक छोडेर कोही किन सधैंका लागि विदेश बस्न चाहन्छन् ? यो अहिले सार्वजनिक रुपमा बहसको विषय बन्न थालेको छ । किन मानिस आफू जन्मेको थातथलो त्यागेर परदेश जान चाहन्छन् ? यहाँ बस्न नदिन के कुराले प्रेरित गरिरहेको छ ? सरकार वा यहाँको राजनीतिक प्रणाली खराब छ ?
आर्थिक, सामाजिक र राजनीतिक रुपले राम्रो नभएको संकेत
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गाेविन्द पोखरेलले नागरिकको सुखी, खुसी र शान्ति जीवन बिताउने चाहनाले पनि मानिसहरू विदेश जाने क्रम बढिरहेको बताए । विदेश जानेले नेपालमा कुनै पनि समयमा स्वास्थ्य उपचार नपाउने , गुणस्तरीय शिक्षा, सामाजिक सुरक्षा र रोजगारीको सम्भावना नदेखेकाले स्थायी रुपमा देश छाड्न थालेको उनको भनाइ छ ।
‘नेपालको अवस्था राम्रो छैन । आर्थिक, सामाजिक र राजनीतिक रुपले नेपाल राम्रो छैन भन्ने संकेत गरिरहेको छ,’ उनले भने,’ विभिन्न बाटो अपनाएर भए पनि मानिसहरूले देश छोड्ने खोजिरहेका छन् । युवा पुस्ताले नेपालमा उज्यालो आकाश देख्न छाडिसकेका छन् ।‘
युवाहरूमा अमेरिका, अष्ट्रेलिया र क्यानडा गएमा जीवन राम्रो हुन्छ र नेपाल बस्दा निश्चितता नभएको हुनसक्ने पोखरेलले बताए । राजनीतिले अवस्था र सुधार्ने पर्ने थियो तर भएका सबै संरचना र नीति बिगार्दै लगेको उनले दुःखेसो व्यक्त गरे । त्यसको प्रभाव देश छोड्नेमा प्रत्यक्ष रुपमा देखिइरहेको उनले बताए ।
राजनीतिले युवाको आकांक्षा पुरा गर्न नसकेको पोखरेलको ठहर छ । तुलनात्मक हिसाबले अन्य राष्ट्रको दाँजाेमा युवाप्रति आशा-भरोसा जोगाउन नसकेको उनले सुनाए । सामाजिक रुपमा उच्च, दक्ष र सिर्जनशील मानिसहरूलाई नेपालमा राख्न नसकिएको उनले धारणा व्यक्त गरे ।
‘प्रतिष्पर्धा गर्न सक्ने युवा तथा दक्ष जनशक्ति अर्को देशमा अवसर खोज्दै गइरहेका छन्,’ पोखरेलले अगाडि थपे,’ आफ्नो ज्ञान र क्षमतालाई प्रस्फुटन गरी आफ्नो जीवनलाई सबल बनाउन खोज्नेहरूले देश छोडेका छन् । प्रगति गर्न सक्छु भन्ने मानिसहरूले देश छोडेका छन् ।‘
दक्ष जनशक्तिले देश छोड्दा नेपालमा भएका स्रोत-साधनहरू प्रयोगमा नआउने उनले बताए । राज्य र राजनीतिक दलले गरेका गलत कामको विरोध गरिदिने मानिसहरूसमेत नहुने उनले बताए ।
‘दल र सरकारको वेथितिविरुद्ध आवाज बुलन्द गर्न सडकमा युवाहरू देखिँदैन,’ उनी भन्छन्,’ दलमा झन मनमौजीको भावना फैलिएर जान्छ । विदेश गएका मानिसहरू प्रति उनीहरूलाई सोच्न कुनै फुर्सद छैन ।‘
सरकारलाई सडकबाट खबरदारी गर्नेहरू मलेसिया र गल्फ राष्ट्र गइरहेको पोखरेलले बताए । कुसंस्कार राजनीतिबाट हुर्कन नचाहने युवाशक्तिलाई झनै राम्रो भएको उनको भनाइ छ ।
विदेशमा पलायन भएका नेपालीको संख्या बढ्दा नेपालीको डायस्पोरा संख्या बढ्ने पोखरेलले बताए । विश्व राजनीतिमा नेपालीको प्रत्यक्ष सहभागिता बढाइ राष्ट्रको लागि नीति निर्माण तथा आर्थिक क्षेत्रमा प्रगति गर्न सहज हुने उनको भनाइ छ ।
देशमा सुरक्षित महसुस गर्न सकेनन्
राज्यले आम नागरिकलाई नेपालमा बसेर समृद्ध जीवन बिताउन सकिने कुरामा विश्वास दिलाउन नसक्दा देश छोड्नेको संख्या बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की बताउँछन् ।
राज्यले नागरिकलाई सुरक्षित र वृत्ति विकासमा सहयोग पुर्याउन सकिन्छ भन्ने कुरामा आश्वस्त बनाउन नसक्दा स्थायी रुपमा देश छोड्नेको संख्या बढेको हुन सक्ने उनले बताए ।
‘क्षमतावान नागरिकहरू समृद्ध जीवन खोज्दै, उज्वल भविष्य र अवसरको खोजीमा विदेश गएका छन्,’कार्कीले भने,’ स्थायी रुपमा विदेश जानुले नेपालमा मानिसहरू सुरक्षित छैनन् र सामाजिक संरचना अप्ठ्यारो अवस्थामा रहेको बुझ्न सकिन्छ ।‘
मानिसलाई नेपालमा केही हुन्छ भनेर बसाउन सक्नु ठूलो चुनौती रहेको कार्कीले बताए । कानुनी दण्डहीनताले प्रश्रय पाएकाले मानिसमा निराशा छाएको बुझ्न सकिने उनको भनाइ ।
कानुनको नजरमा ठूला मानिसहरू जोगिने र साना मानिसहरू बन्धनमा पर्ने अवस्थाले नैराश्यता छाएको मान्न सकिने उनले बताए । कानुन राज्यमा कानुनले असुरक्षित बनाउँदै लगेको उनको भनाइ छ ।
‘सरकारी कामकाज एकदमै सुस्त छ । चिनजान नभएमा सरकारी कार्यालयमा काम हुन गाह्रो छ,’ उनी नेपालको बेथिति औल्याउँदै भन्छन्,’ स्वास्थ्य र शिक्षा राम्रो छैन । आधारभूत कुराहरू मात्र राम्रो भएमा आशा जगाउन सकिन्थ्यो ।‘
कानुनी राजको पालना गराउन सकेमा नागरिकमा आशा जगाउन सकिने उनले धारणा व्यक्त गरे । मुलुक भ्रष्टाचारले व्याप्त रहेकाले पनि नागरिकमा निराशा र मुलुकमा केही हुँदैन भन्ने धारणा विकास भएको उनले बताए । भ्रष्टाचार न्यूनीकरण गर्न सकेमा नागरिकले स्वदेशप्रति आशा जोगाउन सक्ने उनले बताए ।
राजनीतिक दल र सरकार निकम्मा बन्दै
नेकपा एमालेका नेता अरुण नेपाल नेपालीले आफ्नो भविष्यप्रति विश्वास गर्न छाडेकाले देश छाड्नेको संख्या बढेको बताउँछन् । यो देशमा केही हुन सक्ला र यहाँ के छ र ? भन्ने धारणा हरेक नेपालीले बोक्न थालेकाले स्थायी रुपमा देश छोड्नेको संख्या बढेको उनले बताए ।
आर्थिक रुपमा प्रगति गर्न नसक्नु र मुलुकमा बेरोजगारीको संख्या बढिरहेको छ,’ उनले भने,’ भविष्यप्रतिको आशावाद कमजोर हुँदै गएको छ । हाम्रो भूमि र जल तथा जमिनलाई प्रयोग गर्नुपर्छ भन्ने देशभक्तिको भावना कमजोर हुँदै गएको मान्न सकिन्छ ।‘
स्वदेशमा लगानी गर्न सक्ने र क्षमता भएका मानिसहरूले समेत देश छोडेर गएको नेपालले बताए । समाज र संस्कृतिप्रति नेपालीको लगाव घट्दा विदेश पलायन हुनेको संख्या बढेको उनको भनाइ छ ।
राजनीतिक दल र सरकारले आफ्नो जिम्मेवार नठान्दा वर्षेनी मुलुक छोड्नेको संख्या बढेको नेपालको भनाइ छ । ‘नागरिकलाई आशावादी बनाउने काम सरकारको हुन्छ तर, सरकारले आशावादी भन्दा पनि बढी निराशावादी बनाएको छ,’ उनी भन्छन,’ यसमा सबैभन्दा बढी जिम्मेवार सरकार र राजनीतिक दल हुनुपर्छ ।‘

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

प्रतिक्रिया