संविधान कार्यान्वयन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा छाएको बताउँदै संघीय संसदमा रहेका दललाई संविधान कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन बनाउन आग्रह गरेका छन् ।
माघीका अवसरमा शीतल निवासमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई सम्बोधन गर्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गरे ।
राष्ट्रपतिले भने, 'यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ । जनतालाई यो अधिकार दिइएकामा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ । संविधान व्यावहारिक रूपमा कार्यान्वयन हुन बाँकी छ । जनतामा देखिएको निराशा अरू कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न शीघ्र कानुन बनाएर जनताको निराशालाई आशामा परिणत गरौँ ।'
उनले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पारे । 'नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन् । उनीहरूको चाहनाअनुसार अगाडि बढ्ने हो । त्यसैले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाईँ हामी सबै मिलेर आजको दिनमा प्रण गरौँ,' राष्ट्रपति पौडेललाई उद्धृत गर्दै राष्ट्रपतिको निजी सचिवालयका एक अधिकारीले बताए ।
त्यस अवसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनिधित्व गरेका संसदीय दलका नेता, संसदीय समितिका सभापति र स्वतन्त्र सांसदहरूको उपस्थिति थियो ।

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

प्रतिक्रिया