बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग गर्ने तीन जना पक्राउ

फाइल फोटो

चितवन - चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग गर्ने तीन जना पक्राउ  परेका छन् । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने  २७ वर्षीय सरोज सुनार, वडा नं १ बस्ने  २६ वर्षीय दीपक बिक र वडा नं २६ बस्ने २५ वर्षीय सागर बिक रहेका छन् ।

उनीहरूले गत पुस २८ गते रुपन्देही असुरैना वडा नं ३ घर भई हाल भरतपुर महानगरपालिका वडा न १ मा व्यवसाय गरी बस्ने करन गुप्तालाई बारम्बार अपरिचित एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौती माग गरेको र यदि नदिएमा सुट गरी मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

रकम फिरौती र ज्यान मार्ने धम्की पटक पटक दिनरात दिएको भनी निवेदन प्राप्त हुनासाथ तत्काल प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमान्डमा विशेष प्रहरी टोली परिचालित गरी विभिन्न प्रविधिको प्रयोग तथा सूचना संकलन तथा शसंकित व्यक्तिको निगरानी गरी धाक धम्की दिई रकम माग गर्ने व्यक्ति तथा सो कार्यमा संलग्न मानिसहरूको पहिचान तथा खोजतलास गर्ने क्रममा उनीहरूलाई मङ्गलवार भरतपुर महानगरपालिका स्थित विभिन्न स्थानबाट माग बमोजिमको फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई चितवन जिल्ला अदालतबाट आपराधिक षडयन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।