सोमबार १८ चैत, २०८१
Monday, March 31, 2025

त्रिभुवन विश्वविद्यालयलाई परिवर्तन गर्ने सुनौलो अवसर नगुमाउ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसमा देशवासीलाई गरेको सम्बोधनमा अब विश्वविद्यालयको पदाधिकारीमा राजनीतिक भागबन्डा नगर्ने बताए  । विश्वविद्यालयमा इमानदार र मेरिटोक्रेसीलाई ध्यान दिने भन्दै उनले भनेका थिए, ‘यसको सुरुवात त्रिभुवन विश्वविद्यालयबाटै गरिनेछ ।‘

मुलुककै पुरानो र विद्यार्थी सङ्ख्याको हिसाबले ठूलो मानिने त्रिभुवन विश्वविद्यालय यतिखेर नयाँ उपकुलपति चयनको प्रक्रियामा छ । जसलाई समग्र विश्वविद्यालयको नेतृत्व तथा अभिभावक मानिन्छ ।

तिनकै छनोटमा पर्न विभिन्न व्यक्तिसहित ४३ जनाले दरखास्त दिएका छन् । दरखास्त दिनेमा बहालवाला उपकुलपति, पूर्व उपकुलपति, डिन, विभागीय प्रमुखदेखि पूर्व पदाधिकारी र प्राध्यापकसम्म छन् । राजनीतिक दल, नागरिक समाज, विद्यार्थी र सरोकारवाला निकायले यसमा विशेष चासो दिएर हेरिरहेका छन् ।

उपकुलपति नियुक्तिका लागि मापदण्ड बनाइएको छ । मापदण्डमा उपकुलपति नियुक्ति कतिको पारदर्शिता र निष्पक्षता रहन्छ त्यो भने समयले बताउँला । मापदण्ड र प्रतिस्पर्धाले दलका कोटामा आफ्ना उपकुलपति पठाउने योजना नबनोस् ।

किनभने उच्च शिक्षाले समग्र विकासका लागि मार्ग प्रशस्त गर्ने गर्छ । त्यसैले पनि यसमा दक्ष, योग्यता र अनुभवी नेतृत्वको खाँचो औँल्याइएको छ ।

त्रिविका सम्पूर्ण शैक्षिक संस्था तथा आंगिक क्याम्पस उपकुलपतिकै मातहतमा रहने गर्छ । त्रिविमा रहेर महत्वपूर्ण भूमिका र जिम्मेवारी बहन गर्नुपर्छ । विश्वविद्यालयको सबै निर्णय प्रक्रियामा उपकुलपतिको महत्वपूर्ण भूमिका हुन्छ ।

नेपालभर उच्च शिक्षाको स्वरूप कस्तो बनाउने र यसले भविष्यमा कस्तो प्रभाव पार्छ भनेर एउटा बाटो पनि देखाउँछ । उपकुलपति पदका लागि आकांक्षी धेरै छन् । सबै प्रतिष्पर्धी उपकुलपति बन्न सक्दैनन् । प्रतिष्पर्धीमध्येबाट एक जना छनौट हुन्छन् ।  

त्रिविमा उपकुलपति समयमा नियुक्ति नुहुनुमा राजनीतिक खिचातानी मानिन्छ । दलले जसरी सरकारको प्रणाली सञ्चालनमा सिन्डिकेट लागू गरेका छन् । त्यसरी नै त्रिविमा उहिलेदेखि राजनीतिक दलले ठेकेदारी प्रथा लागू गरे ।

शैक्षिक संस्थामा वा समग्र देशको शिक्षा प्रणालीलाई नेतृत्व गर्ने ठाउँमा क्षमतावान मानिस पठाउनु भन्दा दलका आसेपासे पठाउने गर्दा त्रिविको शैक्षिक व्यवस्थापन भद्रगोल हुने गरेको छ ।

त्रिविका प्राध्यापक देखि हरेक तहमा राजनीतिक भागबण्डा हुन्छ । त्यसले समग्र शिक्षा प्रणालीमा असर गर्छ । दलका कार्यकर्ता र झोलेले सिधा प्रवेश पाउँछन् । शिक्षालाई सुधार्ने भन्दा खराब दिशामा लैजाने गरेका कयौं उदाहरण छन् ।

समयमा परीक्षा नहुँदा त्रिविमा रिजल्ट प्रकाशन हुँदैन । विद्यार्थीको वृत्ति विकासमासमेत असर गरेको छ । अघिल्लो तहको कक्षामा विद्यार्थीले सहभागी हुन पाउँदैनन् । पाठ्यक्रम समय अनुसार परिमार्जन नहुँदा विद्यार्थी पुराना विषयवस्तुमा अध्ययन गर्न बाध्य छन् ।

नेपालमा उच्च शिक्षाको अवसान हुँदैछ । उच्च शिक्षा हासिल गर्न दैनिक १ हजार देखि १५ सय विद्यार्थी विदेशीने गरेका छन् । जसले गर्दा नेपालको 'ब्रेन' वर्षेनी पलायन हुँदै गइरहेको छ ।

उच्च शिक्षा अध्ययन गर्न जानेलाई रोक्न विशेष भूमिका त्रिविले खेल्नुपर्छ । विभिन्न संकायमा उच्चस्तर तथा गुणस्तरयुक्त उच्च शिक्षा दिनुपर्छ भनेर त्रिविले अगुवाइ गर्नु जरुरी छ । त्यसको अगुवाइ आगामी उपकुलपतिले सुरुवात गर्नुपर्छ ।

त्रिविको कुलपति प्रधानमन्त्री र सह-कुलपति शिक्षामन्त्री  हुन्छन् । जहाँ यी दुवै पदमा राजनीतिक गन्ध आउने गर्छ । जबसम्म यस्ता पदमा राजनीतिक नेतृत्व रहन्छन् तबसम्म नेपालको उच्च शिक्षाप्रति कसैको लगाव हुन्न । उच्च शिक्षामा आशा भन्दा निराशा बढी रहन्छ ।

सन् १९५९ मा स्थापना भएदेखि नै त्रिभुवन विश्वविद्यालय नेपालमा उच्च शिक्षाको ज्योतिको रूपमा उभिएको छ । वर्षौंको दौडान, यसले असंख्य नेपाली युवाहरूको दिमाग र भविष्यलाई आकार दिँदै विशाल संस्थाको रूपमा विस्तार भएको छ । त्रिविले यात्रा सुरु गरे पनि गन्तव्य भेटेको छैन ।

त्रिविले एकल संकाय विश्वविद्यालयबाट धेरै संकाय र विषयहरू भएको फराकिलो संस्थामा विकसित भई उल्लेखनीय वृद्धि गरेको छ । यो विस्तारले चुनौतीहरू ल्याएको छ, विशेष गरी शैक्षिक अखण्डता र स्वतन्त्रता कायम राख्‍न विशेष योगदान पुर्‍याएको छ । तर दीर्घकालीन लाभदायक हुन भने सकेको छैन ।

त्रिविमा उपकुलपतिको भूमिका सधैं महत्वपूर्ण रहँदै आएको छ । यो अवस्था आउनुमा राजनीतिक प्रभावलाई सहजै मान्न सकिन्छ । यसअघिका नियुक्तिहरू योग्यता र क्षमता भन्दा राजनीतिक भागबण्डामा आधारित थिए ।

नियुक्तिमा मेरिटोक्रेटिक हुने उद्देश्य राखिए पनि त्यो सम्भव हुन सकेको छैन । मनोनयन प्रक्रिया बारम्बार राजनीतिक संरक्षणको सिकार हुँदै विश्वविद्यालयको स्वायत्तता र शिक्षाको गुणस्तरमा ह्रास आएको छ ।

भ्रष्टाचारको आरोपदेखि लिएर राजनीतिक नियुक्तिबाट त्रिविलाई प्रताडित बनाएको छ । जसले गर्दा त्रिविलाई भ्रष्टाचारको अखडा मान्न थालिएको छ । जसको परिणाम बेला-बेलामा विद्यार्थीले प्राध्यापकमाथि हातपात गरेका उदाहरणहरू छन् ।

यी घटनाहरूले विश्वविद्यालयको प्रतिष्ठामा मात्रै आघात पुर्‍याएको छैन, हजारौं विद्यार्थीहरूलाई असर गर्दै शैक्षिक कार्यक्रम पनि बिग्रिएको छ । उपकुलपति मनोनयनमा गैर राजनीतिक सम्बन्ध घोषणाको लागि हालैको जनादेशले एउटा उद्‍घोष गरेको छ । यतिका बेथिति किन त ? प्रश्‍न ज्यूँदै छन् । हामीसँग त्रिविलाई चासो लिएर उत्तर पनि उत्तिकै छ । लामो समयदेखि त्रिविको सम्भावनालाई बाधा पुर्‍याएको राजनीतिक हस्तक्षेपको चक्र तोड्न यो पर्याप्त छ ?

त्रिभुवन विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुनौलो अवसर प्राप्त भएको छ । नेपालको उच्च शिक्षाको प्रमुख संस्थाको विरासतलाई पुन: परिभाषित गर्ने अवसर तपाईंको हातमा आइपरेको छ ।

अबको उपकुलपति योग्यता, योग्यता र दूरदृष्टिको आधारमा छनोट हुने कुरा सुनिश्चित गरेर नेपाली शिक्षामा परिवर्तनकारी युगको सुरुवात गर्ने शक्ति तपाईँमा छ । युवा, गतिशील प्रोफेसरको नेतृत्वमा नयाँ विचार, व्यावसायिक योग्यता र प्रभावकारी नेतृत्व रहन सक्छ । यस्ता नियुक्तिले त्रिविको प्रशासनिक र शैक्षिक वातावरणलाई पुर्नजिवीत गर्ने मात्र नभइ  राष्ट्रमा सशक्त सन्देश पनि दिनेछ ।

समग्र शैक्षिक क्षेत्रमा नवीन सन्देश प्रवाह हुने विश्‍वास गर्न सकिन्छ । खस्कँदो शैक्षिक अवस्था र गुणस्तरहीन शिक्षामासमेत राहत दिन सक्छ ।

त्यसैगरी, अब विदेशमा योग्यता र क्षमताले आफ्नो पहिचान बनाउन सफल भएका युवालाई एकपटक सम्झौँ है । उमेरमा ५० वर्ष कम भएका नेपाली युवाहरू विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयमा प्राध्यापन गराइरहेका छन् । उनीहरूको क्षमता, ज्ञान र व्यवस्थापकीय क्षमता पनि अब्बल रहेको छ । जहाँ उनीहरूको कारण विश्वविद्यालयमा आकर्षण बढ्दो छ ।

विदेशमा आफ्नो कार्य दक्षता हासिल गरेर बसेकालाई यस्तो सुवर्ण अवसरमा किन नबोलाउने ? पलायन भएका ब्रेनलाई नेपाल भित्र्याउने यसलाई ठूलो अवसर मान्न सकिन्छ । तिनै युवाले बनाएको योजना र कल्पनाले आगामी २० वर्षसम्म मुलुकलाई गति दिन सक्ने शिक्षा र ज्ञान आर्जन गर्न सक्ने हुन्छन् । जसले गर्दा अहिले दौडिरहेको वर्तमानलाई भविष्यमा सुरक्षित गर्न सक्छ भन्ने आधारहरू देखाउन सक्छन् ।

त्यसैले गर्दा पनि यस पटक योग्यता र क्षमतालाई उचित स्थानमा पुर्‍याउने अहम जिम्मेवारी प्रधानमन्त्रीको काँधमा आएको छ । वर्तमान र भविष्य तपाईँसँगै आएको छ । सँगसँगै दौडिनेवाला छन् । वर्तमान जित भए भविष्य आफैँमा विजयको सुरुवाती मान्ने विन्दु मानिन्छ ।

शिक्षाविद् र विद्यार्थीहरूको नयाँ पुस्तालाई प्रेरित गर्ने उपकुलपति उच्च पद हो । जसले ठूलो प्रेरणा दिन सक्छ शिक्षा क्षेत्रमा । शिक्षा बिना मानिसको जीवन अपुरो हुन्छ भने जस्तै उपकुलपति योग्यता र क्षमताको आएमा त्रिविले गति लिन्थ्यो ।

त्रिविलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न र राष्ट्रको विकासमा महत्त्वपूर्ण योगदान दिने सशक्त संस्था बनाउनु पर्छ । त्रिविमा आगामी उपकुलपति पारदर्शी, योग्यतामा आधारित र अग्रगामी निर्णय गर्न सक्ने हुनुपर्छ ।  

कुलपति तथा प्रधानमन्त्रीलाई छनोट प्रक्रियामा पारदर्शिता तथा शैक्षिक सुधार र अखण्डतालाई अग्रसर गर्ने नेताका रूपमा स्मरण गर्ने अवसर प्राप्त भएको छ ।

विद्यार्थीका भावी पुस्ताले राजनीतिक स्वार्थभन्दा शैक्षिक उत्कृष्टताको पक्षमा उभिएका नेताको नाम सम्झनेछन् । छनोट तपाईँको हो, र अब समय हो। यो निर्णय गर्न नडराउनुहोस् । योग्यता र क्षमताको कदर हुन्छ ।