महोत्तरीको बर्दिवास र गौशाला नगरपालिकाले दायर गरेको नदीजन्य पदार्थसम्बन्धी रिट खारेज

महोत्तरी- जिल्ला समन्वय समिति महोत्तरीले बनाएको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ विरुद्ध परेको रिटलाई उच्च अदालत जनकपुरले खारेजी गरेको छ ।
जिल्ला समन्वय समितिलाई विपक्षी बनाएर बर्दिवास नगरपालिका र गौशाला नगरपालिकाले २०७९ माघ १९ गते दायर गरेको रिटलाई मंगलबार अदालतले दरपीठ गरेको हो ।
नगरपालिकाहरूले समन्वय समितिले ढुंगा, गिटी, बालुवा बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धी ऐनलाई टेकेर बनाएको कार्यविधि गलत भएको दावी गर्दै उत्प्रेषण परमादेशसहितको रिट हालेका थिए ।
रिटलाई दरपीठ गरेसँगै समन्वय समितिको उक्त कार्यविधि सक्रिय भएको छ । तर, फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।
सबैभन्दा बढी अवैध उत्खनन बर्दिवास नगरपालिका र गौशाला नगरपालिकामा नै भइरहेको गुनासो बढिरहेको बेला समन्वय समितिको कार्यविधि यसलाई रोक्न प्रभावकारी बन्ने विश्वास लिइएको छ ।
न्यायाधीशद्वय किरणकुमार पोखरेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको उक्त फैसला अवैध दोहन, चोरी, निकासीलाई रोक्न महत्वपूर्ण भएको बताउँदै समन्वय समितिको प्रयासलाई स्थानीयहरूले प्रशंसा गरेका छन् ।
ऐन र कानुनमा नै टेकेर जरिवाना लगायतका कार्यविधि बनाइएको र अदालतले फैसला गरेसँगै यसलाई कार्यान्वयन गर्न अगाडि बढ्ने समन्वय समितिका संयोजक सुमनलाल कर्णले बताए ।
`उत्खनन गर्न सहज होस भन्ने हेतुले वहाँहरूले हालेको रिटलाई खारेज गरेसँगै अब हामी स्थानीय सरकारलाई जिम्मेवारी बनाउनेतर्फ उन्मुख हुने छौं,´ उनले भने ।
बर्दिवास नगरपालिकाको तर्फबाट अधिकृत स्तरका कर्मचारी दिपक पौडेल र गौशाला नगरपालिकाको सहायक चौथो स्तरका कर्मचारी पृथ्वीनारायण महतोलाई अख्तियारी दिएर अगाडि बढेको मुद्दा एक वर्षदेखि विचाराधीन अवस्थामा नै रहेको थियो ।
के-के छ कार्यविधिमा ?
कार्यविधिमा प्रचलित ऐन कानुनको नै अधीनमा रही कार्यान्वयनलाई जोड दिने उल्लेख गरिएको छ ।
तर, समन्वय समितिले कसुरको प्रकारअनुसार दण्ड जरिवाना निर्धारण गरेको छ । नदीको पानीभित्र मेसिनरी प्रवेश गरेर बहाव क्षेत्रमा सामग्री संकलन गरेको खण्डमा २० हजारदेखि ८० हजारसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै स्थानीय अनुगमन समिति र जिल्ला अनुगमन समितिमा अभिलेखिकरण नगराई नदी, खानी क्षेत्रमा मेसिन प्रयोग गरेमा ५० हजारदेखि ७५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ ।
कसुरसम्बन्धी शीर्षकलाई विभिन्न १० भागमा विभाजन गरी न्यूनतम् ३ हजारदेखि अधिकतम १ लाखसम्म जरिवाना गर्ने पनि व्यवस्था गरिएको छ ।
उक्त कार्यविधिलाई समन्वय समितिले कार्यान्वयनको लागि सम्बन्धित नगरपालिकालाई यसअघि नै पत्राचार गरिसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।
विशेषगरी बर्दिवास र गौशाला नगरपालिकाले जरिवानासम्बन्धी कार्यविधिमा नै आपत्ति जनाउँदै अदालतमा उत्प्रेषण परमादेशको माग गरेका थिए । न्युज कारखाना

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया