बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

देउवा, दाहाल र नेपालबीच बुढानीलकण्ठमा भेटघाट जारी

काठमाडौँ : नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । देउवा निवास बुढानीलकण्ठमा तीन नेताबीच अहिले छलफल भइरहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

प्रवक्ता श्रेष्ठका अनुसार नेताहरूबीच प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र आइतबार राति प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे आह्वानबारे छलफल भइरहेको छ । 

दाहाल र नेपाल एउटै गाडीमा बुढानीलकण्ठ पुगेका थिए । यसअघि बिहान पनि माओवादी अध्यक्ष दाहालले बुढानिकलण्ठ पुगेर देउवालाई भेटेका थिए । बिहान एमाले नेता नेपालसँग भेटेर दाहाल सिधै देउवालाई भेट्न पुगेका थिए ।  

देउवासँगको छलफलपछि फेरि माओवादी र एमालेको नेपाल समूहका नेताहरू छलफल गर्ने तयारी भइरहेको माओवादी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।