मन्त्री थापालाई बर्खास्त गर्न माग गर्दै एमालेद्वारा कर्णाली सभा अवरुद्ध

कर्णाली : कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ । प्रदेश सभाको आजदेखि शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदनका काम कारबाही अघि बढ्न नदिने अडान राखेको हो ।
बैठक शुरु हुनासाथ दलका नेता यामलाल कँडेलले तीन वटै तहका अदालतले दोषी करार गरिसकेका व्यक्ति मन्त्रीका रूपमा झण्डा हल्लाउँदै सदनमा प्रवेश गर्नु आपत्तिजनक भएको बताए । उनले भने, “मुख्यमन्त्रीले यस अघि अभियोग लागेको आधारमा मन्त्रीलाई बर्खास्त गरेको अनुभव छ, लोकतन्त्र, संवैधानिक मूल्य मान्यता र जनप्रतिनिधिमुलक संस्थाको गरिमा बचाउन अभियोग प्रमाणित मन्त्रीलाई बर्खास्त गर्न माग गर्दछौं ।” नेता कँडेलले बोलेलगत्तै एमालेका १५ सांसदले उठेर बैठक अवरुद्व पारेका थिए ।
सभामुख राजबहादुर शाहीले गम्भीर विषय हुँदाहुँदै पनि यसबारे सरकारले आफ्नो धारणा प्रस्तुत गर्ने भएकाले सदनको काम कारबाही अघि बढ्न दिन आग्रह गरेका थिए । एमालेले बैठक अवरुद्व पारेपछि आधा घण्टाको लागि स्थगित बैठक पुनः सुचारु भएको थियो ।
बैठकमा शुरु हुनासाथ एमालेका प्रदेशसभा सदस्य करवीर शाहीले तत्काल मन्त्री थापालाई बर्खास्त गर्न माग गरे । साथै उनले १० वटै जिल्लामा एउटै कम्पनीले अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने गरी मिलेमत्तोमा टेण्डर आव्हान गरिएको भन्दै छानबिनको माग गरे । उनले आफ्नो धारणा राखेपछि एमालेका प्रदेश सभा सदस्यहरू उठेर बैठक अवरुद्व पारेका थिए । प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो दुई बजे बस्नेछ ।
वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने क्रममा एमालेबाट निर्वाचित थापाले ‘फ्लोर क्रस’ गरेका थिए । एमालेबाट निष्काशित थापा लगत्तै भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई किर्ते जालसाजीसम्बन्धी अभियोगमा तत्कालीन जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतले दोषी ठहर गरेको मुद्दा हालै सार्वजनिक भएको हो । मन्त्री थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि जेठ ३० गते सुनुवाइ हुँदैछ । (रासस)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया