आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

पर्यटन र निर्माणकार्य सुस्ताउँदा भ्याट कमजोर

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो चार महिनामा आन्तरिक राजस्व वृद्धिदर न्यून देखिएको छ । गत आर्थिक वर्षको पहिलो चैमासको तुलनामा ०.४२ प्रतिशत राजस्व वृद्धिदर रहेको छ ।

सरकारले कात्तिक महिनासम्म २ खर्ब ६४ अर्ब ६७ करोड रुपैँया राजस्व संकलन गरेको छ । असोज महिनासम्मको राजस्व संकलनमा १ खर्ब ९७ अर्ब ३४ करोड रुपैयाँको राजस्व लक्ष्यमध्ये १ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । कात्तिक महिनाको मासिक राजस्व लक्ष्य ६४ अर्ब ९५ करोड रुपैँया रहेकोमा ६९ अर्ब ७४ करोड रुपैँया राजस्व संकलन भएको छ । 

गत आर्थिक वर्षको यस अवधिमा यो वृद्धिदर २० प्रतिशत थियो । विश्वव्यापी कोभिड-१९ महामारीको असर व्यापारिक, औद्योगिक तथा पर्यटन क्षेत्रमा परेकाले सम्बन्धी क्षेत्रबाट उठ्ने राजस्व संकलन न्यून छ ।

आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार लक्ष्यको तुलनामा ९५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । समीक्षा अविधमा ११ करोड १२ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १० करोड ६४ लाख रुपैयाँ मात्रै संकलन भएको छ ।

कोरोनाको असर भ्याटमा

कोभिड-१९को सबैभन्दा बढी असर परेको पर्यटन क्षेत्रबाट उठ्ने मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा गिरावट आएको छ । यो गिरावट ७२ प्रतिशत छ । गत आर्थिक वर्षको समीक्षा अविधमा यस्तो भ्याट ११ प्रतिशतले वृद्धि भएको थियो । बिक्री तथा वितरणतर्फको भ्याट संकलनमा पनि ०.३३ प्रतिशतको मात्रै वृद्धिदर छ । निर्माणकार्य समेत प्रभावित भइरहेको अवस्थामा निर्माण तथा ठेक्कापट्टातर्फको राजस्व संकलन वृद्धिदर ऋणात्मक छ । यस्तो भ्याट १० प्रतिशत कम छ । जबकी गत आवमा यो ६४ प्रतिशतले बढेको थियो ।

विभागको तथ्यांकअनुसार लक्ष्यभन्दा भ्याट संकलन भने बढी छ । ९९ लाख ५८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १ करोड २ लाख रुपैयाँ भ्याट संकलन भएको छ ।  

आयकरमा भारी गिरावट

कोभिड-१९ को प्रत्यक्ष असर आर्थिक गतिविधिमा परेकाले व्यावसायिक कम्पनी तथा व्यक्तिगत आम्दानी खुम्चिएको छ । यसको प्रभाव आयकर संकलनमा देखिन थालेको छ ।

विभागका अनुसार व्यक्तिगत आयकरमा पनि ५ प्रतिशतले गिरावट आएको छ । सामाजिक सुरक्षा करमा ४ प्रतिशतले गिरावट आएको छ । लगानीतर्फको लाभांसबापत उठ्ने करमा ३३ प्रतिशतले गिरावट आएको तथ्यांकले देखाएको छ ।

सरकारी स्वामित्वका संस्थानबाट संकलन हुने आयकरमा ७५ प्रतिशतले गिरावट आएको छ । गत आवमा यसको वृद्धि २२ लाख रुपैयाँ बढी थियो ।

पोहोरको तुलनामा आयकर संकलनमा कमी आएपनि लक्ष्यको शतप्रतिशत उठेको विभागले जानकारी दिएको छ । यस अविधमा ३ करोड २६ लाख रुपैयाँ लक्ष्य राखेकोमा ३ करोड २७ लाख रुपैयाँ आयकर संकलन भएको छ ।

चुरोट र बियर प्रभावित

चुरोट र बियरबापत संकलन हुने अन्त:शुल्क संकलनमा कमी आएको छ । समीक्षा अविधमा पोहोरको तुलनामा चुरोट बापतको अन्त:शुल्क संकलन १० प्रतिशतले कम छ । त्यस्तै बियरबापतको अन्त:शुल्क संकलन १५ प्रतिशत कम छ । पोहोर चुरोटमा ५३ प्रतिशतले बढेको थियो ।

मदिरामा भने पोहोरको तुलनामा अन्त:शुल्क संकलनमा सुधार आएको छ । सरकारको मदिरामा अन्त:शुल्कको मापदण्ड फेर्ने त्रुटीपूर्ण नीतिले पोहोरको चार महिनामा ११ प्रतिशतले मदिराबापतको अन्त:शुल्कमा गिरावट आएको थियो । तर सरकारले आफ्नो नीति फिर्ता लिएपछि क्रमश: सुधार आइरहेको छ । समग्रमा अन्त:शुल्क संकलनमा ०.८५ प्रतिशतले कमी आएको छ ।

समग्रमा अन्त:शुल्क संकलन लक्ष्यको ८१ प्रतिशत संकलन भएको छ ।