शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

गर्भपतन गर्न नमान्दा कुटपिट गरी घरबाट निकालियो

फाइल तस्बिर

रौतहट- रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरी घरबाट निकालिएको छ ।

प्रेम विवाह गरेकी स्थानीय परोहा नगरपालिका-७ नरकटिया टोलकी ३० वर्षीय महिलालाई पति, सासू, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसराली जाँदा कुटपिट गरी घरमा प्रवेश गर्नबाट रोकेका हुन् ।

२०७७ सालमा स्थानीय आलोक पटेलसँग प्रेम विवाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवी तेस्रो पटक गर्भवती भएपछि श्रीमानले गर्भ पतन गरे मात्र विवाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जाँदा कुटपिट गरेको पीडित महिलाको गुनासो छ । सञ्चारकर्मीसँग कुरा गर्दै पीडितले दुई पटक गर्भपतन गरिसकेको र तेस्रो पटक २ महिनाको गर्भ रहेको बताउँदै कानुनी रूपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान श्रीमानको रहेको दुखेसो गरिन् ।

गएको शुक्रबार घरमा जाँदा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासू कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामूहिक रूपमा कुटपिट गरेको भिडियो आफूसँग रहेको दाबीसमेत गरेकी छिन् ।

प्रेम विवाह गरेका श्रीमान् आलोक पटेलले आफूसँग पटक-पटक १५ लाख रुपैयाँ ब्याग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लगेको उनको दाबी छ ।

आफूमाथि अन्याय भएको भन्दै महिलाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छिन् ।