सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

वर्षायाममा खेर जाने बिजुलीमा गुमेको त्यो अवसर

‘वर्षायाममा खेर जाने जगेडा बिजुली परीक्षण’का रूपमा बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धामा भाग लिएको थियो । भारतको एउटा पावर युटिलिटी पञ्जाव स्टेट पावर कर्पोरेसन लिमिटेडले गत महिना आह्वान गरेको प्रतिस्पर्धामा प्राधिकरण सफल भयो ।

नेपाललाई हालसम्म अध्ययन नै गरेको थिएन कि भारतमा कुन मूल्यमा बिजुली बिक्री हुन्छ । त्यो मूल्य थाहा पाउन पश्चिम सेती बनेपछि भारत निकासी हुन्छ कि भन्दै राज्यले १६ वर्ष प्रतीक्षा गर्‍यो । तर विद्युत् खरिद सम्झौता गर्न भारतले १६ वर्ष कुराइदियो ।

भारतीय बिजुली बजारमा मूल्य तल-माथि भइरहन्छ । विशेष गरी गैरनवीकरणीय ऊर्जाको मात्रा अधिक भएको भारतलाई जलविद्युत्को आवश्यकता नभएको होइन । तर ऊ गलाएर, थकाएर, अति सस्तोमा लिन खोज्छ, जसरी भुटानबाट लिइरहेको छ । त्यही मोडेलबाट नेपालको विद्युत् ऊ चाहन्छ । अरुण तेस्रो र तल्लो अरुणले यही भन्छ । अर्थात्, समर्पित विद्युत्-गृह बनाएर लैजाने । 

अब भारतलाई आफू नलिने भए बंगलादेशसम्म जाने बाटो देऊ भनी नेपालले याचना गर्दै आएको छ । यसमा पनि भारतले सकारात्मक भाव देखाएको छैन । ऊर्जा मन्त्रीस्तरसम्म यो विषय धेरै पटक उठिसकेको छ । तर प्रधानमन्त्री तहमा ऊर्जा व्यापारसम्बन्धी सवाल उठेको छैन ।

हाम्रा प्रधानमन्त्रीले भारतीय बजार खोल्ने वा बंगलादेशसम्म जान मार्ग दिने मुद्दामा कहिले पनि चासो राखेको पनि पाइँदैन । राजदूत भएर गएकाहरू पनि जागिरमा मात्रै रम्छन्, मुलुक हितका निम्ति खेल्नुपर्ने कूटनीतिक भूमिकामा प्रदर्शन भएको पाइँदैन । 

अघिल्ला ऊर्जा सचिव दिनेशकुमार घिमिरले भारतीय बजार खुलाउन भरमग्दुर प्रयास गरे । तर यो सचिवस्तरमा सल्टिन सक्ने मुद्दा होइन । यसका लागि भारतको ठूलो छाती चाहिन्छ । ऊ आफँै वातावरण प्रदूषक ऊर्जा उत्पादनमै मस्त छ । ऊर्जाको ठूलो माग रहेको भारत नेपालको यो सम्भावनाप्रति सकारात्मक हुँदैन । यसबाट प्रस्ट देखिन्छ कि नेपाललाई अनेक उपक्रम गरी सस्तोमा पाए बिजुली लिन्छ । किनभने भारतले विद्युत् व्यापारलाई रणनीतिक सवाल मानेको छ । 

मुलुकको दीगो आयस्ताको स्रोत भनेकै जलस्रोत हो । यही स्रोतबाट अथाह बिजुली उत्पादन गर्ने सम्भावना छ । तर कसै गरी चाँजोपाँजो मिल्दैन । विदेश निर्यात गर्न त सकेनौँ नै, स्वदेशी खपत पनि गराउन सकेनौँ । ग्यासलाई विस्थापित गरी बिजुलीबाट भात पकाउन सकेनौँ । विद्युतीय गाडी चलाउन सकेनौँ । अब यस्ता उदाहरण कति छन् कति ?

अबको सात वर्षको अवधिमा ८ खर्ब रुपैयाँको ऊर्जा व्यापारको सम्भावना छ भारत वा बंगलादेशसित । यो गाँठो फुकाउन सक्ने देशको प्रधानमन्त्री देशको सच्चा नायक हुनेछ । किनभने बिजुलीको अन्तर्राष्ट्रिय बजार खुल्नेबित्तिकै रोजगारीका लागि युवाहरू वैदेशिक रोजगारीमा जानु पर्दैन । रेमिट्यान्स होइन, जलविद्युत्बाटै आउने कर, रोयल्टी प्रशस्त हुन्छ ।

देश बनाउन के चाहिन्छ ? पैसा । आगामी आर्थिक वर्षको बजेट हेरौँ । जनताबाट कर असुलिएको पैसा (राजस्व) ले नेता, कर्मचारी, सांसदहरूलाई तलब दिन पुग्दैन । बूढीगण्डकीजस्ता पेट्रोलिम पदार्थ विस्थापित गराउन सक्ने आयोजना बनाउन पैसा पनि छैन, इच्छा पनि छैन । 

सिंगो बजेट बराबरको व्यापार घाटा छ । रेमिट्यान्स नआउने हो भने विदेशी मुद्राको स्रोत नै छैन । कोभिड १९ ले पर्यटन थला परेको छ । नगण्य मात्रामा भएको वैदेशिक व्यापारले यत्रो आयात कसरी थेग्छ ? त्यही भएर विकास निर्माणमा लगाउने पैसा नभएर सरकार जहिले पनि टाटका टाट । अझ अनावश्यक संरचना निर्माण गरी अनुत्पादक खर्च पनि टाकुरामै पुर्‍याइँदैछ । 

आन्तरिक ऋण उठाएर भत्ता खुवाउनुपर्र्ने राजनीतिक बाध्यता छ । यस्तो अवस्थामा देशको आय भनेकै जलविद्युत् हुने एउटा प्रबल सम्भावना छ । खेती किसानीमा राज्यको रुचि नै छैन । कृषिको औद्योगिकीकरण हुनै सकेन । चामल उत्पादन कम्पनी बन्छ, धान भारतबाट आउँछ । 

यस्तो अवस्थामा मुलुकको दीगो आयस्ताको स्रोत भनेकै जलस्रोत हो । यही स्रोतबाट अथाह बिजुली उत्पादन गर्ने सम्भावना छ । तर कसै गरी चाँजोपाँजो मिल्दैन । विदेश निर्यात गर्न त सकेनौँ नै, स्वदेशी खपत पनि गराउन सकेनौँ । ग्यासलाई विस्थापित गरी बिजुलीबाट भात पकाउन सकेनौँ । विद्युतीय गाडी चलाउन सकेनौँ । अब यस्ता उदाहरण कति छन् कति ?

नेपालको बिजुली उत्पादन लागत विश्वमै सर्वाधिक महँगोमा पर्छ । त्यसैले प्रतिस्पर्धी छैन । जलविद्युत् आयोजना बनाउँदा बनाउँदै महँगो भइसक्छ । यसका अनेक पाटा छन् । तसर्थ, खेर जान लागेको बिजुली खपत स्वदेशमै व्यापक रूपमा गराउने अहिलेको बजेटले प्रयास गरेको छ, त्यो सकारात्मक छ । तर त्यतिले मात्र पुग्दैन, निर्यातका लागि ओलीले ऐतिहासिक अवसर गुमाए । दुई तिहाईको सरकारको प्रतिनिधि हुनु र टेको लगाएको, त्यो पनि अरु दल फुटाएर अवैधानिक तवरले टिकेको सरकारले भारतको गाँठो फुकाउन सक्ला भनेर विश्वास गर्ने आधार भएन ।