गुणस्तर सुधार्न विद्यालय ‘मर्ज’

बलेवा (बागलुङ)- गलकोट नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय एकापसमा गाभेको (मर्ज) गरेको छ ।
चालु वर्षमा गलकोटका दर्जन विद्यालय मर्ज र तह मिलान भएका छन् । गाभिएका मध्ये वडा नं ७ को झिर्कामा रहेको आधारभूत विद्यालय अहिले कक्षा ३ सम्म चलेको छ । यहाँका विद्यार्थीलाई कक्षा ४ देखि जनहित मावि मल्ममा आउनुपर्छ । नगरपालिकाले गाडीको व्यवस्थापन गरेर आउने जाने गराएको छ । वडा नं १० को ढु्ङ्गेल प्रावि बन्द भयो । पाण्डवखानी माविमा पढ्न आउनुपर्छ । विद्यार्थी शून्य नजिक पुगेकाले विद्यालय मर्ज गर्नुपरेको नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले बताए । वडा नं ७ कै देउराली प्रावि बन्द गरियो । त्यहाँ पढ्ने १५ विद्यार्थी पनि जनहित मावि मल्म गए । वडा नं २ को चौराहा आधारभूत विद्यालय बन्द गरेर चौराहा माविमा समावेश गरियो ।
सापकोटाका अनुसार गत वैशाखदेखि पाँच विद्यालय मर्ज गरिएको हो भने ७ विद्यालयको तह मिलान गरियो । केही हिँड्नुपर्ने बाध्यता भएका बालबालिकालाई नगरपालिकाले खाजा खर्च दिन थालेको छ । विद्यालय बन्द हुँदा शिक्षक जगेडा भए । त्यसपछि नगरपालिकाले ती शिक्षकलाई आवश्यकताको आधारमा स्थानान्तरण गराएको छ । ‘दरबन्दी नभएर निजी स्रोतमा राखेका विद्यालयले शिक्षक पाएका छन्,’ सापकोटाले भने, 'अभिभावकको अनावश्यक खर्च जोगियो ।' निजी स्रोतको शिक्षक राखेका जनहित, चौराहा र पाण्डवखानी मावि विद्यालयलाई सहज भएको अभिभावकहरूले बताए ।
विद्यालय मर्ज गर्दा गुणस्तर सुधारमा समेत सहज भएको सापकोटाको भनाइ छ । 'आवश्यक शिक्षक ‘कोटा’ पुगेपछि हामीले गुणस्तर सुधारका कार्यक्रम ल्याउन पाएका छौँ,’ उनले भने, 'शिक्षकका लागि मासिक रकम बुझाउने अभिभावकहरूले गुणस्तर सुधारका लागि खुसीले साथ दिन पाएका छन् ।’ विद्यालयको तह मिलान गर्दा पनि आर्थिक भार कम भएको जनहित माविका अभिभावक ज्ञानबहादुर थापाले बताए ।
अब गलकोटमा १३ माविसहित ६२ सामुदायिक विद्यालय छन् । विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ भएमा १५ जना, १–५ भए २५, ६–८ भए २१, ९–१० भए २५ र ११–१२ मा पनि २५ जना विद्यार्थी न्यूनतम् चाहिने मापदण्ड छ । बागलुङ नगरपालिकाले पनि ‘बिग स्कुल’ को मापदण्ड बनाएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
आगामी शैक्षिक सत्रमा मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालय मर्ज गर्ने तयारी भएको हो । बागलुङ नगरपालिकाभित्र एक सय ४ विद्यालय छन् । यो सङ्ख्या नेपालका सबै पालिकाको भन्दा धेरै हो । कतिपय विद्यालयमा विद्यार्थी न्यून भएकाले मर्जको अवस्था ल्याउनै पर्ने आवश्यकता भएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । ‘बरू एउटा राम्रो र आवासीय विद्यालय बनाऔँ भन्ने छ,’ श्रेष्ठले भने, 'वैशाखसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।'
गाउँ छाडेर बजार र तराई झर्ने क्रमले गाउँघरका विद्यालयमा विद्यार्थी न्यून भएका हुन् । रासस

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

प्रतिक्रिया