प्रेम दिवसमा सौराहामा बढेन रौनकता

चितवन - बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँच वटा कोठा मात्र बुकिङ भएका छन् । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने छैन ।
विगतका वर्षमा जस्तो प्रणय दिवस मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक अहिले छैनन् । क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष घिमिरेले भने “प्रणय दिवसमा पनि आशालाग्दो अवस्था देखिएन । यहाँ जारी खाना महोत्सबमा दिउँसो चहलपहल भए पनि बासबस्ने पर्यटक कम छन् ।”
नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भइ काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौँसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ । त्यस्तै मुग्लिन पोखरा र नारायणगढ–बुटवल सडकको अवस्था पनि उस्तै छ । सडकको अवस्था र आर्थिक मन्दीका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ ।
घिमिरेले आज बिहान मात्र करिब १० वटा होटलमा बुझ्दा अवस्था राम्रो नपाएको बताए । क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सबको प्रभाव होटलहरुमा पर्न नसकेको बताउँछन् । प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उनको भनाइ छ ।
आज मध्यान्हसम्म ३० प्रतिशत हाराहारी मात्र होटलमा पर्यटक आएको भन्दै उनले दश प्रतिशत थप हुने अपेक्षा गरिएको बताए । उनले भने, “गत वर्षमा प्रणय दिवसमा लगभग होटल भरिन्थे । यो वर्ष रौनक नै छैन ।” सौराहामा अहिले भइरहेको खाना महोत्सव, केही दिन अघि सकिएको फिल्म महोत्सव र हात्ती महोत्सवको प्रभाव होटलको मा नपरेको उनी बताउँछन् । उनले थपे, “मेला महोत्सव खासै सफल हुन सकेनन् ।” मेला महोत्सवको आवश्यक मात्रामा प्रचारप्रसार हुन नसक्दा सोचे जस्तो उपयोगी नभएको उनको ठम्याइ छ ।
क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया मध्यान्हसम्म खासै पर्यटक आइनसकेको बताउँदै साँझसम्ममा आउने अपेक्षा गर्छन् । उनले भने “गत वर्षमा यतिबेलासम्म कोठा सकेर अरू होटलमा खोज्न थाल्थे । अहिले त्यस्तो अवस्था छैन ।” यद्यपि आफूहरु आशावादी रहेको उनले बताए ।
सडकको अवस्था राम्रो नभएको र आर्थिक मन्दिनै पर्यटक नआउनुको कारण भएको उनले बताए । सौराहामा पाँच हजार पाँच सय जना पर्यटकलाई एकै पटक राख्न सक्ने क्षमता छ । यहाँ एक सय २० वटा होटल र करिब एक सय वटा रेष्टुराँ सञ्चालनमा छन् ।
रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया