४२ प्रतिशतमा यौन रोगको लक्षण, ३४ प्रतिशतले मात्र औषधि सेवन
काठमाडौँ- यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो ।
अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले एचआईभी/एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग ती महिलामा देखिएको बताइन् ।
उनका अनुसार एचआईभी तथा एड्स ४ जनामा, हेपाटाइटिस ‘बी’ ४ जनामा, हेपाटाइटिस ‘सी’ ६ जनामा र भिरङ्गी ५४ जनामा देखिएको देखिएको थियो । अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआईभी परीक्षण पनि नगरेको पाइएको छ ।
परिषद्ले पोखरामा गत वैशाखदेखि असोजसम्म ३६४ जनामा यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो । तीमध्ये विवाहित १६९, अविवाहित ८१ र सम्बन्ध विच्छेद गरेका ९९ र विधवा १५ जना थिए । अध्ययनमा १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका महिला थिए ।
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले धेरै महिलामा एचआईभी एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताए ।
अध्ययनअनुसार पहिलो पटक शारीरिक सम्पर्क हुँदा १० वर्ष र बढीमा २५ वर्ष उमेर रहेको पाइएको अनुसन्धानकर्ता दवाडीको भनाइ थियो ।
उनले यौन व्यवसायमा २१ वर्षदेखि ३० वर्ष उमेर समूहका बढी रहेका, ६० प्रतिशत महिलाले १६ देखि २० वर्षभित्रमा विवाह गरिसकेका र ३५ प्रतिशत महिलाले गर्भपतन गराएको पाइएको जानकारी दिइन् । अध्ययनमा धेरैले परिवार पाल्नका लागि यौन व्यवसायमा आबद्ध भएको बताएका अनुसन्धानकर्ता दवाडीको भनाइ थियो । 'धेरै जसोले परिवारमा पैसाको अभावकै कारण यौन व्यवसाय लाग्नुपरेको बताएका थिए । यसैगरी लकडाउन, श्रीमानको मृत्यु, श्रीमानले छोडेर गएकाले पनि यौन व्यवसायमा संलग्न भएको पाइयो,' उनले भनिन् ।
लागूऔषधको दुर्व्यसनी
अध्ययनमा यौन व्यवसायमा संलग्नले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेको पनि पाइएको छ । उनका अनुसार ६० प्रतिशतभन्दा बढीले मादक पदार्थ सेवन गर्ने गरेको र ११ दशमलव आठ प्रतिशतले दैनिक मादक पदार्थ खाने गरेको पाइएको छ ।
यस्तै यौन व्यवसायमा संलग्नमध्ये १० दशमलव चार प्रतिशत लागूऔषध प्रयोगकर्ता रहेको पाइयो । लागूऔषध सुईमार्फत प्रयोग गर्ने गरेको अनुसन्धानकर्ता दवाडीले बताइन् । यसैगरी दुई दशमलव सात प्रतिशतले लागूऔषधका लागि शारीरिक सम्पर्क गर्ने गरेको पाइएको उनले बताइन् ।
परिवारलाई जानकारी छैन
अध्ययनअनुसार सबै जनाले परिवारमा आफ्नो पेसाबारे जानकारी नभएको बताएका थिए । पारिवारिक मेलमिलाप तथा सामाजिक प्रतिष्ठामा असर पर्ने भएकाले यस्ता कुरा सुरक्षित राख्ने गरिएको छ ।
यौन व्यवसायमा लाग्ने धेरै जसोले आधारभूत शिक्षा लिएको पाइएको छ । ६ देखि १० कक्षा पास गरेका धेरै जसो थिए भने १० कक्षामाथिका २७ दशमलव चार प्रतिशत थिए ।
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघराज धिमालले यौन व्यवसायमा लाग्ने महिलालाई आम्दानी हुने खालका सीपमूलक तालिम दिएर सम्पन्न गराउन सके यौन व्यवसाय छोड्ने भएकाले महिलालाई मानसिक स्वास्थ्य र परामर्श सेवा सरकारले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
उनले अध्ययनले नीति निर्माता तथा कार्यक्रम तर्जुमा गर्नेलाई वास्तविक यौन व्यवसायका पीडा देखाउने र तिनीहरूका पक्षमा योजना बनाउन सजिलो हुने बताए । रासस

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया