‘संघीयता कार्यान्वयनमा समस्या कर्मचारी होइनन्, मानसिकता हो’
भ्रष्टाचारको मुख्य जड नै कार्यकर्ता व्यवस्थापन रै छ : गोपी हमाल

पोखरा- संघीयता कार्यान्वयनको दोस्रो कार्यकालमा आइसक्दा पनि अझै अधिकार बाँडफाँटकै विषयमा विवाद छ । संघीयता कार्यान्वयनमा तीनै तहको सरकारले एकले अर्कालाई औंलो देखाउन छाडेका छैनन् ।
'संघीयता राजनीतिक एजेन्डा भए पनि अहिले कर्मचारीतन्त्रको मानसिकता नबद्लिएको, उनीहरूकै हातमा तालाचाबी' रहेको भन्दै जनप्रतिनिधिहरू कर्मचारीतिर पनि दोष देखाउन छाडेका छैनन् । उनीहरूको मान्यता छ, 'संघीयताको मर्म बुझेका कर्मचारी नहुँदा काम हुन सकेन ।' तर, धनगढीका मेयर गोपाल हमाल संघीयता कार्यान्वयनमा कर्मचारीतन्त्रलाई तड्कारोको रूपमा लिँदैनन् । बरु, राजनीतिक दल र उनीहरूले बोकेर हिँडेको मानसिकतालाई मुख्य चुनौती रहेको बताउँछन् ।
'कर्मचारी त त्यति ठूलो चुनौती होइन । तर, स्रोतको विषयमा स्वार्थ समूह छ, त्यो महत्वपूर्ण छ,' पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलमा भएको 'संघीयताको सेरोफेरो' विषयक सत्रमा हमालले भने, 'दलहरूको दल बलियो बनाउनुपर्छ भन्ने मान्यता पनि हो ।'
गएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीसँगै जित हासिल गरेका हमाल राजनीतिक दलका नेताहरूले आफ्नो पार्टीलाई बलियो बनाउन खोज्दा नै भ्रष्टाचारको दलदलमा फस्दै जाने आरोप लगाए ।
'दलहरूमा दल बलियो भयो भनेमात्रै चुनाव जितिन्छ भन्ने उनीहरूको दिमागमा पारिएको छ । दल बलियो बनाउने भनेको कार्यकर्ता पाल्ने हो । उनीहरूसम्म पैसा कसरी पुर्याउने भन्ने हो,' हमालले भने, 'कार्यकर्ताको व्यवस्थापन नै भ्रष्टाचारको मुख्य जड हो । जो पनि मेयर बन्नुहुन्छ, कार्यकर्ताको व्यवस्थापन गर्दागर्दै दाग लाग्छ ।'
हमालको भनाइमा कास्कीका रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा पनि सहमत देखिए । उनले पनि असल मनसायमा कर्मचारी समस्या नभएको आफूले २ पटकको कार्यकालमा कर्मचारीलाई समस्याका रूपमा नलिएको बताए ।
गाउँपालिका अध्यक्ष ओझाले जनतालाई संघीयता प्रति सकारात्मक बनाउने प्रमुख दायित्व नै जनप्रतिनिधिको रहेको बताए । 'संघीयतालाई मर्मअनुसार कार्यान्वयन गर्ने जिम्मा पनि जनप्रतिनिधि नै हो । कर्मचारीहरूलाई आफूसँगसँगै लैजाने जिम्मेवारी पनि जनप्रतिनिधिकै हो,' उनले भने ।
हमालले व्यवस्थाभन्दा पनि नेतृत्व तहको इमान्दारिताले धेरै अर्थ राख्ने विचार राखे । उनले हालका मुख्य राजनीतिक दलका नेतृत्व जनताप्रति इमान्दार नै नरहेको जिकिर गरे । 'व्यवस्था ठूलो होइन रहेछ, सबैभन्दा ठूलो त नेतृत्व कोप्रति इमान्दार छ भन्ने रैछ,' उनले भने, 'अहिलेका मुख्य दलका मुख्य नेताहरू जनताप्रति इमान्दार छन् त ? भाषणमा त छन्, तर, व्यवहारमा छैनन् ।'
मेयर हमालले अहिले साझा स्वार्थमा भन्दा पनि व्यक्तिगत स्वार्थ हाबी हुन जाँदा जनतामा निराशा बढेको बताए । 'अहिले हामी बृहत् स्वार्थभन्दा पनि सानो स्वार्थ भयो । सानो स्वार्थले गर्दा डेलिभरी भएन । जनताको पक्षमा काम नभएपछि जनता असन्तुष्ट हुनु स्वभाविक हो,' उनले भने ।
गाउँपालिका अध्यक्षसमेत रहेका रुपा गाउँपालिका अध्यक्ष ओझाले प्रदेश सरकारसँग आफूहरूको धेरै अपेक्षा भए पनि समन्वय नभएको बताए । उनले ५ करोडभन्दामूनिका योजना नपठाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए । उनले भने, 'तर, उहाँहरू ५० हजारका योजना पनि पठाउनुहुन्छ । ती योजना अहिले पनि छन् ।'
बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछाने पनि प्रदेश तथा संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगर्दा कतै योजनामा तेहोरोसम्म हुने त कतै कुनै योजना नै नपर्ने गरेको अनुभव सुनाउँछिन् ।
गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले संघीयतालाई उचित ढंगले लागू गर्न संविधानमै त्रुटि रहेको दाबी गरे । उनले संविधानको अनुसूचीमा कार्यान्वयनसम्बन्धी प्रष्ट नलेख्दा प्रदेश सरकार कमजोर बन्न पुगेको बताए ।
सांसद सुवेदीले अहिले पनि केन्द्रीकृत मानसिकताले गर्दा केन्द्रले सबै खर्च आफैं गर्ने प्रदेशले गालीमात्रै खाने दाबी गरे । 'गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने पनि कूल १९ खर्ब वित्तीय खर्च गरेका रहेछौं । त्यसमा साढे १२ खर्ब केन्द्र सरकारले आफैं गरेको छ,' उनले भने, 'स्थानीय सरकारले २४ प्रतिशत गरेको छ । अनि गालीचाहिँ प्रदेशले मात्रै खान्छ ।'
अब हालको ढंगबाट नभई नयाँ तरिकाले संविधानको मर्मअनुसार संघीयता लागू गर्न निर्मम तरिकाले उत्रिनुपर्ने ठाउँमा आइसकेको सांसद सुवेदीले बताए । 'जे जति जति सोचिएको थियो । त्यो गर्न सकिएन । मूल नेतृत्वको मानस्पटलमै घुसेन । यो तादम्यता नमिल्दा थुप्रै चिजलाई असर गरिरहेको छ,' उनले भने ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_m3qS5EJLPR_nxpndjyipsi6rtjqcsec0r8fqm0sw8uhwywondf6ac0xvn0y5a1ixyc2mjci.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_aJBwQrHN5h_708186pzfqgfjd2ekl5qul4mrl7fgruik1nrua7w2r3ked7it963vcfr1fv6.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया