जनमोर्चा सांसद थापाको पद खारेजी-बदर प्रकरण : सर्वोच्च पुगे सभामुख

पोखरा : राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेजीलाई सर्वोच्चले बदर गरिदिएपछि सभामुख नेत्रनाथ अधिकारी सर्वोच्च अदालत पुगेका छन् । अदालतले गरेको निर्णय खारेज हुनुपर्ने भन्दै सभामुख अधिकारी 'भ्याकेट' निवेदन लिएर सर्वोच्च पुगेको मिडिया संयोजक किशोर पौडेलले जानकारी दिए ।
उनकाअनुसार सभामुख अधिकारी मंगलबार दिउँसो सर्वोच्च पुगेका थिए । तर समय कटिसकेको भन्दै अदालतले उनको निवेदन लिएको थिएन । सभामुखले निवेदन दिइसकेको र अध्ययनपछि दर्ता हुने पौडेलले बताए । ‘हिजो नै आउनुभएको थियो, तर समय कटेकाले हिजो दर्ता भएन, आज २ बजे दर्ता हुन्छ,’ पौडेलले भने ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा सभामुखले आफ्नो पदीय मर्यादा भुलेर सर्वोच्च गएको बताउँछन् । सभामुख भएर अर्को पार्टीका सांसदमाथि कारबाही हुनुपर्छ भन्दै सर्वोच्च जानुले उनी पार्टी कार्यकर्ताको रूपमा खटिएको पुष्टि हुने उनले आरोप लगाए । ‘सभामुखको भूमिका के हो ? त्यसरी जान मिल्छ ? मविरुद्ध सभामुख नै प्रचारबाजीमा आउनुभयो,’ थापाले भने ।
वरिष्ठ अधिवक्ता हरि सुवेदी अन्तरिम आदेश आएको विषयमा त्यो प्रतिकूल छ भनेर अदालत जाने कानुनी बाटो भए पनि खास सरोकारावाला जानुपर्ने बताउँछन् । उनकै भनाइमा खास सरोकारवाला जनमोर्चा पार्टी हो । ‘जसले कारबाहीको डन्डा चलाएको हो, उही नै प्रत्यक्ष सरोकारवाला हो,’ उनले भने, ‘सभामुख त तटस्थ पद हो, नैतिकताको हिसाबले उहाँ जानु जायज देखिन्न ।’ तर जनमोर्चाभन्दा एक कदम अघि सरेर सभामुख अधिकारी सर्वोच्च पुगेका हुन् ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्तिलगायतका सबै कारबाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको थियो । सांसद थापाको तर्फबाट सर्वोच्च अदालतमा शुक्रबार रिट परेको थियो । उनको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराई र पाटन उच्च बारका पूर्वअध्यक्ष भोजराज आचार्यले बहस गरेका थिए ।
आफूले नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन २०७३ विपरीत कुनै कार्य नगरेकाले पार्टीले आफूलाई गरेको कारबाही बदरभागी रहेको उनले दिएको रिटमा उल्लेख गरेका थिए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने दिन नजिकिएपछि विपक्षी दलले अन्तिम कसरत थालेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री गुरुङले मंगलबार सदनमा विश्वासको मत लिनेबारे जानकारी गराइसकेका छन् ।
२९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनामा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण विश्वासको मत लिन लागेका हुन् । २६ वैशाखमा राजीनामा दिएपछि संविधानको १६८ (२) अनुसार सरकार गठन हुन नसकेपछि प्रदेश प्रमुखले १६८ (३) अनुसार सरकार गठन गरेकी थिइन् । ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा दोहोरिएका थिए ।

महासचिव पाण्डे गृह जिल्लामा सम्मानित

बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

प्रतिक्रिया