विघटनको बाटोमा प्रदेश सभा

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहीबार विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री गुरुङले मंगलबार सदनमा विश्वासको मत लिनेबारे जानकारी गराइसकेका छन् । गत २९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण विश्वासको मत लिन लागेका हुन् । उनले २६ वैशाखमा राजीनामा दिए । तर संविधानको १६८ (२) अनुसार सरकार गठन हुन नसकेपछि प्रदेश प्रमुखले १६८ (३) अनुसार सरकार गठन गरेकी थिइन् । ठूलो दलको नेताको हैसियतमा गुरुङ फेरि मुख्यमन्त्रीमा दोहोरिएका थिए ।
६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ सांसदको साथ आवश्यक पर्छ । सत्तारुढ एमालेमा एक स्वतन्त्रसहित २८ सांसद छन् । एमालेलाई जनमोर्चा सांसद कृष्ण थापाको पनि साथ छ । यद्यपि संसदीय गणित अनुरुप मुख्यमन्त्री गुरुङलाई विश्वासको मत पुग्दैन । अर्कातिर विपक्षी गठबन्धनमा पनि सभामुखसहित ३१ सांसद छन् । सभामुखले मत हाल्न नपाउने भएकाले विपक्षीले पनि सरकार गठन गर्ने सम्भावना न्यून छ । कांग्रेसको १५, माओवादी १२ (सभामुखसहित), जनमोर्चा २ (कृष्ण थापाबाहेक) र जनता समाजवादीका २ सांसद छन् । कृष्ण थापाले साथ नदिने र एमालेका सांसदले ‘फ्लोर क्रस’ नगर्ने हो भने प्रदेश सभा विघटन हुनेछ ।
दुवै पक्ष अल्पमतमा भएपनि आ-आफ्नो सरकार रहने दुवै पक्षको दाबी छ । एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने दाबी गर्छन् । विघटन रोक्न विपक्षीहरुले मुख्यमन्त्री गुरुङलाई साथ दिने उनको दाबी छ । ‘उहाँहरुले बहुमत पुर्याउँछु भन्ने गफ हो, गफ हान्न पाइन्छ । विघटन रोक्न उहाँहरु आफैँले मत हाल्नुहुन्छ,’ अधिकारीले भने ।
केही दिन अघिसम्म जनता समाजवादी पार्टी पनि अहिलेकै सरकारमा जान सक्ने चर्चा थियो । २ सांसद भएको जनता समाजवादीलाई ३ मन्त्रालय दिने गरी सरकारमा जानेबारे प्रदेश कमिटि पनि बैठक चलाएको थियो । तर संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुख्यमन्त्री गुरुङलाई साथ नदिन भनेपछि जनता समाजवादी पनि सरकारमा जाने योजनाबाट पछाडि फर्किएको छ ।
जनता समाजवादी पार्टीका गण्डकी संसदीय दलका नेता हरिशरण आचार्यले आफूहरुको बहुमत पुग्ने र सरकार बन्ने दाबी गर्छन् । ‘भोलि उहाँहरुले कुनै हालतमा विश्वासको मत पाउनुहुन्न, हामी आउँछौं कि भन्ने आशा पनि नराख्दा हुन्छ,’ आचार्यले भने । जनता समाजवादी पनि सरकारमा जान नमानेपछि अब प्रदेश सभा अन्यौलको भूँमरीमा छ । कि त प्रदेशमा अब सर्वदलीय सरकार बन्नुपर्छ कि त विघटनको बाटोमा बढ्नुपर्छ । एमालेले आफूबाहेकको नेतृत्वमा सर्वदलीय सरकार अस्वीकार गरेपछि प्रदेश सभा विघटन हुने संकेत देखिएको हो ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सर्वदलीय सरकार बनाउन पहल थालेका थिए । कांग्रेस र एमालेले एकअर्कालाई स्वीकार नगर्ने भएकाले माओवादीको नेतृत्वमा सरकार बनाउन मध्यमार्गी पहल उनको थियो । तर त्यो पहल पनि असफल भएको छ । ‘अझै त्यसको विकल्प त छ, तर एमालेले मानेनन् । हामी एमालेसँग मिलेर गए हामीले आत्मसमर्पण गरेजस्तो हुन्छ,’ चुमानले भने ।
अब सर्वदलीय सरकार नबनाई आफूहरुले सजिलै बहुमत पुर्याउने चुमानको दाबी छ । आफूहरुको पक्षमा सत्ता पक्षका केही सांसदको साथ भएको उनले संकेत गरे । ‘कृष्ण थापा अब हामीलाई चाहिँदैनन्, हाम्रो ३१ पुग्छ पुग्छ,’ उनले भने । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला कृष्ण थापालाई ह्वीप लाग्ने र नमाने कारबाही गरेर विपक्षीले सरकार बनाउन सक्ने जनमोर्चा सांसद पियारी थापा बताउँछिन् । ‘पछि कृष्ण थापालाई ह्वीप लाग्छ, नमाने कारबाही हुन्छ अनि विपक्षीकै सरकार बन्ने अवस्था आउन कठिन छैन,’ उनले भनिन् ।
विपक्षी गठबन्धनले सत्ता पक्षबाटै ‘फ्लोर क्रस’ हुने दाबी गर्छ । जनता समाजवादी संसदीय दलका नेता हरिशरण आचार्य आफूहरु अल्पमतमा परेको देखिएपनि केही सत्ताकै सांसद आफूहरुतिर आउने बताउँछन् । ‘अहिले अल्पमतमा देखिएका हौं, त्यो दिनसम्म अरुको पनि हामीले पाउन सक्छौं नि,’ आचार्यले भने ।
एमालेमा १ जना माधव नेपाल पक्षधर सांसद छन् । इन्द्रलाल सापकोटा माधव पक्षीय भएकाले भएकाले ‘फ्लोर क्रस’ हुन सक्ने विपक्षीको आशा छ । तर सापकोटा भने आफू संसदीय दलको निर्णयबाट नहट्ने र ‘फ्लोर क्रस’ नगर्ने दाबी गर्छन् । बहुमत पुर्याउन सभामुखको राजीनामा ? कांग्रेस नेतृत्वको गठबन्धनमा ३१ सांसदको साथ छ । ३१ मा सभामुख पनि पर्छन् । तर सरकार गठनका लागि बहुमत दाबी गर्ने बेला सभामुखको मत मान्य हुँदैन । मतदानमा मत बराबर भएमात्र सभामुखले मत हाल्न पाउने व्यवस्था छ ।
यसकारण कृष्ण थापाले साथ नदिए विपक्षीहरु अल्पमतमा पर्ने देखेपछि सभामुखले राजीनामा दिन सक्ने चर्चा चलेको छ । माओवादी संसदीय दलले प्रदेश अध्यक्ष हितराज पाण्डेसँग छलफल गरी केन्द्रीय कमिटीको निर्देशन कुरिरहेको बुझिएको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले छलफल चलिरहेको बताए । सभामुखले राजीनामा दिनुपर्ने स्थिति आए राजीनामाका लागि तयार रहेको चुमानले बताए । ‘सबै विकल्पमा छलफल चलिरहेका छन्, स्थिति आयो भने राजीनामा आउन पनि सक्छ,’ चुमानले भने ।

महासचिव पाण्डे गृह जिल्लामा सम्मानित

बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

प्रतिक्रिया