रौतहटको सगरमाथा अस्पतालबाट तीनजना नक्कली डाक्टर पक्राउ

रौतहट- रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
यमुनामाई गाउँपालिका १ सुकदेव चौकस्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगंज वडा नं ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गापा वडा नं. २ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरूलाई राखी बिरामीहरूको एपेन्डिस, पायल्स, युट्रेसलगायतका अपरेसन हुँदै आएको सूचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उनीहरूलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको एसपी श्रेष्ठले बताएका छन् ।
उनीहरूसँग बिरामीहरूको उपचार गर्न पाउने ईजाजत पत्र माग गर्दा निजहरूसँग उपचार गर्नका लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण पत्र नभएको कारण निजहरूलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत इलाजसम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको एसपी श्रेष्ठले जानकारी दिएका छन् ।
अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास गर्ने कार्य भइरहेको उनले जानकारी दिएका छन् ।
पछिल्लो समय रौतहटमा बिनादर्ता व्यापक रूपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ । नियमनकारी निकायले जिल्लामा सञ्चालित त्यस्ता अस्पतालहरूको अनुगमन नगर्दा सैयौं नागरिकहरूले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन् । रौतहटस्थित सञ्चालित निजी स्वास्थ्य संस्थाहरूको अबिलम्ब अनुगमन गर्न जिल्लावासीले माग गरेका छन् ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया