सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र हो : मन्त्री शर्मा

घोराही - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छिन् ।
नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उनले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई कोही कसैले पनि अवमूल्यन गर्न नमिल्ने बताइन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ थियो । अहिले अस्थिरता चाहनेले विद्यमान व्यवस्थामाथि आलोचना गरे पनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन् ।
मन्त्री शर्माले मुलुकमा व्यवस्था परिवर्तनका लागि भएको लामो द्वन्द्वका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाइ गर्न नहुने बताइन्।
“मुलुकमा शान्ति प्रक्रियाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रक्रियाको काम छ महिनामा टुङ्गो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भइसक्यो, अब शान्ति प्रक्रियाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो सार्थक टुङ्गोमा पुर्याउनुपर्छ, यसका लागि सरकार गम्भीररुपमा लागिपरेको छ”, उनले भनिन्, “सरकारको विशेष प्रक्रियामा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्बाट पारित गर्ने प्रक्रियामै छौँ ।”
उनले बेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै जनआन्दोलनका क्रममा घाइते भएका योद्धाको उपचारको सुनिश्चितासहितको कार्यविधि बनेको बताइन् । माओवादीले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहका रुपमा मनाउँदै आएको छ ।
रासस

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्छ : उपराष्ट्रपति यादव

प्रतिक्रिया