नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

काठमाडौँ- विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उनीसँग आग्रह गरे । अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
विश्व बैंक नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनले बताए । सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उनले जोड दिए ।
'कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ । यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा हामीले गरेका छौँ,' अर्थमन्त्री पुनले भने । सार्वजनिक वित्तका क्षेत्रमा सुधार र खासगरी पुँजीगत खर्च बढाउने गरी आफूले काम गर्ने उनको भनाइ छ ।
विश्व बैंकको लगानीमा निर्माण प्रस्ताव गरिएको महत्वाकांक्षी माथिल्लो अरुण जलविद्युत् आयोजना, प्रदेश तथा स्थानीय सडक पूर्वाधार निर्माण, डिजिटल नेपालसम्बन्धी आयोजनाका काम नेपालले प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री पुनले बताए ।
अर्थमन्त्री पुनसँगको भेटमा देशीय निर्देशक जार्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि ध्यानाकर्षण गराए । विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारे समेत जार्बोसले मन्त्री पुनलाई अवगत गराए ।
उनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठकको तयारीबारे पनि मन्त्री पुनलाई जानकारी गराए । आइडीएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ ।

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

प्रतिक्रिया