आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

एन्फालाई कारवाही गर्न खेलकुद मन्त्रालयले राखेपलाई दियो निर्देशन

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कानून बमोजिम कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद्‍ (राखेप) लाई निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनका लागि एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम स्वीकृति नलिएको भन्दै मन्त्रालयले एन्फाविरुद्धको कानूनी कारवाही अघि बढाउन राखेपलाई निर्देशन दिएको हो ।

मन्त्रालयले कानून बमोजिम राखेपको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलनमा भाग लिनका लागि वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गरिएको समेत जनाएको छ ।   

मन्त्रालयका प्रवक्ता तथा सह-सचिव शिव प्रसाद रेग्मीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बहराइनमा हुने फिफा विश्वकप २०२६ का लागि छनोट खेल्न बहराइन जान लागेको टिममा १० जना अनावश्यक व्यक्ति समेत सहभागी हुन लागेको समाचार आएपछि मन्त्रालयले कारवाहीको प्रकृया अघि बढाएको हो ।

साथै त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा गैर फुटबल गतिविधि संचालनका लागि एन्फाले राखेपलाई पत्राचार गरेको विषयप्रति पनि मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।