इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने

ब्रसेल्स - युरोपेली संघ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको अल जजिराले बताएको छ । यो इयुले सञ्चालन गरेको सहायता कोषको सुधारको भाग हो ।
युक्रेनको सेना रुसको आक्रमणविरुद्ध लडिरहेकाले युक्रेनलाई सैन्य सहयोग गर्ने कदममा इयुले युक्रेनलाई विजयी बनाउन हरसम्भव सहयोग गर्ने बताएको छ । इयुका विदेश मामिला तथा सुरक्षा नीतिका वरिष्ठ प्रतिनिधि जोसेप बोरेलले भने, “हामी युक्रेन असिस्टेन्स फन्डमा सहमत भएका छौँ, यो फन्डले युक्रेनलाई थप पाँच अर्ब युरोसँगै सैन्य समर्थन बढाउन हामीलाई अनुमति दिन्छ, सन्देश स्पष्ट छ : हामी युक्रेनलाई हरसम्भव सहयोग गर्नेछौँ ।”
अल जजिराका अनुसार इयुका २७ सदस्य मुलुकका राजदूतहरूले महिनौँको तर्कवितर्कपछि बुधबार ब्रसेल्समा भएको एक बैठकमा युरोपेली शान्ति सुविधा (इपिएफ) कोषको समग्र सुधारमा सहमति व्यक्त गरेका छन् । यसमा इयुका ठूला मुलुक फ्रान्स र जर्मनी बहसको केन्द्रमा थिए ।
ठूलो नगद–फिर्ता योजनाका रूपमा सञ्चालित उक्त कोषले इयुका सदस्य र अन्य मुलुकमा युद्ध सामग्री पठाउन ‘रिफन्ड’ दिनेछ । युरोपेली रक्षा उद्योगहरूको बलियो प्रवर्द्धक फ्रान्सले ‘रिफन्ड’ का लागि सक्षम हतियार खरिद गर्दा बलियो ‘युरोपेली खरिद गर्नुहोस्’ नीतिमा जोड दिएको थियो । यद्यपि अल जजिराका अनुसार अन्य मुलुकले यस्तो प्रकारको आवश्यकताले विश्वभरबाट युक्रेनका लागि चाँडै हतियार खरिद गर्ने प्रयासमा अवरोध गर्ने तर्क दिएका छन् ।
जर्मनी अहिलेसम्म युरोपमा युक्रेनलाई सैन्य सहायता दिने सबैभन्दा ठूलो द्विपक्षीय दाता रहेको छ र उसले कोषमा मुलुकहरूको वित्तीय योगदानको आकार निर्धारण गर्दा द्विपक्षीय सहयोगलाई ध्यानमा राख्नुपर्ने बताएको छ । अन्ततः ‘युरोपेली खरिद’ नियमहरूमा खुकुलोपनलाई अनुमति दिएर सदस्यहरूको वित्तीय योगदानको गणना गर्दा द्विपक्षीय सहायताको मूल्यको अंशलाई ध्यानमा राखेर सम्झौता भएको कूटनीतिज्ञहरूले बताएका छन् ।
“यो हाम्रो साझा विजय हासिल गर्न युरोपेली एकता र दृढ सङ्कल्पको अर्को शक्तिशाली र समयसापेक्ष प्रदर्शन हो”, युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भने, “हामी अर्को इयु विदेश मामिलाको परिषद् बैठकमा स्वीकृत हुने अन्तिम निर्णयको प्रतीक्षामा छौँ ।”
रासस

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया