अनलाइन कक्षा : विद्यार्थीले शिक्षिकालाई अश्लील म्यासेज पठाएपछि...

काठमाडौं : कक्षा चारमा पढिरहेका रेवन राईले अनलाइन कक्षा लिन थालेको पाँच महिना भयो । कोभिड-१९ ले स्कुलहरू बन्द भएसँगै उनी अध्ययनरत स्कुलले ‘अनलाइन क्लास’ लिने निर्णय गरको थियो । काठमाडौँ, धुम्बाराहीमा रेवन आफ्नी आमा अनिमासँग बस्छन् । अनिमा सरकारी जागिरे हुन् । छोरालाई दिनभरी सासु-ससुरासँग छाडेर उनी अफिस जान्छिन् । उनका श्रीमान् एक गैरसरकारी संस्थामा काम गर्ने भएकाले परिवारसँग खासै बस्न पाउँदैनन् ।
अनिमा छोराले अनलाइन कक्षाबाट पढिरहेकोमा खुसी थिइन् । अनलाइन कक्षा पढ्न उनले छोरालाई ल्यापटप पनि किनिदिएकी थिइन् । ‘अलि ठूलो भएपछि किनिदिन्छु भन्ने सोचेको थिएँ,’ उनले भनिन्, ‘अनलाइन कक्षा हुने भएपछि जहिले किने पनि किन्दिनु परिहाल्छ भनेर किनिदिएँ ।’
ल्यापटप किनेपछि रेवनले फेसबुक खोले । स्कुल जान नपाए पनि साथीहरूको न्यास्रो फेसबुकमा कुरा गरेर मेटोस् भनेर अनिमाले केही भनिनन् । उनले आफ्ना मनपर्ने साथीदेखि स्कुलका सर मिस सबैलाई साथी बनाए । छोराले अनलाइन कक्षाको नाममा इन्टरनेटको दुरुपयोग नगर्नेमा ढुक्क थिइन्, अनिमा । आफूभन्दा टेक्नोलोजीमा छोराले धेरैकुरा जानेको हुनाले यसको सदुपयोग र दुरुपयोगको बारेमा सम्झाउने आवश्यकता उनले ठानिनन् । एकदिन बिहानै रेवनकी एक जना मिस रेवनलाई खोज्दै आइन् । उनले मोबाइलको म्यासेज रेवनकी आमा अनिमालाई देखाउँदै भनिन्- ‘यो मलाई तपाइँको छोराले पठाएको म्यासेज हो ।’
त्यतिबेला अनिमा तीन छक परिन् । रेवनले उनकी मिसलाई अस्लिल फोटो र भिडियो पठाएका थिए । अनिमाले तुरुन्तै रेवनलाई बोलाएर उसको मोबाइल चेक गरिन् । तर, यताबाट सबै म्यासेज डिलिट गरिसकिएको उनले पाइन् । ‘मिसले ‘यो म्यासेज लिएर म तपाइँको छोरा कुन बाटोतिर लागिरहेको छ भनेर देखाउन आएको’ भन्नुभयो,’ अनिमाले भनिन्, ‘म त रातोपिरो भएँ । धन्न मिस प्रहरीकहाँ पुग्नु भएन । त्यो दिनदेखि मैले ल्यापटप नै खोसेर राखिदिएको छु ।’
केन्द्रीय साइबर ब्यूरोका एसपी पशुपति रायले पछिल्लो समय १६ वर्षभन्दा कम उमेरका बालिकालिकाहरू साइबर अपराधमा संलग्न भएको बताए । अनलाइन कक्षाको नाममा धेरैले इन्टरनेटको दुरुपयोग गरिरहेको घटना आएकाले उनले सम्पूर्ण अभिभावकलाई सतर्क रहन सुझाव दिए । ‘आफ्ना बालबालिकाले साच्चै पढिरहेका छन् कि अन्य क्रियाकलापमा संलग्न भइरहेका छन् ध्यान पुर्याउनुपर्छ,’ उनले भने, ‘अनलाइन कक्षामा डिस्टर्ब हुन्छ भनेर उनीहरूलाई कोठामा चुकुल लगाएर बस्ने दिने मात्रै होइन । उनीहरूले गर्ने क्रियाकलापमा पनि बेला-बेला निगरानी गर्नुपर्छ ।’
उनीहरू अनावश्यक साइटमा जान नपाउन् भन्नका लागि विभिन्न उपाय अपनाउन सकिने उनले बताए । त्यसको लागि ‘सेफ नेट’ राख्न उनले सुझाए । ‘सेफ नेटले बालबालिकालाई अनावश्यक साइटमा जान दिदैन,’ उनले भने, ‘बालबालिकाले कोसँग कस्तो कुराकानी गरिरहेका छन् भनेर उनीहरूको एक्टिभिटी लग र च्याट हिस्ट्री बेला-बेलामा चेक गर्नुपर्छ ।’
त्यस्तै, अभिभावकहरू बालबालिकासँग खुलेर प्रस्तुत हुनेपर्ने समेत उनले बताए । ‘कतिपय अभिभावकहरू आफू मोबाइल र ल्यापटपमा अनेकथरी पासवर्ड राखेर बालबालिकासँग पारदर्शी हुँदैनन्,’ उनले भने, ‘तर, बालकालिका परदर्शी होऊन् भन्ने चाहन्छन् । तर, ठूलाको सिको गरेर बालकालिकाहरू पनि नचाहिने कुरामा पनि गोपनियता कायम गर्न थाल्छन् ।’
अनलाइन कक्षा हुन थालेपछि धेरै बालबालिकाहरू साइबरसम्बन्धि झमेलामा फसेर प्रहरी चौकी धाइरहनुपर्ने अवस्था आएको एसपी रायले बताए । ‘आफ्ना छोराछोरी साइबर अपराधमा फसेर प्रहरीकोमा आउनुभन्दा पहिला नै अभिभावकले ध्यान पुर्याउनुपर्छ,’ उनले भने, ‘साइबर अपराधमा कानुन कडा हुँदै गइरहेको छ । पहिला जस्तो धरौटीमा कमै बालबालिका छुट्छन् । गल्ती गरेको बालकालिकालाई सिधै सुधार गृह पठाउने गरिएको छ ।’
मनोविद् करुणा कुँवरले पनि अनलाइनमार्फत् बालबालिकाहरू जानी नजानी अपराधिक क्रियाकलापमा लागिरहेको बताइन् । अनलाइन कक्षाको नाममा अनलाइनको दुरुपयोग बढिरहेको जानकारी उनले दिइन् । ‘अनलाइन कक्षाको नाममा सोसल मिडियाका ‘एडिक्सन पनि एकदमै बढ्दै गइरहेको छ,’ उनले भनिन्, ‘समाजिक सञ्जाल के हो भन्ने थाहा नहुनले लाइक र कमेन्टको लोभमा जस्तो पनि फोटो र भिडियोहरू अपलोड गरिरहेका छन् । पछिल्लो समय निकिशा श्रेष्ठको घटनामो भएको पनि यहि हो ।’
मनोविद कुँवरकहाँ अहिले एकजना बालिका काउन्सिलिङको लागि आएकी छिन् । जोे १६ वर्षसमेत पुगेकी छैनन् । अनलाइनबाटै उनको एकजना अनजान युवकसँग अफेयर चल्यो । परिवारले थाहा पाएपछि उनलाई मोबाइल र ल्यापटपबाट टाढा राखिएको छ ।
मोबाइल र ल्यापटपबाट टाढा राख्दा डिप्रेस्ड हुँदै गएपछि उनलाई कुँवरकहाँ ल्याइएको हो । ‘आफ्नो कुरा कसैले नबुझ्ने भन्दै उनले आफूलाई आत्महत्याको समेत सोच आएको उनले बताएकी छिन्, कुँवरले भनिन्, ‘एउटा अध्ययनले दिनमा छ घण्टा ग्याजेटमा बिताउनेहरूमा डिप्रेसनको समस्या देखिने बताएको छ । तर, हाम्रा बालबालिकाहरू अनलाइन कक्षाको बाहनामा ८ देखि १० घण्टा ग्याजेटसँग बिताइरहेका हुन्छन् । त्यसमाथि त्यसले निम्त्याउने अपराधका घटना त छदैछ ।’
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले जब कुनै कुराको अनावश्यक प्रयोग हुन थाल्छ त्यसले दुरुपयोग र दुर्घटना निम्त्याउने बताए । बालबालिकाहरूले जिज्ञासाबस इन्टरनेटको दुरुपयोग गरेको हुन सक्ने पनि उनको बुझाइ छ । ‘बालबालिकाको उमेर नै जिज्ञासु हुन्छ,’ उनले भने, ‘जिज्ञासाबस उनीहरू विभिन्न साइटमा जान सक्छन् । उनीहरूको जिज्ञासालाई शान्त गर्ने काम शिक्षक र अभिभावकको हो ।’
इन्टरनेटका कारण धेरैजसो यौनजन्य कुरामा अपराध हुने उनले बताए । ‘कुनै बालबालिकाले नाङ्गो तस्विर देख्यो भने त्यसमा पहाड खस्ने कुरा केही छैन,’ उनले भने, ‘त्यसलाई पढ्ने सामग्रीको रुपमा कसरी देखाउन प्रस्तुत गर्न सकिन्छ सिकाउनुपर्छ । किनभने, भोलि मेडिकल डाक्टर पढ्दा पढ्ने कुरा त्यही हो । यसलाई सिकाइको रुपमा लिनुपर्छ ।’
बालबालिकालाई के आवश्यक र के अनावश्यक छुट्याउन सिकाउनुपर्ने उनले बताए । ‘बालबालिका अबोध हुन्छन् । उनीहरूलाई के सहि, के गलत सिकाउनुपर्छ । जो पायो त्यही मानिसहरूसँग सामाजिक सञ्जालमा बोल्न दिनु हुँदैन, जोडिन दिनु हुँदैन ।’
काठमाडौँ, काँडाघारीस्थित अक्षर स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले सबैभन्दा पहिला अभिभावक र बालबालिकालाई साइबर अपराधको बारेमा सम्बन्धित विद्यालयले सचेत गराउनुपर्ने बताइन् । ‘कक्षाको समयभन्दा बढी समय मोबाइल र ल्यापटपमा बिताउन थालेको थाहा पाउँनासाथ उनीहरूलाई घरको काममा सहभागी गराउनुपर्छ,’ उनले भनिन्, ‘प्रत्येक दिनको होम रुटिन बनाइदिनुपर्छ । मोबाइल र ल्यापटपबाट मात्रै सिकाइ हुन सक्छ भन्ने कुरालाई दिमागबाट हटाउनुपर्छ ।’
अभिभावक र बालबालिकाबीच सञ्चार नहुँदा पनि यस्ता समस्या देखिने उनले बताइन् । ‘धेरै बालबालिकाहरू आफ्ना अभिभावकसँग कुरा राख्न सक्दैनन्,’ उनले भनिन्, ‘कतिपय अवस्थामा आफ्ना कुरा राख्दा अभिभावकहरू उल्टै जाइ लागेर गाली गर्छन् । जसकारण बालबालिकाहरू अभिभावकसमक्ष आफ्ना जिज्ञासा र समस्या राख्न सक्दैनन् ।’ बालबालिकासँग सधैँ राम्रासँगै समाजमा हुने गरेका नराम्रा विषयवस्तुको बारेमा पनि चर्चा गरिरहनुपर्ने उनले बताइन् । ‘समाजमा घटेका नराम्रा कुराले बालबालिकालाई आफ्ना कदमहरूमा सतर्क हुन सिकाउँछ,’ उनले भनिन् ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया