काठमाडौँका पेट्रोल पम्पमा छैन अपांगमैत्री शौचालय, पाँच मिनेट पनि बस्न सक्दैनन् प्रयोगकर्ता
महानगरको निर्देशन : दुई वटा शौचालय अनिवार्य बनाउनू र निरन्तर सफा राख्नू

काठमाडौँ- रिङ्गरोड धोबीखोलाको किनारमा रहेको राजधानी पेट्रोल पम्पमा शारीरिक रूपमा अशक्त (रिना खत्री) नाम परिवर्तन पुगिन् । उनको स्कुटरमा पम्पका कर्मचारीले दुई लिटर पेट्रोल हालिदिए ।
पेट्रोल भरिसकेपछि रिनाले पम्पको छेउमा स्कुटर साइड लगाइन् । बिस्तारै स्कुटरबाट झरिन् र तेल हाल्ने कर्मचारीलाई शौचालय कहाँ छ भनेर सोधिन् । उनले हातको इशाराले शौचालय देखाइदिए । शौचालय पम्पको बायाँतर्फ कुनामा छ । तर, उनी शौचालय र आफ्नो अवस्था देखेर गइनन् । उनी स्कुटरतर्फ फर्केर आफ्नो गन्तव्यतर्फ नै लगिन् ।
'हामीलाई शौच गर्न गाह्रो हुन्छ । यस्तोमा शौच गर्न असम्भव छ,' उनले भनिन्, 'शौचालयमा महिला र पुरुष भनेर नछुट्याएकोमा महिलामैत्री समेत छैन ।'
सञ्जिव शर्मा त्रिपुरेश्वरको मायाराम भोलाराम पेट्रोल पम्पमा मोटरसाइकल लिएर पुगे । तीन लिटर पेट्रोल मोटरसाइकलमा हाले । पेट्रोलको पैसा तिरे र शौचालयतर्फ लागे ।
शौचालय उनले सोचेजस्तो पाएनन् । 'पाँच मिनेटका लागि शौचालय गएको थिएँ । 'शौचालयबाट आएको दुर्गन्धले कतिखेर बाहिर निस्कौँ जस्तो भयो,' उनले इकागजसँग भने ।
सार्वजनिक शौचालयको बोर्ड पम्पमा राखिए पनि भनेजस्तो सफा नपाउँदा आफू निराश हुनुपरेको उनले बताए । सार्वजनिक स्थानसँग सरोकार राख्ने शौचालय सफा राख्नु पर्ने उनको भनाइ छ ।
'शौचालयमा पानी पर्याप्त थिएन,' उनले भने, 'एकदमै फोहोर छ । केही क्षण बस्न सक्ने अवस्था पनि छैन ।'
काठमाडौँ महानगरपालिकाले गत पुसको दोस्रो साता पेट्रोल पम्पमा शौचालय अनिवार्य बनाउन निर्देशन दिएको थियो । महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलसहित बसेको बैठकले ४५ दिनभित्र शौचालय सञ्चालनमा ल्याउनु पर्ने निर्णय गरेको थियो ।
महानगरका प्रहरीसहितको टोलीले महानगरमा प्रतिवेदन पनि बुझाइसकेको छ । धेरै शौचालय अव्यवस्थित र फोहोर रहेको, अपाङ्गमैत्री नभएको र टायलसहित हुनुपर्ने तर सिमेन्ट गरेका शौचालय रहेको तथा पम्पहरूमा पहेँलो रंग लगाउनु पर्ने निर्णयहरू महानगरमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।
सोही अनुरूप काठमाडौँ महानगरभित्रका पेट्रोल पम्पहरूले शौचालय निर्माणदेखि रंगरोगन पनि गरे । केही पम्प सञ्चालकहरूले सेवाग्राहीका लागि शौचालयसमेत प्रयोगमा ल्याइसकेका छन् । तर, महानगरभित्र रहेका अधिकांश पेट्रोल पम्पका शौचालयहरू प्रतिवेदनमा भनिएजस्तो अपाङ्गमैत्री नरहेको पाइएको छ । पम्प सञ्चालकहरूले पनि शौचालयको सरसफाइमा खासै ध्यान नदिएको पाइयो ।
महानगरमा प्रतिवेदन बुझाइसकेको थाहा पाएपछि इकागज प्रतिनिधिले मुख्य-मुख्य स्थानको पेट्रोल पम्पको शौचालयको अवलोकन गर्यो । प्रतिनिधिले तीनकुनेदेखि त्रिपुरेश्वर, सुकेधारा र नेपाल प्रहरीको पम्प लगायत अन्य स्थानका शौचालय भ्रमण गरेका थिए ।
शौचालयमा प्रतिवेदनमा हुनुपर्ने जस्तो कुनै पनि सामग्री राखिएको पाइएन । शौचालयमा हात धुने साबुन, सरसफाइका अन्य सामग्री र अपाङ्गमैत्री नभएको तथा दुई वटा शौचालय नभएको पाइएको छ ।
तीनकुनेस्थित भ्याली बाबा सप्लायर्स पम्पका सञ्चालक राजकुमार शाहले शौचालय सफा गरेर राखिएको बताए । शौचालयमा २४ घण्टा पानीको उपलब्धता हुने व्यवस्था मिलाइएको पनि उनले बताए ।
'शौचालयमा चाबी लगाएर राखिएको छ । आवश्यक पर्दा सेवाग्राहीहरू चाबी लिएर जान सक्छन्,' उनले भने, 'हाम्रोमा २ वटा शौचालय बनाइएको छ । सबैले प्रयोग गर्न सक्छन् । तर, अपाङ्गमैत्री शौचालय भने बनाइएको छैन ।'
पम्पमा अहिलेसम्म शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरू नआएको उनले बताए । 'आवश्यक परेमा हामी अपाङ्गमैत्री शौचालय पनि बनाउँछौं,' उनले अगाडि थपे, 'हामीलाई महानगरले दुई वटा शौचालय बनाउनु भनेको थियो । बनाइसकेका छौं ।'
महानगरले शौचालय सफा राख्नका लागि आग्रह समेत गरेको सञ्चालक शाहले उल्लेख गरे । शौचालय सफा राख्न सामग्री उपलब्ध गराउन माग गरिएको उनले जानकारी दिए । काठमाडौँमा अहिले पानीको आपूर्ति हुन्छ तर सुख्खायाममा हामीलाई पानी उपलब्ध गराउनु पर्ने माग राखेको उनले सुनाए ।
काठमाडौँ महानगरका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पेट्रोल पम्प सञ्चालकलाई दुई वटा शौचालय बनाउन निर्देशन दिएको बताए । महानगरभित्र पम्पमा अपाङ्गमैत्री शौचालय नभएकाले बनाउन आग्रह गरिएको उनको भनाइ छ ।
'केही स्थानमा शौचालय निर्माण हुँदैछन्,' उनले भने, 'निर्माण हुँदै गरेकालाई अपाङ्गमैत्री बनाउन र सफासुग्घरसँग राख्न भनिएको छ । सबै पम्पलाई देखिने स्थानमा शौचालय राख्न लगाइन्छ ।'
शौचालय महानगरले निर्देशित गरेकै आधारमा बन्नुपर्ने उनको भनाइ छ । 'सबैले देख्ने ठाउँमा अनिवार्य दुई वटा शौचालय बन्नुपर्नेछ,' उनले अगाडि थपे, 'टायलसहितको बनाउनुपर्छ र पानीको उपलब्धता हुनैपर्छ । सिमेन्ट पलाष्टर गरेको हुनु हुँदैन ।'
दुई वटा शौचालय नबनाएकाले अनिवार्य दुई वटा बनाउन लगाउने उनले बताए । चावहिलस्थित मित्र पार्कको पुष्पाञ्जली पम्पको शौचालय गल्लीभित्र भएकाले त्यसलाई बाहिर बनाउन लगाइएको उपरीक्षक जोशीले जानकारी दिए ।
महानगरले भने जस्तै शौचालय र पेट्रोल पम्पलाई रंगरोगन गर्न लगाइएको उनले बताए । महानगरभित्रका तीन वटा मात्र शौचालयमा रंग लगाउन बाँकी रहेको उनको भनाइ छ ।
उनका अनुसार नेपाल प्रहरीको नक्सालस्थित र सामाखुसीमा बाँकी छ । बल्खुको साझा पेट्रोल पम्पमा पहेँलो रंग लगाउन बाँकी रहेको उनले जानकारी दिए । महानगरपालिकामा कुल ५० वटा पेट्रोल पम्प रहेका छन् । हाल ४८ वटा पम्प मात्र सञ्चालनमा छन् ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया