मंगलबार १६ बैशाख, २०८२
Tuesday, April 29, 2025

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक सार्वजनिक

काठमाडौँ- कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहिबार आफ्नो वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक एकै साथ सार्वजनिक गरेको हो ।

बैंकिङ्ग सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवर्द्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै भिडियो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ्ग सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ । बैंकले भिडियो श्रृंखला र पुस्तक मार्फत बैंकिङ्ग सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, बैंकिङ्ग सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रित गरेको छ ।

उक्त भिडियो श्रृंखला र पुस्तक शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरूलाई पनि ठूलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरूले लाभ उठाउन सक्ने देखिन्छ ।  

भिडियो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिव शंकर रिजाल लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ भने उनीहरूको संलग्नताले ‘वित्तीय साक्षरता अभियान’ रचनात्मक बनाएको छ ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन कुमारी बैंकले सो कदम चलेको हो भनेर बताएका थिए । यस पुस्तक र भिडियो श्रृंखलाले व्यक्तिहरूलाई, विशेष गरी नवउद्यमीहरू, साना व्यवसायी आदिलाई शिक्षित र सशक्तीकरण गर्न टेवा पुर्याउने छ भन्ने उनको आशय थियो । उनले यो भिडियो श्रृंखला र पुस्तक कुमारी बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक  हुने कुरा पनि उल्लेख गरे । 

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाइहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।