माओवादी नेताका छोराहरू किन ‘तस्कर’ बने ?

नेपाली राजनीतिमा यतिबेला जबरजस्त एउटा भाष्य निर्माण हुँदै गएको छ, माओवादी नेताहरु आफ्ना छोराहरूलाई तस्कर बनाउन चाहन्छन् । हुन पनि घटनाक्रमलाई केलाएर हेर्दा त्यस्तै देखिन्छ । यो भनाई पछिल्लो समय केही हदसम्म पुष्टि पनि हुँदै गएको पाइन्छ ।
हुन त ‘बा’हरु इमान्दार भए पो छोराहरू इमान्दार बन्थे ! छोराहरूले घरबाट (‘बा’हरुबाट) जस्तो संस्कार सिके उनीहरू पनि त्यस्तै सँस्कारमा अभ्यस्त हुन थाले । दस वर्षे जनयुद्धमा माओवादी नेताहरु इमान्दार थिए, उनीहरूमा कुनै व्यक्तिगत स्वार्थ थिएन । तर २०६३ सालमा शान्ति प्रकृयामा आएपछि माओवादीहरू अन्तरिम सरकारमा गए र सत्ताको स्वाद पहिलो पटक चाखे । जनयुद्धबाट सहरमा बस्न बानी परेपछि माओवादीका केही नेता र उनीहरुका छोराहरू अवैध रक्त चन्दन कारोबारमा संलग्न भए । केहीले त्यही कारोबारबाट उतिबेलै घर–घडेरी पनि जोडे । एकातिर माओवादीका नेताहरु ‘अव हामी सच्चिन्छौँ, बिग्रिएका छौँ’ भन्दै गरे अर्कातिर आफ्नो संरक्षणमा तस्करी गर्न छोराहरूलाई मार्ग प्रशस्त गर्दै गए । त्यहीँ मार्गमा हिँड्ने क्रममा माओवादी पार्टीबाट मन्त्री भइसकेका नेताहरु (बाउ–छोरासहित) धमाधम पक्राउ पर्दै छन् । केहीको त कारागारकै बास छ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएपछि उनी सोमबार पक्राउ परेका छन् । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र चिनियाँ व्यापारीसँगको मिलेमतोमा गैरकानुनी ढंगले सुन तस्करीमा संलग्न रहेको समाचार बाहिरिएको छ । त्यसैगरी अर्का छोरा दीपेश पुन सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको नियन्त्रणमा छन् । उनीहरूकै आडमा उच्चपदस्थ केही नेताका छोरा विभिन्न गैरकानुनी कारोबारमा सक्रिय रहेको पनि खुलिरहेको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर धरौटीमा छन् । टोपबहादुर आफैं पुर्पक्षमा छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक नक्कली शरणार्थी प्रकरणमा तानिने सुइँको पाए लगत्तै फरार छन् ।
क्रान्तिकारी परिवर्तनको नारासहित सशस्त्र द्वन्द्व हाँकेर आएका नेता र उनीहरुका सन्तान नै यसरी अवैध कारोबारमा जोडिनु उदेकलाग्दो छ । पदीय हैसियत दुरुपयोग गरेर गैरकानुनी धन्दामा जोडिएका कसैलाई उन्मुक्ति दिइनु हुँदैन । कानुन सबैलाई बराबर हुन्छ । पूर्व उपराष्ट्रपति पुनले पनि आफूतिर सोझिएका प्रश्नको जवाफ छानबिन र अनुसन्धानमा सघाएर दिनुपर्छ ।

स्ववियु र विद्यार्थी आन्दोलनको मार्ग: इतिहास र भविष्यको अवलोकन

राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ

जरुर उठ्छ-उठ्नुपर्छ माओवादी आन्दोलन

सांसदले जनताको विश्वास जित्न काम गरेर देखाउनुपर्छ

संघीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

‘नेपालमा वैदेशिक रोजगारको वृद्धिदर र यसको प्रभाव’

श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ?

प्रतिक्रिया