शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

प्रकाशशरण महतले अघि बढाएका राम्रा काम रोक्दिनँ : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् । 

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फेरिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताए । महतले संसदमा प्रस्तुत गरेको आगामी बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उनको भनाइ थियो । 

‘मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन । राज्यको नीतिमा स्थायित्व चाहिन्छ,’ पुनले भने, ‘कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको हो । तर, मैले त्यसो गर्नु उपयुक्त ठानिनँ ।’ 

सिद्धान्त र प्राथमिकताबारे संघीय संसदका दुवै सदनमा सांसदले हरेक प्रश्नको जवाफ दिएको र जस्ताको तस्तै पारित भएको स्मरण मन्त्री पुनले गरे । आगामी १६ र १७ वैशाखमा निर्धारण गरिएको तेस्रो लगानी सम्मेलन र असारमा काठमाडौँमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडा) बैठक तोकिएकै समयमा हुने जानकारी पनि उनले दिए । मन्त्री पुनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंक मुख्यालयसम्म पुर्‍याइदिन आग्रह गरे । 

फरक प्रसंगमा मन्त्री पुनले एमसीए नेपालमार्फत हाल सञ्चालित आयोजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता जनाए । त्यस क्रममा मन्त्री पुनले नेपाल पुँजीगत खर्च बढाउन प्रयासरत रहेको बताए । बिहीबारसम्म चालु आर्थिक वर्षको ३० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गर्दै अर्थमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुँजीगत खर्च बढाउन मन्त्रीहरू र प्रशासनिक नेतृत्वलाई निर्देशन दिएको जानकारी दिए । 

‘प्रधानमन्त्रीले स्पष्ट रूपमा हामी सबै मन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ,’ मन्त्री पुनले भने, ‘मैले पनि सम्बद्ध एजेन्सीहरूलाई भनेको छु कि तपाईंहरू पुँजीगत खर्च बढाउनुस् । स्रोत नपुगे मलाई भन्नुस् ।’

आगामी सन् २०२६ भित्र नेपालले संयुक्त राष्ट्रसंघले आह्वान गरेको सहस्राब्दी विकास लक्ष्यअनुसार मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति हुने विश्वास दिलाए । त्यसका लागि आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्नुका साथै कानूनी सुधार र लगानीका नयाँ ढोकाहरू खोल्न क्रियाशील रहेको मन्त्री पुनको भनाइ थियो । 

पुनले नेपालको आन्तरिक स्रोतले मात्र विकासमा फड्को मार्न नसकिने भएकाले आफूहरूको जोड सहुलीयतपूर्ण कर्जामा रहेको स्पष्ट गरे । ‘हाम्रो जोड कन्सिसनल स्रोतमै हो,’ पुनले भने । फरक प्रसंगमा मन्त्री पुनले गेमचेन्जर आयोजनाका रूपमा रहेको १२ सय मेगावाटको जलासययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना आन्तरिक स्रोतबाटै निर्माण गर्ने तयारी अघि बढाएको जनाए ।
 
जवाफमा नेपालको विकास प्रयासमा विश्व बैंकले वितगदेखि नै सहायता गर्दै आएको उल्लेख गर्दै सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए । माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजना र दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंक र एसियाली विकास बैंकले लगानीको प्रतिबद्धता जनाएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापन टुंग्याउने गरी काम अघि बढाउनुपर्नेमा जोड दिए ।

बुढी गण्डकीका सिईयोले लिए सपथ, परिणाममुखी काम गर्न उर्जा मन्त्रीको निर्देशन

बुढी गण्डकीका सिईयोले लिए सपथ, परिणाममुखी काम गर्न उर्जा मन्त्रीको निर्देशन

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवा…

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन

अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गर्नुपर्छः मन्त्री गुरुङ्ग

अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गर्नुपर्छः मन्त्री गुरु…

यस्ता छन् मन्त्रिपरिषद्का निणर्यहरू

यस्ता छन् मन्त्रिपरिषद्का निणर्यहरू

उच्चस्तरीय विषयगत राउण्ड टेबलमा प्रधानमन्त्रीको सम्बोधन

उच्चस्तरीय विषयगत राउण्ड टेबलमा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता