नगर स्वयंसेवक : सत्तलमा सुकुल ओछ्याएर स्वयंसेवक तालिम सुरु
चार दिनको तालिम सहरका चार सम्पदा स्थलमा

काठमाडौँ- काठमाडौँको टेकु, पचली भैरवसँगैको तीन देवल (बमबिकटेश्वर मन्दिर परिसर) मा आजदेखि नगर स्वयंसेवकको तालिम सुरु भएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक तथा पुरातत्व अध्ययन केन्द्र (कार्क) सँगको सहकार्यमा स्वयंसेवक कार्यक्रम अगाडि बढाएको हो ।
महानगरपालिकाले सम्युवा (सम्पदामा युवा र बालबालिका) र वाबा (वातावरण र बालबालिका) सञ्चालन गर्दैछ । यस कार्यक्रमका लागि गएको महिना सार्वजनिक सूचनामार्फत आवेदन माग गरिएको थियो ।
आवेदकले आफू स्वयंसेवक बन्नु पर्ने कारण के हो, भन्ने विषयमा धारणा लेखेर गुगल लिङ्कमार्फत पठाएका थिए । फागुन २० गते राति ११ बजेर ५९ मिनेट प्राप्त आवेदनमा प्राप्त धारणा र व्यक्तिगत विवरण (बायोडाटा) मूल्याङ्कन गरेर सर्टलिष्ट तयार पारिएको थियो । यसपछि अन्तर्वार्ता लिँदा समय दिन सक्ने अवस्थामा जानकारी लिएर यसैलाई छनोटको मुख्य आधार बनाइएको थियो ।
कार्यक्रममा सहभागी हुन ४३७ जनाबाट आवेदन प्राप्त भएको थियो । यसको सर्टलिष्टमा २४७ जना छानिए । उनीहरूमध्ये अन्तर्वार्तामा १६५ जना उपस्थित भएका थिए । उनीहरूसँग लिइएको अन्तर्वार्ताबाट ४५ जना सम्युवा कार्यक्रमका लागि र १ सय जना वाबा कार्यक्रमका लागि छानिएका छन् । यस्तै दुवै समूहमा रहेर काम गर्न इच्छा राख्ने र समय दिन सक्ने ५ जनालाई दुवै समूहमा रहेर काम गर्नका लागि छनोट गरिएको विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिएकी छन् ।
‘तालिमपछि स्वयंसेवकहरूलाई जात्रा पर्व सञ्चालनका समयमा खटाइनेछ । मूर्त अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन गर्न लगाइनेछ । यस्तै समुदाय र विद्यालयमा गएर सम्पदाका अन्तर वस्तुका विषय, यसले मौलिकता र सामाजिक व्यवस्थापनमा राख्ने सम्बन्धका विषयमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न लगाइनेछ,’ राईले भनिन् ।
‘स्वयंसेवकहरूको परिचालनबाट सम्पदाको अवस्थाका विषयमा जानकारी प्राप्त हुनेछ । यी सूचनाबाट सम्पदाको संरक्षण र प्रवर्द्धनको योजना निर्माणमा सघाउ पुग्नेछ,’ वडा नं. १२ का सदस्य पुष्प प्रजापतिले धारणा राखे ।
आज सुरु भएको तालिम सम्युवा समूहको हो । दोस्रो दिन (भोलि) नरदेवीमा तालिम हुनेछ । ४ दिनको तालिममध्ये तेस्रो दिनको तालिम आउँदो हप्ताको शुक्रबाट पशुपति क्षेत्र र चौथो दिनको तालिम त्यसै हप्ताको शनिवार हाँडीगाउँमा हुने, केन्द्रका अध्यक्ष सुदर्शन अर्यालले जानकारी दिए । यो २४ हप्ताका लागि हो । स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ ।
वाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रित छ । सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ । निर्धारित समयको ६० प्रतिशत समय दिन सक्ने स्वयंसेवकलाई प्रमाण पत्र दिइनेछ ।
तालिममा स्वयंसेवक र सम्पदा सम्बन्धी चिनारी, स्वयंसेवकको जिम्मेवारी, नेतृत्व विकास, समूहगत कार्यको विकास, आफू उत्प्रेरित हुने र अरूलाई उत्प्रेरित गराउन सक्ने विषयमा ज्ञान, सीप र क्षमताको विकास गरिने पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानको भनाइ छ ।
यो वातावरण, शिक्षा, सम्पदा, सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक मूर्त अमूर्त सम्पदा, वातावरणीय अवस्था (प्राकृतिक सम्पदा) र यससँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध बुझ्ने अवसर हो । महानगरपालिकाले वि. सं. २०६७ सालमा ४० जना स्वयंसेवकमार्फत सम्युवा कार्यक्रम सञ्चालन थालेको हो । २०७२ सालको भूकम्पको अवधिमा करिब १ सय जना स्वयंसेवकहरू सक्रिय रूपमा काम गरिरहेका थिए । भूकम्पले पुर्याएको क्षति व्यवस्थापनमा उनीहरू सक्रिय थिए ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया