६ महिनामै उप्कियो घोडाबाँधे–गलकोट खण्डको कालोपत्रे
बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्रे ६ महिना नबित्दै उप्किएको छ । कालोपत्रे उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ ।
एक दशकअगाडि कालोपत्रे भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्रे गरेको सडक एक महिनापछि उप्किन थालेको थियो । अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् । कालोपत्रे उप्किएपछि सडक हिलाम्य र धुलाम्मे बन्ने गरेको छ ।
गुणस्तरहीन कामका कारण कालोपत्रे उप्किएको स्थानीयले आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले मर्मतको काम गरेको थियो ।
निर्माण कम्पनीले कालोपत्रे गरेको लोकमार्गको घोडाबाँधे भ्यूटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटीलगायत दर्जनौँ ठाउँमा उप्किएको छ । कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेपछि सडकमा यात्रा जोखिमपूर्ण भएको सवारी चालक बलबहादुर सुनारले बताए ।
'ठेकेदारले सुरुमा राम्रो काम गरिरहेको थियो तर कालोपत्रे गर्ने बेलामा कमसल सामान प्रयोग गरेछ । अहिले गाडी कुदाउने खालको सडक छैन । जताततै खाल्डाखुल्डी र हिलोधुलो छ', चालक सुनारले भने, 'गुणस्तरहीन काम भएकाले सरकारले यस्तालाइ कारबाही गर्नुपर्छ ।'
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोकमार्गअन्तर्गत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताए । नरेठाँटीदेखि भ्यू टावरसम्मको सडक कतै कालोपत्रे उप्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेभल’नै नमिलेको उनको भनाइ छ ।
लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले रु १३ करोड ९९ लाखमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको स्वीकारे । इञ्जिनियर सुवेदीले कालोपत्रे भएको एक महिना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरेको बताए ।
'निर्माण कम्पनीले जिम्मा लिएको जति स्थानमा सडक भत्किएको छ, कालोपत्रे उप्किएको छ, त्यो सबै उसैले बनाउनुपर्छ, यसको जिम्मेवार निर्माण गर्ने कम्पनी नै हो । उनीहरुलाइ काम गर्नुपर्यो भनेर हामीले भनिरहेका छौँ,' सुवेदीले भने, 'काम गरिरहेकै बेला पनि कालोपत्रे उप्किएको गुनासो आएपछि मर्मत गर्न लगाएका थियौँ । अहिले फेरि धेरै ठाउँमा उप्किएछ । त्यो निर्माण कम्पनीले जिम्मेवार भएर मर्मत गर्नुपर्छ ।'
मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाभित्र करिब एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये बिउँ खण्डको १२ किलोमिटरबाहेक अधिकांश सडक कालोपत्रे भइसकेको छ । रासस

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_DcJB0IfXw5_ujcpulkri1a01lcmckhz3dng7f9h4xutdnxwxzgdm5zgkx1w0bx4oncoiaxy.jpg)
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

कालीगण्डकी तर्न साँघुको भर

आकर्षणको केन्द्र बन्दै छहरे झरना

प्रतिक्रिया