सत्तारुढ जसपा र कांग्रेसद्वारा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी

जनकपुरधाम : प्रदेश-२ सरकारका सत्तारुढ दल जनता समाजवादी पार्टीले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । जसपाभित्र आन्तरिक किचिलोले पछिल्लो पटक उपेन्द्र यादव समूहले ठाकुर समूहका राज्यमन्त्रीसहित चार जना मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेश सभा बैठक बहिष्कार गर्दै ठाकुर समूहका सदस्यहरूले मतदान नगलान् भन्ने डरले व्हीप जारी गरिएको बताइएको हो ।
संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभा सदस्यलाई मोबाइल सन्देश पठाएर नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न व्हीप लगाएका हुन् ।
जसपाभित्रको असन्तुष्टिका कारण नीति तथा कार्यक्रम पारित नहुने आशंकाकाबीच ह्वीप जारी गर्नुपरेको जसपाका प्रमुख सचेतक शैलेन्द्र यादव बताउँछन् । उनले भने, 'मन्त्रीहरूलाई बर्खास्त गरेपछि मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार दिउँसो नै संसदीय दलको बैठक बोलाएर नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्णयसहितको ह्वीप जारी गरेको थियो । बैठकमा सहभागी नभएका ठाकुर समूहका प्रदेश सभा सदस्यलाई इमेल र मोबाइलमा म्यासेज पठाइएको हो ।'
यता जसपा ठाकुर समूहका प्रदेश सभा सदस्य परमेश्वर साहले नीति तथा कार्यक्रमको आफूहरूले समर्थन गर्ने जानकारी दिए । 'हाम्रो असन्तुष्टि पार्टी र सरकारप्रति हो, नीति तथा कार्यक्रम जनताको लागि भएको कारण आफूहरू विपक्षमा नजाने निर्णय गरेका हौँ' उनले भने ।
प्रदेश सभाको बैठक र सरकारले गर्ने गतिविधिको बहिष्कार गर्ने निर्णय तपाईहरूले गर्नुभएको थियो नि भन्ने प्रश्नमा उनले भने, 'हामी बहिष्कारमै छ तर नीति तथा कार्यक्रम र बजेट जनताको भविष्यसँग जोडिएको विषयवस्तु भएको कारण त्यसको विपक्षमा जान मिल्दैन, तर अन्य क्रियाकलापको हामी विरोध गर्नेछौं ।'
अर्को सत्तारुढ दल नेपाली कांग्रेसले पनि व्हीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले आफ्ना पार्टीका सबै प्रदेशसभा सदस्यहरूलाई आज बस्ने बैठकमा अनिवार्य रुपमा उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमै मतदान गर्न निर्देशन दिइएको बताए ।
व्हीप नै जारी गर्नुपर्ने अवस्था किन आयो भन्ने प्रसंगमा उनले भने, 'केही सदस्य जानी-जानी बैठकमा आउँदैन, कोही असन्तुष्ट हुन सक्छ त्यसैले व्हीप जारी गर्नु परेको हो ।'
पार्टी सरकारमा गएपछि मन्त्री बनाउँदा एकलौटी गरिएको भन्दै कांग्रेसका सांसदहरुबीच विवाद बढ्दो छ । प्रदेश प्रमुख राजेश झाले जेठ २७ गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज निर्णयार्थ प्रस्तुत हुँदैछ ।

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया