सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

पहिलो डाेज लगाएको पाँच महिना बितिसक्दा पनि सरकारले किन्‍न सकेन खोप

फाइल तस्बिर

काठमाडौँ :  पहिलो चरणको कोभिडविरुद्धको खोप लगाएको पाँच महिना पुगिसकेको छ । यस अवधिमा पहिलो चरणअन्तर्गत फ्रन्टलाइनरको रूपमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी र ज्येष्‍ठ नागरिकले खोप लगाइसकेका छन् ।

सरकारले अनुदानबाट तीन पटक र कोभ्याक्स कार्यक्रमबाट प्राप्‍त खोप  नेपाली जनतालाई लगाइसकेको छ । खोप लगाएको पाँच महिना भइसक्दा पनि नेपालमा प्रयोगको अनुमति पाइसकेका खोप खरिदका लागि कुनै प्रक्रिया अगाडि बढाउन सकेको छैन । खरिद गरेको खोप पनि ल्याउन सकेको छैन । सरकार खोप आयात गर्न भन्दा पनि खोप ढिलो लगाउँदा केही नहुने बताउँदै बसिरहेको छ ।

आपतकालीन प्रयोगका लागि सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड, सिनोफार्मको भेरोसेल, भारतबायोटेकको कोभ्याक्सिन र  रसियन कम्पनी 'स्पुटनीक भि'ले आपतकालीन प्रयोगका अनुमति पाएका हुन् । आपतकालीन प्रयोग पाइसकेका एउटा खोप कम्पनीबाहेक अन्य कम्पनसँग सम्झौता गर्न सकेको छैन । अनुमति पाइसकेका खोप कम्पनीसँग अनुदानमा खोप पाउने आशामा बसिरहेको छ ।

भारतको सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप खरिदका लागि प्रक्रिया अगाडि बढाए पनि हालसम्म पूर्ण रूपमा प्राप्‍त गर्न सकेको छैन । पहिलो चरणमा १० लाख डोज प्राप्‍त गरे पनि दोस्रो डोज खोप नपाउँदा लक्षित वर्गका मानिस खोप पाउनबाट वञ्चित छन् । पहिलो डोज लगाइ बसेका करिब १४ लाख  ज्येष्‍ठ नागरिक दोस्रो डोजको पर्खाइमा छन् ।

'कोभ्याक्सको खोप आउने /नआउने असारको दोस्रो सातामा थाहा हुन्छ'

नेपाल सरकारबाट खोप खरिदका लागि प्रभावकारी ढंगबाट पहल हुन नसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा डा. तारानाथ पोख्रेल बताउँछन् । आपतकालीन कोभिडविरुद्धको खोप प्रयोग अनुमति पाएका निर्माण कम्पनीसँग सामान्य छलफल मात्र भएको उनले बताए ।

'सिरम इन्स्टिच्युटबाहेक अन्य खोप निर्माता कुनै पनि कम्पनीलाई भुक्तानी गरेको छैनौ,' उनी भन्छन,' खोप पाउनका लागि मुख्य कुरा सुरूमा अग्रिम भुक्तानी गर्नुपर्छ । प्रयास मात्र भएको हो यहीँ अवस्थामा नेपालले खोप खरिद गरेर जनतालाई दिन सक्दैन ।'

खोप खरिदका लागि नेपालबाट विभिन्न राजनैतिक र कुटनीतिक पहलबाट वार्ता प्रयास भइरहेको पोख्रेलले बताए । 'अहिलेसम्म खोप निर्माता मुलुकसँग भएको वार्ता निष्कर्षविहीन छ । खोप आयात तथा नयाँ खरिदका लागि मित्र राष्ट्रसँग पहल भइरहेको छ,' पोख्रेलले भने,' खोप खरिदका लागि कुनै पनि राष्ट्रसँग सम्झौता भएको छैन । अहिलेसम्म भारतको सिरम इन्स्च्युटसँग मात्र भएको छ । '

नेपालले तीन किसिमबाट खोप पाइरहेको छ, खरिद, मित्र राष्ट्रहरूको अनुदान र कोभ्याक्स कार्यक्रम । यसमा नेपालले अनुदानबाट २८ लाख खोप र कोभ्याक्सबाट तीन लाख ४८ हजार प्राप्‍त गरिसकेको छ । चीनबाट १८ लाख र भारतबाट १० लाख अनुदान प्राप्‍त भइसकेको छ । भारतसँग खरिद गरेको १० लाख मात्र खोप आएको छ ।

सरकारले बढीभन्दा बढी खोप कसरी आयात गर्न सकिन्छ त्यसमा ध्यान दिइरहेको पोख्रेलले बताए । अनुदान, कोभ्याक्स र खरिदमा खोप पाए पनि सरकार लिन तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

कोभ्याक्सअन्तर्गत पाउने खोप असारको दोस्रो सातासम्म आउन सक्ने पोख्रेलले जानकारी दिए । कति मात्रामा खोप आउँछ र कुन देशको खोप आउने त्यस विषययमा केही थाहा नहुने उनको भनाइ छ । कोभ्याक्सले संसारभर कोभिडविरुद्धको प्रयोग गरिएको खोप कोभ्याक्स कार्यक्रमबाट पाइन्छ ।

कोभ्याक्सको खोप आएमा ६० लाख जनतालाई पुग्‍ने उनले बताए । १५ लाख ५२ हजार खोप आइसकेको छ । हालसम्म ३ लाख ४८ हजारभन्दा बढी खोप आइसकेकको छ ।

'खोप आयात गर्ने विषयमा केही प्रगति भएको छैन'

नेपालमा खोपको अनुमति पाएका राष्ट्रसँग खोप खरिदका लागि विभिन्न कोणबाट छलफल भइरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । 'यो मुलुकबाट यति खोप आउने भयो भनेर बाहिर सुनाउनका लागि केही प्रगति भएको छैन,'  उनी भन्छन् ।

स्वास्थ्य मन्त्रालयको आपूर्ति र खोप महाशाखाका प्रमुखहरूले विभिन्न मुलुकका खोप निर्माता कम्पनीसँग छलफल गरिरहेको पौडेलले बताए । खोप निर्माता कम्पनी र राष्ट्रलाई मन्त्रालयको तर्फबाट पत्र काटिसकेको उनले जानकारी दिए ।

भारतीय राजदूतसँग खरिद गरी बाँकी रहेको खोप आयात गर्नका लागि वार्ता भइरहेको पौडेलले बताए । 'भारतले खोप निर्यात नगर्ने घोषणा गरेसँगै आयातमा समस्या भएको सबैलाई थाहा छ,'  उनी भन्छन,' सरकारको तर्फबाट कसरी खोप आयात गर्न सकिन्छ त्यस विषयमा गम्भीर भएका छौँ ।'