सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

खेत किन्‍नेभन्दा खेती गर्नेलाई 'कृषि कर्जा' : अध्यक्ष मल्ल

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खेत किन्नेभन्दा खेती गर्नेलाई कृषि कर्जा दिन सरकारसँग माग गरेका छन् । मंगलबार काठमाडौँमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष मल्लले यस्तो माग गरेका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाहरूले कृषि कर्जा अहिलेसम्म खेती गर्नेभन्दा पनि खेत किन्नेलाई दिने गरेको भन्दै सरकारले पनि सोहीअनुसार कृषि कर्जा प्रदान गर्नुपर्ने बताए।

अध्यक्ष मल्लले सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नुपर्ने बताए । उनले सरकारले युवालाई मुलुकभित्रै रोजगारी दिनेगरी  तत्काल रणनीतिक योजना बनाउन आग्रह गरे। अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र आयातमुखी भएको बताए ।

उनले कृषिप्रधान देश नेपालले वार्षिक खर्बौं रुपैयाँभन्दा बढीको खाद्यान्न तथा खाद्य सामग्री आयात गरी उपभोग गरिरहेको बताए । उनले मुलुकमा भएको प्राकृतिक स्रोत र साधनलाई प्रवर्धन, उत्पादन, उपभोग र निर्यात गर्न आवश्यक रहेको उल्लेख गरे ।

मल्लले भने, ‘मुलुकको अर्थतन्त्र आयातमुखी हुन पुगेको छ। कृषिप्रधान देश नेपालले वार्षिक खबौं रुपैयाँभन्दा बढीको खाद्यान्न तथा खाद्य सामग्री आयात गरी उपभोग गरिरहेको अवस्था छ। गाँजा खेतीलाई कानूनी मान्यता दिनुपर्छ। कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता पाउनुपर्छ। कृषि कर्जा खेत किन्नेलाई नभई खेती गर्नेलाई दिनुपर्छ।’

उनले आर्थिक गतिविधि विस्तार र निर्यात प्रवर्धनका लागि संसद्‌मा विचाराधीन कानूनहरू यथा शीघ्र संशोधन गरी पारित गर्न माग गरे। उनले नेपालमा काठको आयातलाई बन्द गर्न माग गरे ।