थाइल्यान्ड म्यान्माबाट भागेका एक लाख मानिसलाई स्वागत गर्न तयार
बैङ्कक - एउटा महत्त्वपूर्ण सीमावर्ती सहर नजिकै लडाइँ तीव्र भएपछि म्यान्माबाट भागरिहेका एक लाख मानिसलाई स्वीकार गर्न थाइल्यान्ड तयार रहेको बैंककका विदेशमन्त्रीले मङ्गलबार बताएका छन् ।
सन् २०२१ मा जुन्ताले लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्त गरेपछि गृहयुद्धमा फसेको म्यान्माले थाइल्यान्डसँग दुई हजार चार सय किलोमिटर सीमा साझा गर्दछ ।
जुन्ता विरोधी समूहको लडाइँले मुलुकको पहिला शान्तिपूर्ण क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा लिएपछि हालैका महिनाहरूमा म्यान्माको सेनाले अहिलेसम्मको सबैभन्दा ठूलो खतराको सामना गर्नुपरेको छ ।
“हामीले केही समयका लागि तयारी गरेका छौँ र हामी थाइल्यान्डको सुरक्षित क्षेत्रमा करिब एक लाख मानिसलाई अस्थायीरूपमा समायोजन गर्न सक्छौँ”, विदेशमन्त्री पर्णप्री बहिधा–नुकाराले भने ।
थाइल्यान्ड राष्ट्रसंघीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन र उसले शरणार्थी तथा अन्य आप्रवासीबीच भेद गर्दैन ।
साताको अन्त्यमा थाई सहर माई सोटको सीमापार म्यावाडी सहर नजिकै जुन्ताविरोधी समूहरूले तीव्र लडाइँ गरेको स्थानीय समाचार थिए ।
थाई–म्यान्माको लामो सीमामा बेलाबेलामा हुने लडाइँमा ठूलो सङ्ख्यामा मानिसहरू फर्किनुअघि अस्थायीरूपमा थाइल्यान्डतिर भाग्ने गर्छन् । विदेशमन्त्री पर्णप्रीले कुनै ‘सामूहिक निकासी’ नभएकाले मानिसहरू सीमापारिबाट आइरहेको बताए ।
यद्यपि उनले थाई–म्यान्मा सीमा खुला रहने भन्दै माई सोट र म्यावाडीमा व्यापार अहिले पनि भइरहेको बताए । “कुनै लडाइँ भएको छैन, अझै पनि व्यापार घटे पनि जारी छ”, उनले भने । उनले गत वर्ष व्यापारमा करिब ३० प्रतिशतले कमी आएको जानकारी दिए । जुन्ताको वाणिज्य मन्त्रालयका अनुसार म्यावाडी तेस्रो सबैभन्दा व्यस्त ‘ल्यान्ड क्रसिङ’ हो । यहाँबाट पछिल्लो १२ महिनामा करिब एक अर्ब १० करोड डलरको सामानहरू ओसारपसार भएको थियो ।
यसअघि मङ्गलबार प्रधानमन्त्री श्रेथा थाभिसिन र उच्चस्तरीय थाई अधिकारीहरूले सीमा मुद्दामा छलफल गर्न भेट गरेका थिए । विदेशमन्त्री पर्णप्रीले भने, “अवस्था बिग्रिएमा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ ।”
थाइल्यान्डमा अवतरण गर्न र म्यान्माका नागरिकहरूलाई स्वदेश फिर्ता गर्न ‘विशेष’ उडानको अनुमति दिन म्यान्माको जुन्ताले गरेको अनुरोधलाई थाई सरकारले स्वीकार गरेको सोमबार बताएको थियो । यद्यपि सन् १९८० को दशकदेखि म्यान्माबाट भागेका हजारौँ मानिसलाई थाइल्यान्डले सीमा नजिकैको अनौपचारिक बस्तीहरूमा बस्ने अनुमति दिएको छ ।
रासस
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

प्रतिक्रिया