इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

इलाम - अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए ।
उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए । ‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ ।
महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए । “पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ”, उपप्रमुख बरालले भने, “यसले अन्तुको मात्र नभई समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा छ ।”
महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए । महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उहाँको भनाइ छ । महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ ।
अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोतसाधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृतिसमेत पर्यटकका रोजाइ बन्ने गरेका छन् ।
अन्तुडाँडामा हिउँद वर्षा दुवै याममा पर्यटकको बाक्लो उपस्थिति हुन्छ । अहिले दैनिक तीन हजारदेखि चार हजारको सङ्ख्यामा पर्यटक सूर्योदय दृश्यावलोकनका लागि अन्तुडाँडा पुग्ने गरेका छन् । सबैभन्दा धेरै शनिबार पर्यटकको घुइँचो लाग्ने गरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताए । “यतिबेला दैनिक तीनदेखि चार हजारको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्”, घिमिरेले भने, “कहिलेकाहीँ त होटल व्यवस्थापन गर्न नै हम्मेहम्मे पर्दछ ।”
सामान्यतया असोज पहिलो सातादेखि मङ्सिर मसान्तसम्म र फागुन पहिलो सातादेखि वैशाख मसान्तसम्म सूर्योदय दृश्यावलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुद्र सहतबाट दुई हजार तीन सय मिटर उचाइमा अवस्थित अन्तुडाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । यहाँ नेपाल, भारत तथा तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन् ।
यातायातको सुविधाका कारण धेरै पर्यटक एक रात बस्नकै लागि भए पनि श्रीअन्तु पुग्ने गरेका छन् । पहिलोपटक श्रीअन्तु पुग्ने जोकोही आनन्द लिएर फर्कन्छन् । अन्तुसम्म पुग्न मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी सञ्चालनमा आएपछि पर्यटकलाई थप सहजता मिलेको छ । सूर्योदय नगरपालिको प्रशासनिक केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर यात्रापछि श्रीअन्तु पुगिन्छ ।
रासस

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_bsHVOqRRnI_n6xegkogtx2wdbmmc8jethyg8exid1cgpgdrrboptss1yv9zfc4ze15hprgo_mSTxVGeqDv_y8gpqmkdh8vjgulqnbhqchqj03mhmipvaw5wluibfxbxuruoa5ae6zadcgdt_c3MUmhQpUS_ys5oz3kofydf8eru5davxbj6ryhg1two5sjak9tuicnzps4kvu5fe5kvug4s.jpg)
कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

प्रतिक्रिया