धवलागिरि र अन्नपूर्ण आरोहणका लागि ४० जनालाई अनुमति
म्याग्दी- चालु वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
विभागका वरिष्ठ अधिकृत दिलीपकुमार महर्जनका अनुसार धवलागिरि आरोहणका लागि एक वटा समूहका १० जना पुरुष र पाँच जना महिला तथा अन्नपूर्ण आरोहणका लागि तीन वटा समूहका १४ जना पुरुष र ११ जना महिलाले अनुमति लिएका हुन् ।
धवलागिरि आरोहण अनुमति वापत रु ३५ लाख ७० हजार आठ सय ४० र अन्नपूर्ण आरोहण अनुमति वापत रु ५९ लाख ६१ हजार सात सय ८० रोयल्टी (सलामी दस्तुर) सङ्कलन भएको विभागले जनाएको छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढेको बताए ।
गत शरदयाममा चार वटा समूहका १२ जना पुरुष र ११ जना महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका थिए । शरदयाममा अन्नपूर्ण हिमाल आरोहण गर्न कसैले पनि अनुमति लिएका थिएनन् ।
यसैबीच अस्ट्रेलीयाकी ४७ वर्षीया पर्वतारोही एली पेपरले आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अक्सिजन बिना अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेकी छन् । पेपरले सेभन समिट ट्रेकका पथप्रर्दशक मिकेल शेर्पा र निमा शेर्पाको सहयोगमा अक्सिजन विना अन्नपूर्ण आरोहण गरेको सभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।
शेर्पाका अनुसार नेपाली पर्वतारोही १७ वर्षीय निमा रिन्जी शेर्पाले ४ दिनअघि अक्सिजन बिनै अन्नपूर्णको सफल आरोहण गरेकी थिइन् । पेपरले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् ।
पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १९ वटा हिमाल आरोहण गर्न ४० देशका पाँच सय १२ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु ३४ करोड ४३ लाख ९९ हजार छ सय ५६ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ । रासस

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया