प्रहरीकहाँ पुगेर घरधनीको गुनासो : पुलिसको साइरनले सुत्न सकेनौँ
ठमेलका घरधनी तथा व्यवसायीले कर्तव्य बिर्सेर आलोचना मात्र गर्ने गरेको आरोप

काठमाडौँ- पर्यटकीय क्षेत्र ठमेलमा एक साताअघि 'नो हर्न' लागू गर्ने व्यवस्था जारी भयो । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीय स्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गर्यो ।
उक्त निर्णय भएसँगै सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने भयो । अहिले ठमेलका विभिन्न चोकमा 'नो हर्न' लेखिएको ब्यानर झुण्ड्याइएको छ । ठमेल पुग्ने जोकोहीले 'नो हर्न' लेखिएको ब्यानर देख्न सक्छन् ।
तर, 'नो हर्न' लेखिएको ब्यानरको तल सडकमा निर्वाध रूपमा हर्न बजाउँदै सवारीसाधन सञ्चालन भइरहेका छन् । 'नो हर्न' लागू भए पनि ठमेलका सडकमा मोटरसाइकल र साना सवारीसाधनले हर्न बजाइरहेकै छन् ।
ठमेलका स्थानीय घरधनी र व्यवसायीहरूले 'नो हर्न' यस क्षेत्रमा लागू भए पनि कार्यान्वयनमा नआएको गुनासो गरे । एक घरधनीले यहाँ 'नो हर्न' लागू हुनु स्वागतयोग्य कदम भए पनि कार्यान्वयन हुन नसकेको बताए ।
'दिनको समयमा भन्दा रातमा सवारीसाधनको बढी आवाज आउने गरेको छ,' उनले भने, 'अगाडि साना सवारीसाधनको जाम हुना साथ पछाडिका सवारीसाधनले हर्न बजाउन थालिहाल्छन् ।'
मोटरसाइकल र साना सवारीसाधन तथा टयाक्सीले हर्न बजाउन नछोडेको उनको भनाइ छ । हर्न बजाउनेको अनुगमन गर्न नसक्दा 'नो हर्न' लागू हुन नसकेको धारणा उनले व्यक्त गरे ।
राति प्रहरीको भ्यानबाट निस्कने साइरनले यहाँ सुत्न नसकिरहेको घरधनी बताउँछन् । 'प्रहरीको भ्यानले साइरन नबजाइ ओहोरदोहोर गरेको भए हामी जस्ता घरधनीको निन्द्रा रातिमा खलबलिँदैन थियो होला,' उनले सुनाए ।
नरसिंह चोकमा सबैभन्दा बढी सवारीसाधनको हर्न आउने गरेको एक पस्मिना व्यवसायीको भनाइ छ । नरसिंह चोकमा कुनै पनि सवारीसाधन रोक्न दिन नहुने उनले बताए ।
'साना-साना टयाक्सी रोकिराख्दा ट्राफिक जाम हुने गरेको छ,' उनले भने,' पहिलोपटक ठमेल प्रवेश गर्ने सवारीसाधनले हर्न बजाउने गरेका छन् ।'
त्यसो त ठमेल पर्यटकीय क्षेत्र भएकाले होटल तथा रेष्टुरेण्टको सवारीसाधनहरू बढी सञ्चालनमा आउँछन् । होटलमा पाहुना ल्याउने र सामान डेलिभरी गर्ने सवारीसाधनहरू उत्तिकै जाने गरेका छन् ।
साँझको समयमा सवारीसाधनको चाप बढी हुनुले पनि हर्न बज्ने समस्या रहेको ती व्यवसायीको भनाइ छ । सडकमा सवारीसाधन रोकेर बस्न नदिने व्यवस्था गरेमा सवारी चापको समस्यामा पनि कमी आउने उनको भनाइ छ ।
ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले ठमेल क्षेत्रमा हर्न बजाउने १० देखि १५ जनालाई दैनिक कारबाही गरिएको बताए । 'नो हर्न' को व्यवस्था कार्यान्वयन गराउन ट्राफिक प्रहरी लागिपरिरहेको उनको भनाइ छ ।
उनका अनुसार नो हर्नको पहिलोपटकको जरिवाना पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक १५ सय रुपैयाँ छ ।
'सवारीसाधनको ट्राफिक जाम हुँदा हामी पुगेर पनि हटाउने गरेका छौं, आवाज निकालेका साधन भेटेमा तुरुन्त कारबाही पनि गरिहाल्छौं,' उनले भने,' यहाँका स्थानीयहरू प्रहरीको साइरनले हामीलाई डिस्टर्ब भयो भन्दै आइरहनु भएको छ । रातिको समयमा ट्राफिक जाम भयो भनेर खबर आउँछ जाँदा साइरन बजाउनै परो ।'
ट्राफिक महाशाखाको सेड्युलअनुसार चेकिङ गरिरहेको गुरुङले जानकारी दिए । बाटामा सवारीसाधन चलाउँदा हर्न बजाएकोमा तत्कालै कारबाही गर्ने गरिएको उनले बताए । अहिलेसम्म तीव्र गतिमा चलिरहेका सवारीसाधन भने कारबाहीमा नपरेको उनको भनाइ छ ।
काठमाडौँ उपत्यकामा पाँच वर्षअघिदेखि नै 'नो हर्न' लागू भएको थियो । केही सातादेखि विशेषगरी पर्यटकीय क्षेत्रलाई तोकेर हर्न निषेधित क्षेत्र तोकिएको छ ।
ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले 'नो हर्न' लागू भएपछि आवाज नियन्त्रणमा आएको बताए । सवारीसाधन निस्कने आवाज कमी आएको र तीव्र गतिमा सञ्चालनमा हुने सवारीसाधनसमेत नियन्त्रणमा आएको उनले बताए ।
ठमेलमा प्रवेश गर्ने कुनै पनि सवारीसाधनले हर्न बजाउन नपाउने शर्माले बताए । प्रहरीको सवारीसाधनलाई साइरन बजाउन नदिएको उनले दाबी गरे ।
यदि कसैले साइरन वा हर्न बजाएमा रेकर्ड गरेर प्रहरी वा ठमेल पर्यटन विकास परिषदको कार्यालयमा बुझाइदिन शर्माले आग्रह गरे । ठमेललाई पूर्ण रूपमा सवारीसाधन तथा अन्य वस्तुको ध्वनि प्रदूषणमुक्त बनाउन अभियान थालनी गरिएको उनको भनाइ छ ।
ठमेलका घरधनी तथा व्यवसायीले कर्तव्य बिर्सेर आलोचना मात्र गर्ने गरेको र विभिन्न समयमा हुने सफाइ कार्यक्रममा सहभागी नजनाउने गरेको उनले बताए ।
ठमेलका घरधनी तथा व्यवसायीहरू सफाइ अभियानमा र सामूहिक सुरक्षा अनुगमनमा समेत सहभागी नभएर तथा कर्तव्य भुलेर आलोचना मात्र गर्ने गरेको शर्माले उल्लेख गरे ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया