सुशान्तको मृत्युपछि बलिउडमा बहसमा आएका ७ मुद्दा

मुम्बई : आजकै दिन सुशान्तसिंह राजपुतले मृत्युवरण गरेका थिए । भलै त्यो आत्महत्या हो कि हत्या, अनुसन्धान गरिरहेको प्रहरीले पनि निचोड निकाल्न सकेको छैन तर उनको मृत्युले बलिउडमा कहिलै नभएको बहस छेडियो ।
सधैं एक खाले अनुहार देखाउँदै आएको बलिउडको सुशान्तको मृत्युपछि अर्को अनुहार पनि सामुन्ने आयो जुन धेरैको कल्पनाभन्दा बाहिरको थियो । नातावाद, कृपावाद र ड्रग्स यो अनुहारका हाइलाइट थिए । उनको मृत्युपछि बलिउडमा केही मुद्दा सतहमा आए जसको असर भविष्यमा देखिन्छ । बलिउडहंगामाले ती मुद्दालाई मोटामोटी ७ बुँदामा प्रस्तुत गरेको छ ।
१. ब्लाइन्ड आर्टिकलमा रोक
सुशान्तसिंह राजपुतको मृत्युअघि पत्रिकाका मनोरञ्जन कोलममा पत्रकारले आफूले मन नपराएका कलाकारको बारेमा जे मन लाग्यो लेख्थे । यस्तोमा फिल्मका कुरादेखि कलाकारका व्यक्तिगत जीवनका कुरा पनि हुन्थे । ‘ब्लाइन्ड आर्टिकल’ भनिने यस्ता लेखको आतंकले कलाकार हदैसम्म पीडित रहन्थे । सुशान्तको मृत्युपछि जब उनका फ्यानले उनीमाथि पत्रपत्रिका तथा अनलाइनले यस्ता ब्लाइन्ड आर्टिकल लेखेको थाहा पाए, बलिउडमा यो विषय सतहमा आयो । त्यसयता पत्रपत्रिकाले कलाकारको बारेमा मनगढन्ते किस्सा लेख्न छाडेको बताइएको छ ।
२. शंकाको घेरामा स्टार
बलिउडमा आफूलाई मन पराएका कलाकारलाई मान्छे होइन भगवान बनाउने प्रवृत्ति छ । आफूले मन पराएको कलाकारले जे गरे पनि बचावका लागि फ्यान खडा हुन्छन् । तर, सुशान्तसिंहको मृत्युपछि कलाकारको यो छविमा आँच आयो । समकालीन साथीविरुद्ध गुटबन्दी, ड्रग्सको सेवन र अनावश्यक पारिश्रमिकको कुरा बाहिर आएपछि फिल्म उद्योग पहिलोपल्ट शंकाको घेरामा आयो । सोचेझैं हैन छ है बलिउड भन्ने कुरा दर्शकको दिमागमा पर्यो ।
३. गुटबन्दीमा बहस
जति ठूलो उद्योग उति धेरै गुट । बलिउड गुटबन्दीको इतिहास लामो छ । भनिन्छ राजकपुरको पालादेखि बलिउडमा गुट वा क्याम्पको सुरुवात भएको हो । पछिल्लो समय प्रडक्सन हाउसले यो चलनलाई निरन्तरता दिएका थिए । यसमा पनि करण जौहर पहिलो नम्बरमा थिए । उनले भएभरका कलाकारका छोराछोरीलाई आफ्नो प्रडक्सन हाउसका फिल्मबाट डेब्यू गराउने र घुमिफिरी तिनैलाई लिएर बाँकी फिल्म बनाउने आरोप थियो । सुशान्तको मृत्युपछि बलिउडमा रहेको गुटबन्दीमाथि जमेर बहस भयो ।
४. कलाकारको पारिश्रमिक
सुशान्तको मृत्युले ‘ट्रिगर’ गरेको अर्को बहस थियो पारिश्रमिकको । बलिउडका केही स्टारले सय करोडसम्म पारिश्रमिक लिने गरेका छन् । तर, यहीँ बीचका स्टारको पारिश्रमिक भने माया लाग्दो छ । महिला कलाकारलाई पुरुष कलाकारको तुलनामा कम पैसा दिएको कुरा त लामो समयदेखि बहसको विषय छँदै थियो । तर, सुशान्तको मृत्युपछि कमाई नै नगर्ने स्टारको पैसा पनि किन यत्ति धेरै भनेर बहस भयो । तर, यो बहसले यो एक वर्षमा उतिसारो परिवर्तन भने ल्याइसकेको छैन ।
५. फार्महाउस वा रेभ पार्टीमा कमी
बलिउडका हरेक ठूला स्टारको आफ्नै फार्महाउस छ । यो फार्म हाउसमा उनीहरूले खुलेर पार्टी गर्ने गरेका रहेछन् । मुम्बईको पाभनामा सुशान्तको पनि यस्तै फार्म हाउस थियो । यहाँ बसेर उनले पनि ड्रग्स लिने गरेको घटना सार्वजनिक भएका थिए । सुशान्तको मृत्युपछि भारतको नारकोटिक्स ब्युरोले यस्ता सबै पार्टीमाथि छानबिन गर्न थाल्यो र वर्षभरिमा लगभग यस्ता पार्टी हुनै छाडे । हुनत यही समयमा लकडाउन चलिरहेको कारण पनि कमी आएको हुनसक्छ तर योबीचमा बलिउडले यस्ता पार्टी आयोजना गर्न बन्द गरेको छ ।
६. इन्साइडर भर्सेज आउटसाइडर
इन्साइडर भर्सेज आउटसाइडरको बहस सुशान्तको मृत्युले बलिउडमा निम्त्याएको अर्को महत्वपूर्ण विषय हो । बलिउडमा सुशान्त जस्तो उद्योग बाहिरबाट आएका कलाकारलाई टिक्न गाह्रो भएकै कारण उनले ज्यान गुमाएको कुरामा दर्शक सहमत भएपछि वर्षभरी नै उद्योग भित्रको÷बाहिरको बहसमा अल्झियो । यसो गरिरहँदा नातावाद र कृपावादको बहस पनि गहिराइका साथ सतहमा आयो । तर, यो एक वर्षमा उद्योग आफ्नो र पराइको बहसभन्दा पनि प्रतिभाशालीलाई मौका दिनुपर्छ भन्ने मनोविज्ञानमा अगाडि आएको छ ।
७. सुशान्त एक विम्ब
यो एक वर्षमा सुशान्त आफैं एउटा अलंकारको रुपमा स्थापित भएका छन् । उनको संघर्ष र अवसान आफैंमा एउटा विम्बको रुपमा अगाडि आएको छ । जस्तो कि भर्खरै कार्तिक आर्यनले करण जौहरको र शाहरुखको प्रडक्सनको फिल्म छाडे । मानिसहरू कार्तिकको पनि हालत सुशान्तको जस्तो नहोस् भनेर संगठित भए । यसरी सुशान्त अब धेरै कुराको विम्ब बनेका छन् ।

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

प्रतिक्रिया