प्रतिरोधी चेतनायुक्त नयनराज पाण्डेको कथा संग्रह ‘जियरा’ बजारमा

काठमाडौं : लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको सङ्ख्या बढेको, मृत्युदर पनि उकालो लागेको र लगत्तै निषेधाज्ञा हुने हल्लाले पुस्तकलाई बजारमा पठाउन सकिएको थिएन । पछि वैशाख १६ देखि निषेधाज्ञा भयो । यसबीचमा पुस्तक बजार ठप्पप्रायः रह्यो ।
असार १ देखि भने पूरै दिन नभए पनि बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने सरकारको निर्णयले पुस्तकप्रेमीहरूलाई उत्साहित बनाएको छ । यसबीचमा नयाँ कृति सार्वजनिक नभएकाले पाठकले नयाँ फ्लेबरको पुस्तक पढ्न पाऊन्, उनीहरूलाई नयाँ खुराक मिलोस् भनेर फाइनप्रिन्टले पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको हो । निषेधाज्ञाकै कारण कुनै सार्वजनिक कार्यक्रम नगरी पुस्तक बजार पठाइएको हो ।
यस सङ्ग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन् । ‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ ।
मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु । त्यसमा म कति सफल भएँ, त्यो जान्न म व्यग्र प्रतीक्षामा छु ।’ ‘जियरा’मा सङ्गृहीत कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ ।
मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्र्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउँछन् । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।
लेखकले आफ्ना पात्रलाई दुःखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ‘एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् । पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन् ।
जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए । ‘मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ,’ उनले भने । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया