खिम्तीले लग्यो ७२ अर्ब रुपैयाँ

काठमाडौं : खिम्ती जलविद्युतको आधा स्वामित्व २०७७ असार २६ देखि नेपाल विद्युत् प्राधिकरणमा आयो । यो अवधिमा खिम्ती लगानीकर्ताहरुले प्राधिकरणसँग बिजुली बापत मात्र ६९ अर्ब रुपैयाँ असुलिसकेको छ । खिम्ती आफैले तिर्नुपर्ने विद्युत् रोयल्टी पनि प्राधिकरणले तिर्नुपर्ने सम्झौता सर्त थियो । त्यस निम्ति प्राधिकरणले तीन अर्ब रुपैयाँ तिर्यो ।
प्राधिकरणको केन्द्रीय लेखाका अनुसार, यसरी २० वर्षको अवधिमा खिम्तीले प्राधिकरणसँग ७२ अर्ब रुपैयाँ लगे । वार्षिक ३ करोड ५० लाख युनिट बिजुली उत्पादन गर्ने खिम्तीको बिजुली प्राधिकरणले अमेरिकी डलरमा खरिद गर्नुपर्ने सम्झौता (पीपीए) गरेको थियो । अमेरिकी डलरको विनिमय दर वृद्धि हुँदै जाँदा प्राधिकरणको घाटा पनि उकालो लाग्दै गयो । प्राधिकरणले खिम्तीको बिजुली खरिद गरेकै कारण ३२ अर्ब रुपैयाँ घाटा पर्न गएको प्राधिकरणको तथ्यांकमा छ ।
विदेशी लगानीको पहिलो आयोजना हो । खिम्तीको पहिलो सम्झौता २०५० चैत १७ मा भएको हो । खिम्तीमा नर्वेको एसएन पावरको ५०.४, बर्जेनसाल्भोइन्स कोम्मुनाले क्राप्mटसेल्कस्प एस २३, एलोस्टोम पावर नर्वे एसएको ५.८ र जीई इनर्जी नर्वे एसको ५.८ शेयर छ । यसमा नेपालको बुटबल पावर कम्पनीको १४.९ शेयर छ । नेपालीको १५ प्रतिशत मात्र शेयर रहेका कारण यसका विदेशी लगानीकर्ताले साढे ५८ अर्ब रुपैयाँ लगेका छन् ।
यसरी खिम्तीले कमाएको रकममध्ये बीपीसीबाहेक सबै विदेशिँदा नेपालमा एक पैसा पनि पुनः लगानी भएन । २२ मेगावाट बनाएको चिलिमेले चार भिन्न आयोजनाबाट १८० मेगावाट निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ ।
खिम्तीले प्राधिकरणसँग बिजुलीबापत लगेको रकमलाई निजी क्षेत्रका अन्य विद्युत् उत्पादकसँग तुलना गर्ने हो भने यस्तो सम्झौता गर्ने र गराउनेहरुउपर देशले हिसाब माग्नुपर्ने हुन्छ । प्राधिकरणले हालको मूल्यमा अन्य निजी उत्पादकको बिजुली औसतमा प्रतियुनिट पाँच रुपैयाँ ४० पैसामा किन्छ । यो दरका आधारमा वार्षिक तीन करोड ५० लाख बिजुली खरिद गर्ने हो भने एक अर्ब ८९ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ । २० वर्षको हिसाब गर्ने हो भने ६० मेगावाट क्षमताको अन्य उत्पादकलाई प्राधिकरणले ३७ अर्ब ८० करोड रुपैयाँ तिरे पुग्थ्यो । तर खिम्तीको त्यति नै बिजुलीका लागि प्राधिकरणले ७२ अर्ब रुपैयाँ तिर्नुपरेका कारण ३४ अर्ब २० करोड रुपैयाँ घाटा परेको देखिन्छ । खिम्तीले खुवाएको उक्त घाटा २२८ मेगावाट बराबरको छुट्टै नयाँ जलविद्युत् आयोजना बनाउन पुग्ने रकम हो ।
खिम्तीसँग भएको पीपीए सम्झौताअनुसार जलविद्युत् उत्पादकले सरकारलाई तिर्नुपर्ने विद्युत् रोयल्टी पनि प्राधिकरणले नै तिर्नुपर्ने भयो । यसअनुसार बीस वर्षको अवधिमा प्राधिकरणले सरकारलाई रोयल्टी मात्रै तीन अर्ब रुपैयाँ तिरेको देखिन्छ । अन्य उत्पादकहरुले भने यस्तो रोयल्टी आफैले तिर्नुपर्छ । सरकारले रोयल्टीसम्बन्धी नीतिमा परिवर्तन गरेमा त्यसको जोखिम आफूले नलिने तर प्राधिकरणको थाप्लामा हाल्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको थियो ।
खिम्तीको सम्झौता नेपाली कांग्रेसको सरकारका जलस्रोत राज्यमन्त्री लक्ष्मणप्रसाद घिमिरेको पालामा भएको थियो । त्यतिबेला प्राधिकरणका कार्यकारी निर्देशक कीर्तिचन्द ठाकुर थिए । खिम्तीको पीपीए गर्न नमानेका सन्तबहादुर पुनलाई जलस्रोत मन्त्रालयमा तानेर चन्दलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।
प्राधिकरणका एक अधिकारीका अनुसार खिम्तीबाट उत्पादित बिजुली मूल सम्झौता नभएसम्मका लागि अन्तरिम रुपमा प्रतियुनिट दुई रुपैयाँमा प्राधिकरणले खरिद गर्नेछ । त्यसपछि संयुक्त कम्पनी गठन गरेर नयाँ पीपीए हुनेछ ।
तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भंग गरी मध्यावधि चुनाव गराएपछि संसदमा सबैभन्दा ठूलो दल एमालेले सरकार बनायो । उक्त सरकारका जलस्रोत मन्त्री प्रदीप नेपाल थिए । खिम्तीको पीपीए भएर निर्माणमा जाने अवस्थाका बीच सरकार परिवर्तन भएपछि खिम्तीको लगानीकर्ता विश्व बैंकको आइएफसीले कम्युनिष्ट सरकार आएका कारण ‘राजनीतिक जोखिम’ बढेको भन्दै पीपीए दर बढाउन लगाएको थियो ।
तत्कालीन जलस्रोत मन्त्री नेपालले खिम्तीका अर्का लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) को मुख्यालय मनिला पुगी पीपीए दर ५.२ अमेरिकी सेन्ट्सबाट ५.९५ अमेरिकी सेन्ट्स पुर्याएका थिए । नेपालको यो काम उनीपछिका जलस्रोत मन्त्री पशुपति शमशेर राणाले वैधानिकता दिएका थिए । यसरी खिम्तीमा कांग्रेस, राप्रपा र एमालेको मिलीभगत थियो, महाकाली सन्धिमा जस्तै ।
खिम्तीको उदय
२०५२ मा तत्कालीन एमालेले निर्माणमा जान लागिसकेको अरुण तेस्रो (२०२ मेगावाट) रद्द गर्न विश्व बैंकलाई पत्र लेख्यो । एमालेको उक्त पत्रलाई आधार मान्दै विश्व बैंकले अरुण तेस्रोबाट हात झिक्ने घोषणा गर्यो । अरुण तेस्रोको उद्देश्य आउन लागेको ऊर्जा संकट (लोडसेडिङ) टार्नु थियो । अरुणको विकल्प खोजी सुरु भयो । आधाजसो अनुदानमा निर्माण हुन लागेको अरुण तेस्रो रद्द गराएर तत्कालिन एमालेले खिम्ती भित्र्याएको थियो । एमालेबाट जलस्रोत मन्त्री भएका नेपालले मनिलामा गएर यसको अन्तिम पीपीए टुंग्याएका कारण अरुण तेस्रोको साटो खिम्ती उपहार भन्ने गरिन्छ ।
प्राधिकरण आफैले निर्माण गर्न अध्ययन भएका खिम्ती र भोटेकोसी प्रधानमन्त्री तहबाट दबाब दिएर नर्वेको स्टाटक्राप्mटको हातमा पारियो । कारण देखाइयो, लोडसेडिङ हुन नदिने । जलविद्युत्मा पहिलोपटक विदेशी लगानी भित्र्याउने बहानामा स्टाटक्रफ्रट र उसका ऋण प्रदायक निकायहरुले भनेका सबै सर्त तत्कालीन जलस्रोत मन्त्रीहरुले स्वीकार गरिदिएका कारण प्राधिकरणलाई तन्नम बनाउन मुख्य सहायक खिम्तीको बिजुली भयो ।
खिम्तीमा यसरी ठगियो
प्राधिकरण र खिम्तीबीच भएको सम्झौतामा व्यापारिक उत्पादन भएको २० वर्षपछि यसको आधा स्वामित्व प्राधिकरणको हुने प्रावधान छ । आधा स्वामित्वसँगै गएको असार २६ देखि प्राधिकरण खिम्तीमा घाटा मुक्त भएको छ । तर सम्झौता यसरी गरिएको थियो कि नेपालका सबै खोलामा हिउँदयाममा पानी थोरै भई बिजुली उत्पादन एक तिहाईमा सीमित हुन्छ, तर खिम्तीको खोलामा पानी धेरै हुने देखाइएको छ ।
सम्झौता गरेको ऊर्जा (डिम्ड इनर्जी) भन्दा बढी उत्पादन भएमा (एक्सेस इनर्जी) को मूल्य डेढी हुने प्रावधान छ । खिम्तीले हुँदै नभएको जलविज्ञानको तथ्याक (हाइड्रोलोजी) राखेर खोलामा धेरै पानी भएको देखायो । अर्थात् सय युनिट उत्पादन हुनेमा ७० युनिट मात्र उत्पादन हुने देखाएर बाँकी ३० युनिटलाई एक्सेस इनर्जीको नाममा दोब्बर मूल्यमा किन्नुपर्ने सम्झौता यो हो ।
यस्तो एक्सेस इनर्जी प्राधिकरणले नलिए पनि भुक्तानी गर्नैपर्छ, त्यो पनि दोब्बर मूल्यमा । खिम्तीले छ महिनाको सुख्खायाममा यस्तो बढी बिजुली (एक्सेस इनर्जी) उत्पादन गर्छ । प्राधिकरणका अधिकारीका अनुसार यस्तो एक्सेस इनर्जी प्रतिमहिना करिब ७० लाख युनिट जति हुन्छ । यस्तो एक्सेस इनर्जीबापत मात्रै खिम्तीले यो पीपीए अवधिमा साढे सात अर्ब रुपैयाँ लगेको प्राधिकरणका एक अधिकारीले इकागजलाई जानकारी दिए ।
प्राधिकरणका अनुसार व्यावसायिक रुपमा सञ्चालनमा आएका बेला खिम्तीको बिजुली २०५८ वैशाखमा प्रतियुनिट ८ रुपैयाँ २५ पैसा थियो । यही बिजुली २०७७ को वैशाखमा आइपुग्दा प्रतियुनिट १७ रुपैयाँ ५६ पैसा परेको थियो । यसमा रोयल्टी गणना गरिएको छैन । खिम्ती विद्युत्गृहका पाँचवटै युनिटबाट २०५८ सालदेखि उत्पादन सुरु गरेका थिए ।
अब के हुन्छ खिम्तीमा ?
पीपीएअनुसार व्यापारिक उत्पादन भएको मितिले गत असार २६ मा २० वर्ष पुगेपछि त्यसयता बाँकी अवधि (३० वर्ष) का लागि आधा स्वामित्व प्राधिकरणको हुनेछ । यसका लागि प्राधिकरणसहितको संलग्नतामा छुट्टै कम्पनी गठन र पुरानो पीपीएमा संशोधनका प्रक्रिया अघि बढाइएको छ ।
प्राधिकरण र खिम्तीको सञ्चालक हिमाल पावर लिमिटेडबीच गत असोज १२ गते अन्तरिम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भयो । प्राधिकरणका एक अधिकारीका अनुसार खिम्तीबाट उत्पादित बिजुली मूल सम्झौता नभएसम्मका लागि अन्तरिम रुपमा प्रतियुनिट दुई रुपैयाँमा प्राधिकरणले खरिद गर्नेछ । त्यसपछि संयुक्त कम्पनी गठन गरेर नयाँ पीपीए हुनेछ ।
प्राधिकरण र हिमाल पावरबीच कोभिड-१९ अघि नै वार्ता प्रक्रिया सुरु भएको थियो । खिम्तीले हाल प्रचलित अन्य निजी क्षेत्रले पाउने पीपीए दर (हिउँदयाममा प्रतियुनिट आठ रुपैयाँ चालीस पैसा र वर्षायाममा चार रुपैयाँ असी पैसा) माग गर्दै आएका छन् । वार्ताका क्रममा दुवै पक्षबीच केही विषयमा सहमति जुट्ने अवस्था थिएन । ‘कोभिड-१९ पछि वार्ता ठप्प भयो’ ती अधिकारीले भने, ‘अहिलेलाई काम चलाउ व्यवस्था गरिएको छ, पछि नयाँ पीपीए र नयाँ कम्पनी गठन हुनेछ ।’
प्राधिकरणलाई उपल्लो राजनीतिक तहबाट दवाब दिएर पीपीए गराएको हिमाल पावरले नयाँ पीपीए गर्नु पर्दा भने स्वतन्त्र र व्यवासायिक तवर (आर्म लेन्थ प्रिन्सिपल) बाट हुनुपर्ने आग्रह गर्दै आएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया