काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्र स्थानमै, मास्क लगाउन आग्रह
यसबाट नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्यांक

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्र स्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषण अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे । विश्वभरिको वायु प्रदूषणको अवस्था मापन गर्ने ‘वर्ल्ड एयर क्वालिटी इन्डेक्स–र्याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्र स्थानमा छ ।
'वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,' प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा वायु प्रदूषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्याङ्क छ ।
नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताउँछन् । गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँड्डुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया