पानी नपरेपछि भूमेथान र डुप्चेदेवीमा क्षमा पूजा

नुवाकोट- लामो समयदेखि वर्षा नहुँदा दैनिक जनजीवन प्रभावित भएको जनाउँदै पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका स्थानीयले भूमेथानमा क्षमा पूजा गरेका छन् । शुक्रबार बिहानैदेखि दिनभर गाउँभरका स्थानीयवासीले झाक्री डिलबहादुर तामाङको नेतृत्वमा घ्याङस्वाराको एक हजार आठसय मिटर उचारमा अवस्थित जिलिङ भूमेथान महादेव र डुप्चेदेवी थानमा क्षमा पूजा गर्दै जलधारा गरेका छन् । स्थानीयवासीले पानी नपर्नुमा नागराजको रिसानी भएको जनाउँदै भूमेथान परिसरमा रहेको कालो नागलाई कुखुराको बली चढाएको जनाइएको छ ।
“पुराना दिनमा भूमेथान रिसानी हुँदा वर्षात हुँदैनथ्यो” झाक्री तामाङले भने, “अहिले पनि यस्तै भएको छ । खेतबारीमा लगाएका कृषिवाली मर्न थालेका छन् । पशुचौपायाले हरियो घाँस पाउन समस्या छ । जीवित प्राणीको जीवन जीउन गाह्रो भएपछि रिसाएका भगवान खुसी बनाउन जलधारा गरेका हौँ ।”
भूमेथानमा जलधारा गरेपछि केही दिनमै पानी पर्ने यहाँको स्थानीयवासीको विश्वास छ । मूला झाक्रीले ठ्याङ्ग्रो बजाउँदै त्यसमा साथ दिन पुगेका स्थानीयले कुखुरा, जल, चामल, अण्डा र भेटी चढाएर दिनभर गरेको क्षमा पूजाले भगवान् खुसी भएको स्थानीय मङ्गल तामाङले विश्वास व्यक्त गरे ।
“भगवान्ले बुझ्ने गरेर हामीले क्षमा पूजा गरेका छौँ । जलधारा गरेका छौँ” उनले भने, “पूजाविधि, क्षमा पूजा र जलधारा गर्दा कतै बाधाविघ्न भएको छैन । भगवान् खुसी हुनुभएको छ ।”
लामो समयदेखि वर्षात् नहुँदा उच्च पहाडी क्षेत्र पञ्चकन्या–४ आरुखर्कसहित यहाँको थप्रेक र आसपासमा किसानले रोपेको मकै खेती आँैल्याउँदै थालेका छन् । पानीका मुहानहरु सुक्न थालेसँगै जीवित प्राणीको प्राण बचाउन कठिनाइ भएको वीरबहादुर तामाङले बताए ।
“जलधारा गर्दै हामीले भगवान्लाई हामी जिवित प्राणी यसरी रमाउन चाहन्छौ । हामीलाई पानी चाहिन्छ । पानी दिनुपर्यो भन्ने वर माग्यौ” उनले भने । पञ्चकन्याका स्थानीयसहित नुवाकोटको विभिन्न स्थानमा पानी नपर्नुलाई भगवानाको रिसानी भएको जनाउँदै जलधारा गर्ने चलन पूरानो हो । भगवान इन्द्रको रिसानी हुदाँ पानी नपर्ने स्थानीयको विश्वासले सामुदाय अनुसार पण्डित, झाक्री, लामाहरुबाट क्षमा पूजा र जलधारा गर्दै किसानहरु पानी (वर्षा) पुकार्दै आइरहेका छन् । रासस

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेलम्बुमा प्रभावकारी बन्दै मातृ तथा शिशु स्वास्थ्य सेवा कार्यक्रम
हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

भोटेकोसीमा बाढी, सतर्क रहन आग्रह

प्रतिक्रिया