आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

सन्दिपसँग नाम जोडेर चरित्रहत्या गरेको भन्दै पारसको आपत्ति, भन्छन्- कानुनी दायरामा ल्याउँछु

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्रहत्या गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

नेपालका पुर्वकप्तानसमेत रहेका खड्काले सामाजिक सञ्‍जालमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले भइरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।  

उनले नेपालको कानुनले कसैलाई पनि विना प्रमाण चरित्रहत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट नदिएको भन्दै नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको स्पष्ट गरेका छन् । 

'नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषत: सन्दिप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ' उनले अगाडि भनेका छन् 'यो सबैका बीच तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्रहत्या गर्ने हेतुले ममाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउनेसमेत जानकारी गराउन चाहन्छु ।' 

खड्काले नेपाली क्रिकेटप्रतिको आफ्नो निस्वार्थ: भावना र यसको विकास, विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने बताएका छन् ।