यसकारण पार्टी फूटको दोष प्रचण्ड-ओलीलाई दिन चाहँदैनन् उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर सरकारमै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि उपेन्द्र यादवले सरकार छाड्ने साहस गर्न सकेनन् ।
उनले जसपा नेपालले वैकल्पिक गठबन्धन बनाउन थालेको कुप्रचार गरेर पार्टी विभाजन गरिएको बताए पनि सरकारमा रहने या बाहिरिने भन्नेबारे अन्योलमै रहेको देखिए । उनले पत्रकार सम्मेलनमा आफुहरू सरकारमै रहेको बताउँदै नयाँ दल गठनको प्रक्रिया असंवैधानिक रहेको जिकिर गरे । उनले यसका लागि अदालत जाने पनि बताए ।
तर सत्ता समीकरणकै प्रमुख दलका नेताहरूको अग्रसरतामा आफ्नो पार्टी विभाजित भएपछि उपेन्द्रका आगामी दिन सत्ता सहकार्यको हिसाबले सहज देखिएको छैन ।
उनी अमेरिका भ्रमणमा रहेको बेला यता दल बिभाजन गरेर हतार हतार प्रमाण पत्रसमेत दिइएको अवस्थामा उनी फर्किएपछि सरकारबाट अलग हुन्छन् भन्ने अनुमानको विपरित हुने सरकारमै रहने र आफु अर्को गठबन्धन बनाउन नलागेको स्पष्टीकरण दिइरहे ।
प्रतिनिधिसभामा १२ सांसद भएको जसपा नेपालका ७ जना सांसदसहित अशोक राईले जसपा गठन गरेपछि उपेन्द्रको संसद्मा हैसियत कमजोर बनेको छ । उनले आफू विदेश भ्रमणमा गएका बेला नयाँ समीकरण बनाउने हल्ला चलाएर विभाजन गरिएको आरोप लगाए ।
राई नेतृत्वले प्रतिनिधिसभाका ७ सांसद लिएर गएपनि मधेश प्रदेशमा भने उपेन्द्र यादवकै पकड देखिने भएको छ । मधेश प्रदेशबाट वीरगन्ज महानगरका मेयर राजेश सिंह राई नेतृत्वमा गएका छन् भने प्रदेशसभाका सांसदले भने अहिलेसम्म उपेन्द्र यादवलाई नै साथ दिएको देखिन्छ ।
उपेन्द्रले केन्द्रमा हैसियत घटे पनि मधेश प्रदेशमा आफ्नो पकड कायम राख्नसमेत अलिकति डिफेन्सिभ देखिएको विश्लेषण गरिएको छ । केन्द्रमा सत्ताबाट हट्नासाथ मधेश प्रदेशको सरकर समेत जाने सक्ने भएकाले उनले ठोस निर्णय लिन समय लिएको बुझ्न सकिन्छ । १०७ सदस्यीय मधेश प्रदेशमा जसपा नेपालका १९ सांसद छन् ।
मधेशको प्रदेश सभामा जसपा नेपाल तेस्रो ठूलो दल हो । अहिले एमाले-माओवादीसहितको गठबन्धनमा जसपाले सरकारको नेतृत्व गरिरहेको र केन्द्रमा सरकार छाड्ने बित्तिकै मधेशको सरकार ढल्ने देखिन्छ ।
जसपा नेपालले कांग्रेससँग गठबन्धन गरेपनि बहुमत पुर्याउन जनमत पार्टी वा एकीकृत समाजवादीको समर्थन आवश्यक पर्दछ । मधेशमा जनमत पार्टी र जसपा नेपाल आमने सामने रहेकाले तत्काल एक ठाउँमा आउने सम्भावना देखिँदैन । सोहि कारणले पनि उपेन्द्र यादव डिफेन्सिभ देखिएका छन् ।
जसपा फुट प्रकरणमा सत्ता समीकरणका शीर्ष नेताहरूको भूमिका लुकेको छैन । यो उपेन्द्र यादवले राम्रोसँग बुझेका छन् । तर मधेशको नेतृत्व गुमाउने डर उपेन्द्रमा देखिएको छ । अबका दिनमा उनले केन्द्रको सत्ता छाड्नुपर्ने अवस्थामा कांग्रेससँग हात मिलाएर जनमत र लोसपासमेतलाई साथ लिने प्रयास गर्ने गर्नुपर्ने देखिन्छ । उनले भनेको न्यायिक लडाईं आफ्नो ठाउँमा छ र यो प्रक्रिया तुरुन्त नतिजा दिने किसिमको देखिँदैन । त्यसैले उपेन्द्र यादवले तत्काल के गर्ने स्पष्ट नभएको अवस्थामा अदालत जान्छौं, हामी सरकारमै छौं भनेर नयाँ रणनीति बनाउने समय लिएको बुझिन्छ ।
जसपा नेपाल फुटाएर माधव नेपालको बार्गेनिङ पावर घटाउनेदेखि जसपा नेपाललाई साइजमा ल्याएर सम्भावित समीकरण फुट्नबाट जोगाएको छैन, कांग्रेसले बनाउन खोजेको वैकल्पिक समीकरणको सम्भावनालाई समेत तुहाइदिएको छ ।
यस्तो अवस्थामा उपेन्द्र यादवले कस्तो निर्णय लिन्छन् र आफ्नो राजनीतिक भविष्य बचाउछन् भन्ने सबैको चासोको विषय बनेको छ ।

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री राणा

'ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन'

'ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन'

जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्वः राष्ट्रपति पौडेल

के हुनुपर्छ नयाँ वर्षमा राजनीतिक सङ्कल्प ?

प्रदेशसभामा प्रधानमन्त्री ओलीले गरिरहेकाे सम्बोधनमा उपेन्द्रको आपत्ति

प्रतिक्रिया