आगलागी र वन डढेलोबाट वैशाखमा मात्रै २६ जनाको मृत्यु

काठमाडाैँ- वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घटनामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ ।
लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका घटनामा परी २० जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए ।
त्यस्तै डढेलोका घटनामा परी छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए । आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित भएका थिए ।
त्यस्तै यस अवधिमा चट्याङबाट आठ जना, उचाइमा लेक लागेर दुई, बाढी र जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको थियो । वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार वैशाख महिनामा मात्र यति धेरै डढेलोका घटना भएको सम्भवतः पहिलो पटक हो । नेपालमा खासगरी माघदेखि जेठसम्म बढी आगलागी र डढेलो लाग्ने गरेको छ ।
नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ ।
डढेलोका कारणमध्ये स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ । वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको उनले जानकारी दिए ।
कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ । पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि भएको पाइएको जनाइएको छ । रासस

३० हजार घुस लिने सइ बिरूद्द बिशेष अदालतमा मुद्दा दर्ता

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति

एनआरएनए एकताको महाधिवेशन : भाँड्न सक्रिय केसी समूह, जसरी पनि गर्ने तयारीमा…
सुस्ता झोलुङ्गे पुल जोखिममा

राशिफलमा यस्तो आज तपाईंको भाग्य
'एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’

कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या

प्रतिक्रिया