सेनाका रोक्काले हात पारे राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि

काठमाडौँ- राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोक्काले हात पारेका छन् ।
नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको ३१औँ स्मृति दिवसका अवसरमा बिहीबार बुटवलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा उनले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गरेका थिए । म्याराथनमा च्याम्पियन बनेका रोक्काले रु एक लाख पुरस्कार हात पारेका छन् ।
‘सबैका लागि खेल’ भन्ने नारासहित आयोजना गरिएको म्याराथनमा १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरेर सेनाकै नरेन्द्र रावत दोस्रो भइ रु ७५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै सेनाकै रामजी बस्नेतले एक घण्टा १० मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइ रु ५० हजार पुरस्कार प्राप्त गरेका छन । हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौँथो, सेनाकै श्रीष लाल पाँचौँ तथा सशस्त्र प्रहरी बलका किरणसिंह बोगटीले छैटौंँ स्थान प्राप्त गरेका छन् ।
चौथो बनेका बुढाले रु ३० हजार, पाँचौंँ बनेका श्रीष लालले रु २० हजार र छैटौंँ बनेका बोगटीले रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटीमा समापन भएको थियो ।
प्रतिक्रिया