मर्यादित संसद्, अमर्यादित सांसदहरू

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ नेकपा (एमाले)का सांसदहरूबीच भनाभन मात्रै भएन धकेलाधकेलको अवस्था पनि आयो । सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर वेल घेराउ गर्न पुगेका थिए । उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर्’, ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्’ जस्ता नारा लगाएका थिए ।
कांग्रेसले नाराबाजी गरिरहेका बेला सभामुख घिमिरेले कार्यसूचीमा प्रवेश गर्दै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । त्यसपछि राप्रपा, लोसपालगायत दलका सांसद पनि बसेको ठाउँबाट उठेर विरोध गरेका थिए ।
कांग्रेसले नाराबाजी गरिरहेका बेला केहीबेर रोकिएका सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अर्को पत्र पनि पढेर सुनाए । लगत्तै उनले कांग्रेसले सहकारी प्रकरणमा आरोप लगाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न समय माग गरेको भन्दै समय दिएको जानकारी संसद्लाई गराए । सोपश्चात् गृहमन्त्री लामिछाने आफू बसेको ठाउँबाट उठे ।
सो क्रममा सत्तारूढ दलका सांसदहरू पनि उठे । एमाले अध्यक्ष केपी शर्मा ओली पनि उठेका थिए । नाराबाजी गरिरहेका कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरूङ र ओली आमनेसामने भए । उनीहरूबीच भनाभन भएजस्तो देखिन्छ । ओली र गुरुङबीच भनाभन हुनुको कारण थियो गुरुङ उपसभामुखको रोष्टममा उभिनु । यत्तिकैमा एमाले अध्यक्ष ओली पनि उठेर त्यता नजान भनेका थिए । जसका कारण संसद्मा उनीहरूबीच भनाभन र गुरुङले ओलीमाथि औँला ठम्याउँदै के-के भनिरहेका थिए ।
यसपछि एमालेका सांसद ठाकुर गैरे, प्रमुख सचेतक महेश बर्तौला ओलीभन्दा अगाडि उभिए भने कांग्रेसका गुरूङसँगै कांग्रेस सांसद देवप्रसाद तिमिल्सिना पनि सँगै पुगे । सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त दुई वटा पत्र पढेपछि गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए । सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेस सांसदहरू गृहमन्त्रीलाई रोष्टममा जानबाट रोक्नतिर लागे ।
सभामुखले समय दिएपछि पहिलो लहरमा बसेका गृहमन्त्री लामिछानेलाई रोष्टममा जाने बाटो दिन उपसभामुख इन्दिरा रानामगर आफू बसेको सिटबाट उठिन् । उनी सिटबाट उठेपछि उक्त ठाउँमा कांग्रेसका सांसद धनराज गुरूङ उभिए ।
त्यसपछि सदन मुठभेडतर्फ अघि बढेपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न भनेका थिए । सदनमा भनाभन र मुठभेड उग्र बन्दै गएपछि सभामुख घिमिरेले कार्यसूचीको बाँकी कार्यक्रमहरू सूचीबाट हटाइएको जानकारी गराए । र, सभामुखले प्रतिनिधिसभाको बैठक स्थगितको घोषणा गरे । अब अर्को बैठक आज बिहान ११ बजे बस्ने गरी स्थगित गरे । बैठक स्थगित भए पनि प्रतिपक्ष र सत्तापक्षबीच भने धकेलाधकेल र भनाभन सकिएन । ठूला भनिएका दलका नेताहरूले आफ्नो अमर्यादित व्यवहार भने सदनमा देखाइरहे ।
बिहीबारको सदनमा भएको अप्रिय घटनामा प्रतिक्रिया दिँदै नेपाली कांग्रेसले सभामुख पार्टीको इसारामा चलेको आरोप लगाएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इसारामा चलेर जबर्जस्ती संसद् चलाउन खोजेको आरोप लगाएका हुन् । उनले एमालेका सांसदहरूले इसारा गर्ने र सभामुखले बैठक अगाडि बढाउने दृश्य अनौठो देखिएको टिप्पणीसमेत गरे । उनले यसअघि कहिल्यै पनि सभामुख प्रतिपक्षी दल उठेपछि सभा सञ्चालन गरेको आफूले नदेखेको बताए ।
यता नेकपा एमालेले भने प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अराजकता मच्याएको आरोप लगाउँदै संसद्मा मुठभेडको थलो नबनाउन आग्रह गरे । उनले कांग्रेसले संसद्मा आफ्नो कुरा लादिरहने र अरूको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाए । उनले कांग्रेसले संसद् अवरोध गरिरहे बैठक अगाडि बढ्ने दाबी गर्दै संसद्; लाई बन्धक बनाउन नमिल्ने बताए ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबी गरेका छन् । उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने बताए । उनले कांग्रेसका नेताहरू पिच्छे फरक कुरा गर्ने गरेको बताउँदै अब आफूहरू संसदीय छानबिन गर्न तयार नहुने उल्लेख गरे ।
यस्तै संसद् बैठकपछि संसद् भवनमा पत्रकार सम्मेलन गर्दै महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा भएको घटनाको जिम्मेवारी सभामुखको भएको भन्दै सभामुखले निष्पक्ष व्यवहार देखाउन नसकेको आरोप लगाए । सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर सभामुखले अप्रिय अनपेक्षित स्थिति सिर्जना गरेको उनले बताए । त्यस्तै थापाले सभामुख एउटा पार्टीको नेताको आदेशपालकको रूपमा देखिने कुरा दु:खद रहेको धारणा राखे ।
उनले सत्तापक्षले नै संसद्लाई मुठभेडतर्फ धकेल्न खोजेको भन्दै यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्ने बताए । त्यस्तै उनले पुराना जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिए । थापाले रवि लामिछानेले सहकारीको रकम निजी कम्पनीमा खर्च गरेको र त्यो ठगी नै भएको दाबीसमेत गरे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षी जिम्मेवार नदेखिएको बताएकी छन् । उनले प्रतिपक्षी दलका सांसदहरू सरकारको रोष्टममा छिर्नु गलत भएको र यो गैरसंसदीय अभ्यास भएको जिकिर गरिन् । गृहमन्त्रीलाई बोल्न दिइने सहमति भएपनि प्रतिपक्षी दलले अन्त्यमा भाँडेको उनले बताएकी थिइन् ।
त्यस्तै माओवादी सांसद माधव सापकोटा सुबोधले कांग्रेसका सांसदहरूले सदनमा मर्यादा भुलेको भन्दै माफी माग्नुपर्ने धारणा राखेका थिए । सभामुखलाई उठाएर उनको आसनमा गएर उभिनु असंसदीय भएको उनको भनाइ थियो ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया