बजेटमा कमला पुललाई समेट्न माग गर्दै सिरहामा स्थानीय आन्दोलित

सिरहा- हुलाकी लोकमार्ग अन्तर्गत १३ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण गर्न आगामी बजेटमा बजेट सुनिश्चितताको माग गर्दै सिरहाका स्थानीय आन्दोलित भएका छन् ।
पुल निर्माण सङ्घर्ष समिति गठन गरी तीन दिनदेखि स्थानीयवासी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । स्थानीयवासीले गत शनिबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । आइतबार विरोधस्वरुप बजार बन्द गराए । आज सिरहा सदरमुकाममा बिहान ८ देखि ११ बजेसम्म चक्काजाम र त्यसपछि सम्पूर्ण सरकारी कार्यालय बन्दको कार्यक्रम गरेको सङ्घर्ष समितिका संयोजक रवीन्द्रकुमार साहले जानकारी दिए ।
सङ्घर्ष समितिले गत शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको थियो । आव २०८१/८२ को नीति तथा कार्यक्रममा कमला पुल प्राथमिकतामा नपरेकाले जेठ १५ मा सार्वजनिक हुने बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गरी बजेट विनियोजन गर्न दबाबस्वरुप आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक साहले बताए ।
'वर्षौँदेखि पुल नबन्दा यहाँका जनताको दुःख र पीडा असह्य भएको छ । हामीले सास्ती खेप्न नसकेर पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुन्दैन,' साहले भने, 'प्रधानमन्त्रीको पूर्व प्रतिबद्धता अनुसार यसपालि बजेटमा कमला पुल निर्माणको सुनिश्चितता हुनुपर्छ । नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ ।'
पुल निर्माण गर्न निर्माण कम्पनीले विभिन्न बहाना बनाइ एक वर्षदेखि ढिलासुस्ती गर्दै आएको तथा निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले समयमै पुल बन्ने अवस्था नरहेको उनले जानकारी दिए ।
सम्झौता भएको १२ वर्षपछि निर्माण भएको कमला पुल सञ्चालनमा नआउँदै तीन वर्षअघि दुई ठाउँमा भासिएको थियो । गत वर्ष वैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ बीच २०८१ असार मसान्तसम्म पुलको पुनःनिर्माण गर्ने सम्झौता भएको थियो ।
निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाले सम्झौता अनुसार काम सम्पन्न गर्न प्राविधिक कारणले सम्भव नरहेको बताए । बीमा कम्पनीबाट पाउनुपर्ने रु पाँच करोड बराबरको रकम नपाएको र हाल यस विषयको विवाद काठमाडौँ जिल्ला अदालतमा विचाराधीन भएकाले आर्थिक सङ्कटमा परेको उनले जानकारी दिए ।
पुल निर्माण सुरु भएयता १३ वर्ष बीचमा उच्चस्तरको सरकारी अनुगमन तथा निरीक्षण पटक पटक भएपनि स्रोत अभावका कारण निर्धारित समयमा पुल निर्माण हुन सकेको छैन । मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको आयोजनाअन्तर्गत विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी कमला पुलको ठेक्का लागेको थियो ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया