यातायात कार्यालय गौर दलालको केन्द्र, दुई जना पक्राउ

रौतहट- रौतहट जिल्ला सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालय देशैभरको दलालहरूको केन्द्र बनेको छ । दुई पांग्रे, चार पांग्रे सवारी चालक अनुमतिपत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय देशभरको दलालहरूका लागि आकर्षणको केन्द्र बनेको हो ।
यसैबीच गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाई दिने भन्दै सेवाग्राहीसँग रकम असुलेको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी डिएसपी एलिजा गिरीले बताएकी छन् ।
पक्राउ पर्नेमा चितवन भरतपुर १० बस्ने वर्ष ४५ को रमेश पाठक र गौर नगरपालिका १ बस्ने वर्ष ४८ को श्याम नारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् । पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन् ।
पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीयदेखि काठमाडौँसम्मका दर्जनौं दलाल घुमिरहेका देख्न सकिन्छ । दलाल मार्फत खुलेआम रकम लिएर चालक अनुमतिपत्र खरिद बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ । स्कुटर, जिप, कार, टेम्पु, ट्याक्टरलगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारीलगायतका कार्यका लागि आर्थिक लेनदेन दलालमार्फत हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
कार्यालयका प्रमुख अरविन्द दासलेभने आरोपको खण्डन गरेका छन् । तर, प्रत्यक्ष रूपमा जुन समय जाँदा पनि दलाललाई कार्यालयमा देख्न सकिने सेवाग्राहीको भनाइ छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया