विद्युत् प्राधिकरणले कहिले बुझ्ने सेवाग्राहीको मर्का ?

काठमाडौँ- झण्डै एक महिना भयो मधेश प्रदेशको सर्लाहीस्थित हरिवनमा रहेको विद्युतीय सवारी साधनको ‘चार्जिङ स्टेसन’ बिग्रिएको । जसबाट सेवाग्राहीहरूले हैरानी बेहोरिरहनु परेको छ ।
आफ्नो दैनिकी कामकाज सहज र सस्तो होस् भनेर सेवाग्राहीले विद्युतीय सवारी साधन लिए । तर, अहिले त्यही सवारी निल्नु न ओकल्नुजस्तै भएको छ । सर्लाहीका स्थानीयवासी तथा सेवाग्राहीहरू चार्जिङ स्टेसन बिग्रँदा मारमा परेका छन् ।
तराईको ४४/४५ डिग्रीको उखरमाउलो गर्मीमा गाडी चार्ज गर्न घन्टौं कुरेर पनि निराश भएर फर्कन्छन् सेवाग्राही । वृद्धवृद्धा तथा बालबच्चासहित आउने सेवाग्राहीहरूलाई झन चर्को गर्मीमा सास्ती नै हुनेको गरेको छ । विद्युतीय सवारी किने पनि राम्रोसँग प्रयोग गर्न पाएका छैनन् सेवाग्राहीहरूले । ‘गाडी मात्र भएर के गर्नु जब प्रयोग गर्न पाइँदैन भने । लगभग एक महिना जति भयो गाडी राम्रोसँग चार्ज गर्न सकिएको छैन,’ यो गुनासो हो सर्लाहीका स्थानीयवासी तथा सेवाग्राही ईश्वर महत । उनी चार्जिङ स्टेसनमा चार्ज गर्ने मेसिन बिग्रँदा आजित छन् ।
आजभोलि चार्ज गर्ने उद्देश्यले गाडी लिएर स्टेसनमा आउने र घन्टौं कुरेर निराश भएर घर फर्किने दिनचर्या बनेको छ उनको । करिब एक महिना हुन लाग्यो महतको दैनिकी यसरी नै दोहोरिरहेको छ । ‘हरेक दिन म बिहानदेखि गाडी लिएर कुरेर बस्छु तर चार्ज गर्न पाउँदिनँ,’ उनले भने ।
सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्जिङ’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रिएको हो । चार्जिङ स्टेसनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएको छ । ‘जीबीटी’ मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा ‘सीसीएस’ मेसिनबाट साना गाडी चार्ज गर्न मिल्छ । यहाँ राखिएका दुइटै चार्जिङ स्टेसन बिग्रिएर समस्या उत्पन्न भएको छ । एउटा बीटीएको चार्जर बिग्रिएर १५/२० दिनपछि बनेको तर पनि चार्ज राम्रोसँग नहुने समस्या त थियो नै अहिले सिसिएसटुएको चार्जर पनि बिग्रिएको छ ।
‘पहिला पनि १५/२० दिन जति स्टेसन बिग्रिएको थियो । अहिले पनि सिसिएसटुको लिक्विड पूरै झरेर चार्ज नै हुँदैन,’ उनले भने, ‘चार्ज गर्ने स्टेसनको पाइपमा प्वाल परेर लिक्विड चुहिएको छ ।’ सेवाग्राही महतका अनुसार चार्जिङ स्टेसनसँग सम्बन्धित व्यक्तिसँग कुरा गर्न खोज्दा चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक/दुई दिनमै आउने आश्वासन दिएका थिए । उनले नेपाल विद्युत् प्राधिकरणका आयोजना प्रमुख सागरमणी ज्ञवालीलाई फोन गरेर समस्याबारे जानकारी पनि गराएका थिए । तर, आयोजना प्रमुख ज्ञवालीले भने आफूहरूको कुरा नसुनी बेवास्ता गरेको महतको भनाइ छ ।
चार्जिङ स्टेसन बिग्रिएपछि बालबच्चा बोकेका यात्रुहरू अलपत्र परेका छन् । सयौँ सेवाग्राहीहरू चार्जिङ स्टेसनबाट चार्ज होला अनि आफ्नो गन्तव्यमा जान पाइएला भनेर स्टेसनमै कुरेर बसेका छन् । चर्को गर्मीमा बालबच्चा लिएर बिग्रिएको चार्जिङ स्टेसन बनि पो हाल्छ कि भनेर बिहानैदेखि सेवाग्राहीहरू बसेको महतले बताए ।
‘बालबालिकासहितका यात्रुहरू बिचल्ली भएर बसेका छन् । फोन गर्यो भने कुनै रेस्पोन्स छैन,’ महतले आक्रोशित हुँदै भने, ‘सागर सरले फोन नै नउठाइदिने खाली मेसेज मात्र गर्ने । उहाँले पठाएको नम्बरमा फोन गर्दा फोन लाग्दैन । कसैले रेस्पोन्स नगर्ने । प्राधिकरणको हेड अफिसमा फोन गर्दा सबै नम्बर बिजीका बिजी अब यहाँ पूरै बिचल्ली छ मान्छेहरूको ।’
उनले सरकारले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रिएका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे । उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको जिकिर गरे । तर, आज त्यो पनि नभएको हुँदा दुखी छन् उनी ।
यहाँको चार्जिङ स्टेसनमा सधैंजसो समस्या आइरहने भएकाले अहिले सार्वजनिक सवारी साधनहरू आउन छाडेका छन् । महतले भने, ‘बिग्रिएको धेरै दिन भएकाले पब्लिक गाडीहरू आउनै छाडे । थाहा भएकाहरू आउँदैनन् तर जो नयाँ छ त्यो आउँछ जस्तै प्राइभेट गाडीहरूलाई थाहा हुँदैन उनीहरू आउँछन् तर चार्ज हुँदैन र अलपत्र पर्छन् ।’ चार्ज गर्ने पाइपमा प्वाल परेका कारण लिक्विड चुहिएको छ । त्यसको मर्मत गर्नेतर्फ पनि प्राधिकरण र सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै यहाँका सेवाग्राहीहरू यतिबेला रुष्ट छन् ।
चार्जिङ स्टेसन लामो समयदेखि नबनेपछि अर्का सेर्वाग्राही विशाल लामा पनि प्राधिकरण र उसको काम देखेर हैरान छन् । दिनभरमा गाडी चार्ज गर्न लामो तथा छोटो दूरीका सवारी साधनहरू आउने गरेको उनले बताए । आफ्नो गन्तव्यसम्म पुग्नका लागि गाडि चार्ज गर्न सेवाग्राही आए पनि घन्टौं कुरेर रित्तो हात फर्किन बाध्य भएको उनको भनाइ छ । ‘हरेक दिन धेरै मान्छेहरू आफ्नो गाडी चार्ज गर्न आउनुहुन्छ चार्जिङ स्टेसन मर्मत नभएको देखेपछि निराश भएर फर्किनुहुन्छ,’ लामाले सुनाए । चार्जिङ स्टेसनमा कुनै समस्या आएको खण्डमा सम्पर्क गर्न भनेर सम्बन्धित व्यक्तिको मोबाइल नम्बर राखिदिएको छ तर उक्त नम्बर नउठ्ने र लाग्ने गुनासो उनले गरे ।
‘सम्बन्धित व्यक्तिलाई कल गर्यो कहिले उठाउनुहुन्छ कहिले उठाउनुहुन्न उठाइहाले भने पनि सामान बिग्रिएको र चाइनाबाट मगाएको कुरा मात्र दोहोर्याउनुहुन्छ,’ स्थानीयवासी लामाले भने । समस्या हरिवनको मात्र होइन चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको चार्जिङ स्टेसन पनि मर्मत नहुँदा सेवाग्राहीहरू मर्कामा छन् । त्यस्तै मकवानपुरको हेटौंडास्थित रातामाटेमा दुइटा चार्जिङ सेन्टर निर्माण भएका छन् । त्यहाँको समस्या पनि उस्तै हो ।
प्राधिकरणले ५१ स्थानमा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ । विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूका ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भएका हुन् ।
छोटो समयमा नै चार्जिङ स्टेसनहरूको अवस्था नाजुक बन्दै गएको छ । यसरी वर्षदिन पनि नबित्दै स्टेसनका उपकरणहरू बिग्रिँदै जानुले प्राधिकरणले खरिद गरेका उपकरणहरूको गुणस्तरीयतामा गम्भीर प्रश्न खडा भएको छ । प्राधिकरणले यात्रु तथा सेवाग्राहीहरूको सहजताका लागि विद्युतीय चार्जिङ स्टेसनको निर्माण गरे पनि पछिल्लो समय यसैका कारण यात्रुहरूले तनावको स्थितिको सामना गरिरहनु परेको छ ।
कहिले स्टेसनहरूमा शौचालयको समस्या हुन्छ त कहिले चार्ज नै नहुने । समस्यै समस्या भएका कारण लाग्छ प्राधिकरण तथा सरोकारवाला निकायले काठमाडौँ उपत्यका बाहिरका चार्जिङ स्टेसन दीर्घकालीन चलाउन खासै चासो दिएनन् । उपत्यका बाहिरका अधिकांश चार्जिङ स्टेसनसम्म पुग्ने यात्रुहरूले सास्ती नै पाएका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको मापदण्ड पालना र दीर्घकालीन योजनाबिनै झारो टार्ने काम गरिरहेको जस्तो देखिएको छ ।
सरकारले २०३० सम्ममा पेट्रोलियमबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति अघि सारेको छ । त्यस्तै सन् २०२५ सम्ममा निजी विद्युतीय सवारी साधनको व्यापार २५ प्रतिशत र सार्वजनिक सवारी साधनको व्यापार २० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । तर, यस्ता समस्या उत्पन्न भइरहँदा के सरकारको यो लक्ष्यले सार्थकता पाउला त ? स्वाग्राहीहरूले निर्धक्क रूपले आफ्नो विद्युतीय गाडीमा लामो तथा छोटो यात्राको मजा लिन सक्लान् त ?
यस्तै चार्जिङ स्टेसनमा यात्रुहरूको सुरक्षा पनि चुनौतीको विषय पनि बनेको छ । यात्रुहरूले भोगेका सास्तीको जिम्मेवारी को ? भन्ने प्रश्नको जवाफ खोज्ने बेला आएको छ । प्राधिकरणले चार्जिङ स्टेसन बनाएर मात्र पन्छिन मिल्दैन । प्राधिकरणले चार्जिङ स्टेसन र त्यस वरपर रहेका पसल र शौचालयतिर पनि अनुगमन तथा निगरानी गर्नु आवश्यक छ । पूर्वाधार बनाएर मात्र विकासको काम भएको मानिँदैन जबसम्म त्यसलाई उपयोग गर्ने प्रयोगकर्ता तथा सेवाग्राहीलाई सहज र सुरक्षित महसुस हुँदैन । सधैं चार्जिङ स्टेसनका कारण दु:ख पाइरहने सेवाग्राही तथा यात्रुहरूको मर्मका बारेमा बेवास्ता गरे कै हो त नेपाल विद्युत् प्राधिकरणले ?

१ सय बर्ष पछि मठा फल्चाको पुनर्निमाण गरिँदै

नेपाल बारमा मिश्रको प्यानलै विजयी

कपालमा फिटकरी लगाउँदा हुनेछ धेरै फाइदा

मोटो व्यक्तिलाई लाग्न सक्छ यी १६ प्रकारको रोग
एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो
काठमाडौँमा वर्षा, मौसमविद् भन्छन्- अब तुवाँलो हट्दै जान्छ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया