मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

कर्णाली सरकारले आमसञ्चार नीति ल्याउने

सुर्खेत : कर्णाली सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले प्रदेशमा आमसञ्चार नीति ल्याउने प्रतिबद्धता जनाएकी छन् । प्रदेशमा आमसञ्चार नीतिको आवश्यकता रहेको भन्दै उनले तत्काल नीति ल्याउने बताइन् । नेपाल पत्रकार महासंघले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशको सञ्चार नीतिबारे संवाद कार्यक्रममा मन्त्री नेपालीले कर्णालीमैत्री आमसञ्चार नीति बनाउने तयारीमा सरकार रहेको बताइन् । 

मन्त्री नेपालीले सरोकारवालाहरूसँग समन्वय गरेर नीति ल्याउने बताइन् । ‘कर्णालीमा आमसञ्चार नीतको आवश्यकता छ’ उनले भनिन्, ‘नीति ल्याउने मात्र होइन यसको पूर्णता दिनतिर पनि लाग्नेछु ।’प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा पनि केही विषयवस्तुहरू समेटिएको उनले जानकारी दिइन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष केलेन्द्र सेजुवालले पत्रकारलाई प्रत्यक्ष राहत हुने खालका कार्यक्रमहरू आमसञ्चार नीतिमा ल्याइनुपर्ने बताए । उनले कर्णालीका सञ्चारमाध्यमलाई सवलीकरण गर्ने र पत्रकारलाई प्रत्यक्ष राहत हुने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।  संविधानमा भएका विभिन्न प्रावधानहरू कार्यान्वयनमा ल्याउनको लागि नीति आवश्यक रहेको सेजुवालले बताए । 

सञ्चारिका समूहकी कर्णाली प्रदेश संयोजक टीका बिष्टले आमसञ्चार नीति ल्याउदा दीर्घकालिन योजनाहरु  समावेश गर्नुपर्नेमा जोड दिइन् । उनले मिडियाको लागि ल्याइएका विभिन्न योजनाहरू कार्यान्वयन हुन नसकेकाले अब कार्यान्वयन हुने खालका योजना ल्याउनुपर्ने उनले बताइन् ।