रोबिन गोसेन्स, जसको जर्सी साट्ने प्रस्ताव इन्कार गरेका थिए रोनाल्डोले

काठमाडौँ: युरो २०२० मा शनिबार जर्मनीले पोर्चुगलमाथि ४-२ को जित दर्ता गर्दा नायक बने रेबिन गोसेन्स । २६ वर्षीय विङब्याक/फुलब्याक गोसेन्सले एक गोल गरे भने काई हाबर्टसलाई गोलका लागि असिस्ट उपलब्ध गराए ।
सिरी 'ए' मा एटलान्टाबाट खेल्ने गोसेन्स जर्मन राष्ट्रिय टिममा पर्न थोलेको धेरै भएको छैन । उनलाई गत सेप्टेम्बरबाट मात्रै योकिम लोले टिममा समावेश गर्न थालेका हुन् । उनको उदय एटलान्टाबाट खेल्न थालेपछि मात्रै सम्भव भएको हो । संयोगवस, एटलान्टा इटालियन लिगमा बलियो टिमका रूपमा स्थापित हुँदैगर्दा गोसेन्स त्यस क्लबको महत्वपूर्ण हिस्सा बनेका छन् ।
एटलान्टा इटालीमा थोरै बजेटमा राम्रो टिम निर्माण गर्ने क्लबका रूपमा परिचित भएको छ । एटलान्टाका स्काउटले उत्कृष्ट प्रतिभाको पहिचान गर्ने गरेका छन् । ती प्रतिभामध्ये गोसेन्स पनि एक हुन् । जसलाई जुलाई, २०१७ मा डच लिगबाट इटाली लगिएको हो । गोसेन्स हेराक्लेस अल्मेलोबाट खेलिरहेका थिए ।
गोसेन्स सन् २०१२ मा मात्रै नेदरल्यान्ड्स पुगेका हुन् । जहाँ भिटेससँग आवद्ध भए । उमेर समूहका टिमबाट खेले । तर त्यहाँ सिनियर टिममा भने मौका पाएनन् । त्यसकारण उनी हेराक्सतर्फ हानिए । उनले सिनियर टिममा मौका पाए र दुई सिजन डच लिग खेले । डच लिगमा देखाएको प्रदर्शनले उनलाई सिरी ‘ए’ मा पुर्यायो । त्यहाँ पनि उनको तारिफयोग्य लयले निरन्तरता पाएको छ ।
फिलिप लाह्मले सन्यास लिएपछि जर्मनीलाई भरपर्दो लेफ्टब्याकको जरुरी थियो । रुस विश्वकपमा जर्मनीको लेफ्टब्याक बनेका थिए, हेक्टर मोरेनो । तर बुन्डेसलिगामा मोरेनोको प्रदर्शन जर्मन टिमको पहिलो एघारमा पर्ने स्तरको नभएपछि लोले नयाँ लेफ्टब्याकको खोजी सुरु गरे । अनि उनको नजरमा परे गोसेन्स ।
सिरी ‘ए’ मा एटलान्टाले प्रयोग गर्ने शैली र युरोमा जर्मनीले खेलिरहेको शैली उस्तै छ । तीन सेन्ट्रल डिफेन्डर खेलाउने र फुलब्याकलाई विङब्याकका रुपमा उपयोग गर्ने । त्यस प्रकारको शैलीसँग अभ्यस्त गोसेन्सले जारी युरोमा लोलाई निराश बनाएका छैनन् ।
उनै गोसेन्सले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई हराउन उल्लेख्य भूमिका निर्वाह गरे । पोर्चुगलविरुद्धको जित गोसेन्सका लागि विशेष रह्यो । त्यसको कारण गोल र असिस्ट मात्रै होइन । रोनाल्डो पनि हुन् । किनभने गोसेन्सको रोनाल्डोसँग जोडिएको रोचक किस्सा छ । जसलाई गोसेन्सले आफ्नो पुस्तकमा पनि उल्लेख गरेका छन् ।
सिरी ‘ए’मा एटलान्टा र युभेन्टसको खेल सकियो । त्यसपछि गोसेन्सले रोनाल्डोसँग जर्सी साट्न चाहे । फुटबलमा जर्सी साटासाट गर्नु सामान्य हो । त्यसमाथि पनि रोनाल्डो जस्ता ठूला स्टारसँग युवा खेलाडीहरूले जर्सी साट्ने इच्छा व्यक्त गर्नु झनै सामान्य हो । फेरि गोसेन्स त रोनाल्डोलाई आफ्नो आइडल पनि मान्थे ।
तर गोसेन्सको प्रस्ताव रोनाल्डोले ठाँडै इन्कार गरे । ‘मलाई एकदमै ग्लानी भयो । मैले आफूलाई एकदमै सानो महसुस गरे । रोनाल्डाले जर्सी साट्न इन्कार गरेको अरु कसैले देख्यो कि भनेर चिन्ता पनि लाग्यो,’ गोसेन्सले पुस्तकमा उल्लेख गरेको अनुभवलाई गोल डटकमले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया